Comments Add Comment

कविता : भेरी अविवेक बगिरहन्छ

किन बगिरहन्छौ भेरी

कुनै, कतै भाका नफेरी

गती नफेरी

वारीपारी, तलमाथि

कतै नहेरी

मात्र तिमी बगिरहन्छौ,

अनवरत बगिरहन्छौ !

 

तिमीलाई

सङ्लो हुनु र धमिलिनुमा

फरक लागेन

तिमीलाई

सङ्लो बग्नु र रातो बग्नु

वास्तै भएन

तिमीलाई

जीवित बग्नु र दिवङ्गत बग्नु

वास्तै भएन

तिमीलाई

सुखी बग्नु र दु:खी बग्नु

वास्तै भएन

तिमीलाई

न्यायिक बग्नु र अन्यायी बग्नु

वास्तै भएन !!

 

वास्तवमा तिमी हौ

सबैको प्राण

हौ सबैको जीवन

सबैको खुसी

सबैको सुख

तर, तिम्रो बगाइ

केवल बगाइ भएको छ

फगत बगाइ बनेको छ ।

 

तिमी शीर तिर पनि बग्नुपर्थ्यो

पाऊ-पाऊ खोज्दै बग्छौ

तिमी उच्चो-उच्चो तिर पनि बग्नुपर्थ्यो

गहिरो-गहिरो रोज्दै बग्छौ

बग्न त गरिबको पसिना पनि

बगिरहेकै छ

बग्न त प्रेमको निमित्त

सत्यको रगत पनि बगिरहेकै छ,

के तिमी

दु:खका त्यही आँशु र

शोकका त्यही रगत जति मात्र हौ ?

 

जमिन चीरेर

समान मानिसहरूबीच

साँध बनेर कत्ति बगिरहन्छौ ?

तल र माथिकाहरूबीच

फरक के छ ?

शीर र पाइतलादेखि बग्ने पसिनामा

फरक के छ ?

वारि र पारिकाहरूको

रगतमा फरक के छ ?

उनीहरूको प्राणमा

फरक के छ ?

तिमी त्यही रगत र पसिनामा पनि

विभेद बगिरहन्छौ !

 

तिमी जीवनको

साँध होइन साँघु बनेर कहिल्यै बग्न सकेनौ

तिमी जीवनमा अनन्त कहर बगिरहेछौ भेरी !!

 

भेरी तिमी

लासहरूको पेटतिर कहाँ बग्छौ र !

स्वासहरूको

प्राण तिर पो बग्छौ

र, टुङ्ग्याउँछौ ढुकढुकी,

तिमी सङ्लोमा सानो

धमिलोमा विशाल बग्छौ,

निर्माणमा सुष्क

र, बिनासमा भयङ्कर बग्छौ

निस्वार्थमा निर्मम

र, स्वार्थमा उदात्त बग्छौ, बगिरहन्छौ !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment