Comments Add Comment

नेपालमा कोरोनाका बिरामीमा प्लाज्मा थेरापीको अनुसन्धान गरिने

२२ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोरोना संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचारबारे अनुसन्धान गर्ने भएको छ ।

निको भएर गएका बिरामीबाट उत्पादन भएको एन्टिबडी कोरोना संक्रमणपछि जटिल अवस्थामा परेका बिरामीमा राखेर उपचार गर्न सकिने विधिबारे अनुसन्धान भइरहेको परिषद्ले जनाएको छ ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार यस अनुसन्धानका लागि परिषद्को इथिकल रिभ्यु बोर्डले स्वीकृति दिइसकेको छ । अब यो अनुसन्धान छिट्टै सुरु हुने ज्ञवालीले बताए ।

परिषद्ले कोरोना संक्रमितको जिन सिक्वेन्सिङको अनुसन्धान पनि अघि बढाएको छ । कोरोना संक्रमित बिरामीको स्वास्थ्य स्थिति, उनीहरू कति दिनमा भर्ना र डिस्चार्ज भएका छन्, कस्तो लक्षण देखिएको छ जस्ता विषयमा अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो ।

कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ ।

यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन ।

यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् । सन् १८९० मा पहिलोपटक यो विधिको प्रयोग गरिएको थियो । सन् २०१४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोलाको उपचारको लागि पनि यो विधिको सिफरिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment