२२ असार, काठमाडौं । च्याम्पियन बनिसकेको लिभरपुलले प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा रेलिगेसन क्षेत्रमा रहेको एस्टन भिल्लालाई २-० ले पराजित गरेको छ । पहिलो हाफमा एनफिल्डमा लिभरपुललाई एस्टन भिल्लाले गोलरहित बराबरीमा रोकेको थियो । लिभरपुलले खेलको अन्तिम १७ मिनेटमा दुई गोल गरेको हो ।
७३औं मिनेटमा साडियो मानेले गोल गरदै लिभरपुललाई अग्रता दिलाएका थिए । वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्टिस जोन्सले ८९औं मिनेटमा अग्रता दोब्बर पारे । जोन्स ८५औं मिनेटमा नेबी केइटाको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रिमियर लिगमा उनको यो डेब्यु गोल समेत हो ।
जितपछि लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिगमा अब ५ खेल बाँकी रहँदा लिभरपुल १०० अंक पुर्याउन ११ अंकले टाढा छ ।
उता दोस्रो स्थानको म्यानचेष्टर सिटी भने साउथह्याम्पटनसँग १-० ले पराजित भएको छ । यसअघि लिभरपुललाई पराजित गर्दाको सिटीको टिममा ६ खेलाडी परिवर्तन गरिएको थियो । घरेलु मदानमा चे एडम्सले खेलको १६औं मिनेटमा गरेको गोल नै साउथह्याम्पटनलाई जित दिलाउन निर्णायक बन्यो ।
हारपछि सिटी ३३ खेलबाट ६६ अंकसहित दोस्रो स्थानमै यथावत छ । समान खेलबाट ४३ अंक जोडेको साउथह्याम्पटन १३औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4