Comments Add Comment

फलफूलजन्य पेय पदार्थहरूको मापदण्ड निर्धारण

२२ असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूलको जुस र पेय पदार्थको विशिष्टीकृत मापदण्ड निर्धारण गरेको छ ।

फलरस (जुस), फलफूलको पेय (फ्रुट वेवरेज) सम्बन्धी हालको प्रावधान खारेज गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको जानकारी विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले दिए ।

उनका अनुसार, फलफूल नेक्टर (फ्रुट नेक्टर) को पनि नयाँ मापदण्ड स्वीकृत गरिएको छ । उपभोक्ता स्वस्थ्य, स्वच्छ बजार र प्रतिस्पर्धाका लागि खाद्य ऐनअनुसार मापदण्ड परिवर्तन गरिएको महर्जनले बताए ।

नयाँ मापदण्ड कार्यान्वयनमा आएपछि फलफूलको रसको नाममा चिनी पानी बेच्ने धन्दा बन्द हुने विभागको विश्वास छ । महर्जनका अनुसार नयाँ मापदण्डले जुसमा पानी नहुने र वेभरेजमा फलफूलको मात्रा निर्धारण सुनिश्चित गरेको छ ।

विभागले स्वीकृत गरेको मापदण्डमा विश्व व्यापार संगठन (डब्लुटीओ) का सदस्य राष्ट्रहरूको राय र सुझावका लागि एसपीएस नोटिफिकेसन पनि जारी गरेको छ । डब्लुटीओका सदस्य राष्ट्रहरूको राय सुझाव आए त्यसअनुसार र नआए यथावत रुपमा नेपालको गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित हुनेछ ।

फ्रुट जुसको परिमार्जित मापदण्ड

फलफूलको जुस भनेर बिक्री गर्ने पेय पदार्थमा शत प्रतिशत फलफूलको रस हुनुपर्र्छ । ताजा, पाकेको र फर्मेन्ट नभएको फलबाट रस निकाली उपयुक्त विधिद्वारा प्रशोधन गरी यस्तो पेय पदार्थ बनाइएको हुनुपर्छ ।

ताजा फलबाट बनाइने यस्तो जुसमा पानी, फलफूलको बोक्राबाट निकालिएको भोलाटायल आयल, बास्ना र अन्य घुलनशील पदार्थ मिसाउन नपाइने मापदण्ड छ । यस प्रकारको जुसमा थपिने पौष्टिक गुलियो पदार्थ प्रतिकिलो फलफूलको रसमा १५ ग्रामभन्दा बढी भए जुस नमानिने मापदण्डमा उल्लेख छ ।

फ्रुट वेभरेज र नेक्टर

उपयुक्त विधिद्वारा प्रशोधन गरिएको, कार्बोनेसन गरिएको वा नगरिएको ताजा, पाकेको र फर्मेन्ट नभएको फलफूलको रस वा गुदी वा बाक्लो तुल्याइएको पेय पदार्थ फ्रुट वेभरेज हो ।

यस्तो पेयमा पानी, चिनी, ग्लुकोजलगायतका अन्य पौष्टिक गुलिया पदार्थहरू, नुन, एस्कर्बिक, साइट्रिक एसिड, बास्ना र फलफूलको उपभोग्य भागबाहेक अन्य तत्व मिसाउन नपाइने मापदण्डमा उल्लेख छ ।

त्यस्तै, पाकेको तर फर्मेन्ट नभएको एक वा एकभन्दा बढी जातका फलफूलका रस वा गुदीबाट बाक्लो तुल्याइएको पारदर्शी वा अपारदर्शी पेय पदार्थलाई फलफूलको नेक्टर भनिन्छ ।

यस्तो पेयमा पानी, चिनी, ग्लुकोजलगायतका अन्य पौष्टिक गुलिया पदार्थहरू, नुन, एस्कर्बिक, साइट्रिक एसिड, बास्ना र फलफूलको उपभोग्य बाह्य भागबाहेक अन्य तत्वहरू सरकारले तय गरेको हुनपर्ने मापदण्डमा उल्लेख छ ।

फलफूल नेक्टरमा सम्बन्धित फलपूmलको प्राकृतिक गुणहरू कायम रहेको हुनुपर्नेछ । भुइँकटर र सुन्तलाबाट बनेको नेक्टरमा ती फलको मात्रा न्यूनतम ४० प्रतिशत र अन्य फलफूलबाट बनेका नेक्टरमा फलफूलको न्यूनतम मात्रा २० प्रतिशत हुनुपर्ने अनिवार्य व्यवस्था मापदण्डमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment