Comments Add Comment

महिलालाई निर्घात कुटपिट गरेको भिडियो भाइरल, कुट्ने प्रहरी कारबाहीमा

२४ असार, काठमाडौं । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।

आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।

भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले अनलाइनखबरलाई बताए । उनले भने, ‘त्यतिवेलाको परिस्थिति जस्तो सुकै भए पनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’

मेयर भन्छन् – महिलाले हातपात गरेपछि घटना भयो

कुटपिटको घटना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । डीएसपी केसीका अनुसार हेल्प डेस्कमा मदिरा सेवन गरेर होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा उनले प्रहरीलाई हातपात गरेको केसीको भनाइ छ ।

नगरपालिकाका मेयर केसीका अनुसार त्यसवेला उनी अर्धनग्न अवस्थामा थिइन् ।

‘झोलुंगे पुलमा ड्युटीमा बसेको प्रहरीमाथि हातपात भयो, त्यसवेला पुरुष प्रहरीले उनलाई पक्राउ गर्ने कुरा भएन’, उनले सुनाए, ‘बजारमा एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ ।’

डीएसपी केसी मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको पाइएको बताउँछन् । मेयरका अनुसार इलाका प्रहरी कार्यालय, आठविसकोटमा महिला प्रहरी छैनन् ।

अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment