News Summary
Generated by OK AI. Editorially reviewed.- सिनेमाको कथा रोबर्ट पात्रको जीवन र परिवार गुमाउने पीडामा आधारित छ, जसले पुनः जीवन सुरु गर्ने आश बोकेको छ।
- सिनेमाले भूकम्पपीडित फुपूको वेदना र मौनता देखाउँदै मानवीय संवेदनाको कथा प्रस्तुत गरेको छ।
- अमेरिकी अभिनेता जोएल एडगर्टनले 'ट्रेन ड्रिम्स' लाई आफ्नो करिअरकै सबैभन्दा व्यक्तिगत भूमिका भनेका छन्।
आफ्नै कुरा ! पोखे है…!
भन्नैपर्छ मैले, यो लेख ‘ट्रेन ड्रिम’ सिनेमा सम्बन्धी ‘बौद्धिक’ गन्थन होइन । एउटा ‘सिनेमा’ प्रेमीले सिनेमा हेरिसकेपछि उसको ‘मन-मष्तिष्क’ झस्काउँदा पोखिन आइपुगेका भाव मात्र हुन् ।
भनौं न, सिनेमाभित्र बग्ने कथाको बुनोट । ती कथाभित्र अल्झने पात्र । ती पात्रबीच जेलिएका जटिल सम्बन्ध । र ती सम्बन्धहरूका सन्दर्भमा रोबर्ट नामक पात्र जो आत्मिक तहबाट भत्कन पुग्छ, त्यसपछि छरिन आइपुग्ने अनेकौं मानवीय भावभंगी।
यो सिनेमा त्यै मानवीय भावभंगीको कथा हो । त्यहाँ संवेदना छ । एउटा विराट शून्यता । मैले यो सिनेमा हेर्दैगर्दा धेरैपटक रिक्तता महसुस गरेको छु । मान्छे रित्तिनु भनेको केही क्षण समयसँग मात्र हराउनु होइन । पुनः समयकै अन्तरालमा सुरु गर्नु पनि हो जीवनका अर्का नयाँ अध्याय ।
ती समयका अध्यायहरूबीच सिनेमा बेजोड रूपमा प्रस्तुत छ । यो ‘सिनेमा’ जसको काँधमा मैले, जस्तो कि कुनै मिल्ने साथीलाई अंगालो मार्दा काँधमा अडिएका आफ्नै हात, दुईबीच ‘फुसफुसाएका’ नितान्त वैयक्तिक वातमा चलमलाएका औला जस्ता हुन्– यी अक्षर ।
मेरा लागि यो सिनेमा पछिल्लो पटक हेरेकामध्ये सबैभन्दा मिल्ने तर गहिरो अनुभुत गराउने जबर्जस्त दोस्त बनेको छ जिन्दगीप्रति…!
०००
छुट्टीको दिन । ढोका बन्द छ । पर्दाले कोठाभित्र घामका फुर्का समेत छिर्न दे’को छैन । निष्पट्ट अँध्यारो कोठामा मैले झण्डै चार घण्टाको समय सक्काएँ, एक्लै । सिनेमाको बीचतिर हुनुपर्छ । मलाई खै ! अचानक च्या पिउन मन भो ! मैलै ‘आमा’बाट ‘हरागुहार’ मागी पठाएँ ।
‘आमाले ढोका च्यार्र पार्नु भो !’
च्या दिँदै, ‘कान्छा, के छ है ! सिनेमाभित्र…?’, त तँ असामाजिक भइस् छुट्टीको दिन । बाउ छन्, बुढी छे, छोरा-छोरी छन् र म’छु । एकाबिहानै बिर्सिस् त सबैलाई ! पहिलो घुट्को च्या निल्दै निरूत्तर भएको थिएँ त्यसक्षण । मौनताका आँखाबाटै मैले आमालाई ‘बाइ’ भनेको थिएँ ।
जवाफ त मैले फर्काउन सकिन तर मन भन्दै थियो– ‘के छैन आमा सिनेमाभित्र…?’, कसैले बाँचेको एउटा अँधुरो जिन्दगी जुन रित्तोपन अझै बोकेर बाच्नुपरेको छ । भूकम्पको त्यो कालो दिन ।
ती फुपू जसको आँखा हेर्ने आँट गर्नुभएको छ ? उहाँले भोग्नु भएको एउटा विराट भाव शून्यता जो ‘रोबर्ट’ पात्रसँग मिल्न जान्थ्यो।
म तत्क्षण ‘रोबर्ट’ बिर्सेर आफ्नै ‘फुपू’ सम्झिन पुगेको थिएँ, जसले आँखै अगाडि सन्तान गुमाउनुपरेको थियो ।
भूकम्पको बेला घर भत्किँदा परिवारलाई आश्रय दिने त्यही घरले थिचेर फुच्चेको श्वास निथ्रेको थियो । आफ्नै घरका भित्ता, दलिन र मचानले ‘बच्चो’ लाई च्याप्दाको त्यो दृश्य सम्झिँदै वर्षौवर्ष मौनतामा बाँचिरहेकी फुपूको वेदना मैले चियाएको थिएँ ।
वर्षौसम्म कसैको हिम्मत थिएन फुपूसँग सोधिमाग्न । मौनतामा बाँच्नु भन्दा बोल् । उठ् । कुराकानी गर सबैसँग । निस्की घरबाहिर । हातहरू समातेर सहेलीसँग चहार घाँसदाउरा गर्दै वनपखेरा…! पँधेरो जाऊँ । हाँसीठट्टा गर्देउ सहेलीसँग । पोख मनभित्र गुडुल्किएका पीडाहरू । अँह, कसैसँग त्यो हिम्मत थिएन फुपूलाई हौसलाका दुइ शब्द पोख्ने । तर, यो सिने त्यतिबेला बनेको भए, मेरो गाउँसम्म आइपुगेको भए । मैले नै हेर्न पाएको भए । निर्धक्क म भन्ने थिएँ– यो मौनताबाट बाहिर निस्कनोस् फुपू ।
दुनियाँ आफ्नै रफ्तारमा दौडिरहेको छ । उसलाई कसैको पर्वाह छैन । जंगल फडानी हुन्छ कि हुँदैन ? कुनै शासकले ‘न्युक्लिय हतियार’ को बटम थिच्छ कि थिच्दैन ? को जित्छ चुनाव ? कुनै देशको शासक युद्धपोतका कारण किन अचानक मारिन्छ ? सार्वभौम राष्ट्रको नेता दिनदहाडै अपहरण हुन्छ, किन ? को मास्दैछ आफ्नै घर अर्थात् पृथ्वी ?
यी साना बच्चाहरू बमसँगै हावामा दुई सेकेण्डको प्राण बोकेर किन उड्दैछन् ? अर्काको देश हडप्न पाइन्छ ? साँढे गोरुझैं दुई नेता किन जुँध्दैछन् ? पैसा-पैसा-पैसा यो दुनियाँ, भनौं यो ब्रह्माण्ड भन्ने वस्तु पैसा मात्र हो ? प्रत्येक सेकेण्ड मान्छेहरू विभिन्न कारणहरूले मरेका र मारिएका छन् ? जन्मेका पनि छन् ? जन्म र मृत्युको हतारो मात्र हो मान्छेको जिन्दगी ?
त्यसैले फुपू हामी पनि अडिनु हुन्न यो समय जस्तै । छुट्नेछ फेरि अर्को मौनता । अर्को शून्यता । अर्को नयाँ सुरुवात । आउनुस्, अब मौताभित्र सलबलाइरहेका आफ्ना अधुरा ‘सपनालाई’ ट्रेन गरौं । बाँचौं खुलेर । हाँसौं बाँकी जिन्दगी सम्झेर । तर, यो सिनेमा त भर्खर बन्यो । त्यो समय छुटिगयो । फुपू केही वर्षअगाडि छुटिजानु भो दुनियाँबाट । म पनि छुटें आफ्नै ‘र्याट रेस’ दैनिकीहरूबाट, दिनहूँ !
आमाले ढोका फेरि च्यार्र पार्नु भो !
मलाई अर्को लटको च्या हस्तान्तरण गर्दै ‘लठुवा’ हन, के भो ! तँलाई ! को वाक्य कानमा छ्वास्स् पर्नसाथ पो ! म झल्यास्स भएँ । आमाले सबेरै गर्नुभएको प्रश्नको उत्तर दिन सक्ने धेरै कुरा पो रै’छ सिनेमाभित्र । हो, म कुरा गर्दैछु सन् २०२६ को ओस्करमा नोमिनेट भएको सिनेमा– ‘ट्रेन ड्रिम्सको’ ।
०००
अब सिनेमाको कुरा, पोखे है !
म सबेरै ‘ट्रेन ड्रिम्स’ मा हराएँ । पात्रहरूको ‘जटिल’ मनोभावनासँगको यो एउटा अद्भुत यात्रा । मभित्र निर्माण भएका ‘वर्णन’ गर्न नसकिने एक किसिमको रिक्तता । र, अनौठो आशा ।
‘रोबर्ट’ पात्रले पछ्याएका ती आगलागीबाट खरानी बनेका घर र घरभित्र कैद भएका अतीतका सम्झना । ती याद निर्माण गर्न साथ दिने सानी छोरी र श्रीमती । ती सबै-सबै हराए यतैकतैबाट । अब त केवल शून्यता मात्र बाँकी थियो ऊ सँग । त्यही शून्यताबाट उसले पुनः सुरु गर्नुपर्ने थुप्रै कुराहरू थिए । मान्छे जीवित हुनु भनेको आफ्नै वरपरबाट हराएकाहरूलाई पर्खेर बस्नु वा सम्झेर बाँच्नु पनि त रैछ । रोबर्ट पात्रले कुनैदिन परिवार फर्कने झिनो आश बोकेर त्यही शून्यताबाट जीवनको सुरुवात गर्नु थियो ।
त्यही खरानीमाथि पुन घर बनाउनु थियो । बनायो । जीवनका टुटेका लयहरूलाई समात्दै सुरु गर्नुपर्ने अधुरा कामहरू थिए । त्यो भन्दा ठूलो ‘आश’ कतै आगोको लप्काबाट उम्केर बाँचेका त छैनन् छोरी र श्रीमती । मनको अन्तरकुन्तरमा ‘आश’ सुरक्षित राख्नु नै थियो ।
म सोच्छु कैलेकाही ‘केही नहुँदा र सबैथोक हुँदा’ अन्ततः के चाहन्छ मान्छे ? शायद शून्यता हुँदा विशालतातिरको यात्रा । भनौं विशालताको विन्दुबाट जिन्दगीका साँगुरा तर एकांकीपन । एक्लो । निश्चिन्त आफूसँग आफ्नै यात्रा । अर्थात् अर्न्तयात्रा ।
रोबर्ट ग्रेनियरले आफ्नो सम्पूर्ण जीवन प्यासिफिक नर्थवेस्टका वनमा बिताएका थिए । जमिन, जंगलमा काम गर्थे । बीसौं शताब्दीको मोडमा नयाँ संसार निर्माणमा उनको योगदान महत्वपूर्ण थियो ।
सिनेमाका पात्र जोएल एडगर्टनले ट्रेनड्रिमका बारेमा बोल्दै उनले गरेको भूमिकालाई आफ्नो करिअरकै सबैभन्दा व्यक्तिगत भूमिका भनेर वर्णन गरेका रैछन् । उनले किन यसो भने भनेर म गम्दैछु ।
यस भूमिकामार्फत उनले क्षतिको भय र अभिवाकत्वका जटिल पक्षसम्बन्धी आफ्ना गहिरा डरहरूलाई अन्वेषण गर्ने असर पक्कै पाए । उनले ‘रोबर्ट’ नामक पात्रसँग गहिरो सम्बन्ध महसुस गर्नुका साथै यो फिल्मलाई साधारण जीवनको सुन्दरतालाई मनन गर्ने एउटा अर्थपूर्ण कृतिको रूपमा उभ्याए ।
मैले एकैक्षण धैर्य गरेर नसोचेको विषय रैछ नि ! आफ्नै वरपर हाँसिरहेका, बोलिरहेका र जिस्किरहेकाहरू कतिबेला बिलाउँछन् भन्ने विषय । मैले एकछिन प्रश्न गरेँ आफैँलाई । मान्छे शरीर हो । देखिने यो रूप । स्वरूप । मान्छे विचार हो । विचार सिर्जना गर्नेहरू । विचार अनुसरण गर्नेहरू । मान्छे सायद याद हो । यादहरूको संग्रह । आफूसँग जोडिएकाहरूसँग गाँसिएका समयका धागाहरूमा बुनिएका ताजा यादहरू ।
के हो मान्छे ? के हो परिवार ? के हो वास्तवमै आफैँले जन्माएको बचेरो ? मलाई रन्थनाएको थियो यो सिनेमाका प्रत्येक दृश्यहरूले ।
प्यासिफिक नर्थवेस्टका जंगलहरूमा रोबर्ट ग्रेनियरले वर्षौ जिन्दगी बिताउँदा उनी ती भूमिमा रूख मात्र काटिरहेका थिएनन्, नयाँ संसारको चरित्र पनि निर्माण गरिरहेका थिए । २०औं शताब्दीको नयाँ संसार ।
सायद, उनको त्यो बेलाको योगदान वर्तमान समयमा निर्माण भइरहेको आधुनिक समय/समाज र वस्तीसम्म त्यसको प्रतिछाया आइपुगेको हुनसक्छ । सिनेमामा एउटा गज्जबको दृश्य छ– जसमा रूख ढलेको बडो मार्मिक तरिकाले देखाइएको छ । एकदिन यो समाज उसैगरी छिन्नभिन्न हुनसक्छ र उसैगरी ढल्नसक्छ । आजका विश्वनेताको हर्कतले त्यसेको धेरथोर संकेत दिन्छ । क्या ! बबाल तरिकाले देखाइएको छ भने त्यो दृश्य ।
सायद, मान्छे ढल्नु र रूख ढल्नुमा फरक छ तर अर्थ छ यो समाजका लागि । हामीलाई थाहा छैन । स-साना बच्चाहरू आमासँग छुटेर बाँच्न किन सकिरहेका छैनन् ? किन रुन्छ एउटा बच्चो ? रोबर्टलाई बल्ल महसुस भएको छ कि फकाउने मान्छे ऊ सँगै उसकै वरिपरि छ । रोबर्ट बच्चो भएको छ समयको । ऊ वेफिक्री रुन चाहन्छ सम्झेर आफ्नै विगत । तर सक्दैन रुन ।
ऊ काम गरेर फर्कदाँ ती सबै पल गायब भएका थिए, यतैकतैबाट । ऊ सँग प्रश्न छ, यो समय कहाँ जान्छ ? ती यादहरू कहाँ गएर बस्छ ? के मान्छेसँग सदैव यिनै घट्ना हुने हुन् ? सिनेमाले एउटा यस्तो अवस्थाको कुरा ओकल्छ, त्यो हो आर्थिक अवस्था कमजोर हुँदा मान्छे संकुचन नभई थोरै तर विशाल भएर सुन्दर क्षण बिताइरहेको हुन्छ भन्ने विषय । तर, आजको मान्छेले त्यो विरलै बुझ्छ ।
हामी एल्गोरिदम ट्र्यापमा छौं । क्रेमोक्रेसीले गाँजेको छ । ३० सेकेण्डको रिलको चेतनामा रमाइरहेका छौं । र, त्यो चेतनाको झंकारलाई गिज्याउने स्तरमा सिनेमाको ‘व्याकराउण्ड’ म्युजिक छ । बडो मन हर्ने किसिमिको । मान्छेको चेतनालाई हिर्काउन मात्र होइन सिनेमालाई अद्भुत बनाउन पनि संगीतको भूमिका स्पष्ट छ ।
०००
सिनेमाले त्यस बिहान मसँग धेरै प्रश्नहरू छाडेर गएको थियो । मान्छे ‘एक्लो’ हुनु भनेको बेचैनीमा बाँच्नु हो ? त्यो मलाई था’छैन । बेचैनीको जिन्दगी कस्तो हुन्छ ? भोग्नेहरूलाई था’छ । रोबर्टको बुझाइ छ, यो दुनियाँ नै भगवानले यति ‘पर्फेक्ट’ बनाउनुभएको छ कि यसका लागि ‘मान्छे’ ले गर्नुपर्ने काम क्यै ! बाँकी नै छैन । तर, एउटा मान्छेले यही दुनियाँ बनाउने नाममा भत्काइरहेको त छैन ? प्रश्न गर्छ ऊ तर जटिल । परिवारबिनाको त्यो ठाउँ, त्यो भूगोल, कस्तो होला ? तपाईंले कहिल्यै सोच्नुभएको छ । छैन ।
तपाईंसँग अहिले परिवारका सदस्यहरू छन् । हामी ठानिरहेका छौं, यो सत्य हो कि हामी कोही हराउने छैनौं । परिवारको कुनै सदस्य गुमाएको मान्छेलाई सोध्नुपर्छ यो प्रश्न । उनीहरू हराभरा तर कति उजाड समय बोकेर बाँचिरहेको हुन्छ भन्ने कुरा सिनेमाले समेत खोजेको छ ।
खुसी नै परिवारको दोस्रो नाम हो । तर, आजको ‘टक्सिक’ सम्बन्धहरूमा घर भत्केको छ । सम्बन्ध भत्केका छन् । मान्छेहरू पैसाले सबथोक किन्न सकिन्छ भन्ने रेसमा छन् । एलन मस्कले समेत पैसाले खुसी किन्न नसक्ने कुरा स्वीकार गर्दै ट्वीट गरेका थिए केही दिनअगाडि । सायद, उनको आशय छ, ‘वस्तु’ ले मान्छेका मानवीय संवेदनाका झंकारहरूलाई हिर्काउँन सक्दैन । ती झंकारबाट निस्कने खुसीका तरङ्गहरू पैदा गर्न सक्दैन । मान्छे भावनात्मक सम्बन्धका झंकारबाट बढी सिर्जित हुन्छ भन्ने उनको वैयक्तिक बुझाइ हुन सक्छ ।
एउटा बुढो पात्रले ‘सिनेमाको मुख्य’ पात्र रोबर्टलाई प्रश्न र उत्तर एकैचोटी दिन्छ– था’छैन समय कसरी बित्छ ।
यो संवाद सुनेपछि म एकैछिन रोकिएँ । लामो सास तान्दै आफैंलाई चिमोटेँ । आफैंलाई झकझक्याएर हेर्न खोजें । हो त समय कसरी बित्छ ? हिजै जस्तो लाग्छ ‘कपर्डी’ खेलेको । स्कुल जाँदै गरेको । बच्चा हुँदा गरेका हर्कत । म त दिनहूँ बुढो पो हुँदैछु गाङ्गठ्ठे !
वास्तवमै समय कति चाँडो बित्छ, हगी ! अनि, कसरी बित्छ समय र जवानी ? मान्छेले भेउ पाउँदैन । जब बितिसक्छ तब झल्याँस्स हुन्छ ।…बाँकी छ मज्जैले बाँच्न । मनले चाहेको धेरैथोक गर्न । र, पूरा गर्न मनले गुथेका रहरका पोकोहरू फुकाउन।
धेरै वर्षहरू फिर्ता लेराउँनु छ, जहाँ म निश्चिन्त बाँचेको थिए । मेरा कर्म र हर्कतहरू थिए । के ती फर्काउन सकिन्छ ? प्रश्नहरूको जञ्जालमा अल्झिन पुग्दा सायद बिर्सन्छ मान्छेहरू सार्थक जिन्दगी बाँच्न । त्यो पल जो बित्यो, जो छ, जुन आउनेछको महत्व बुझ्नेछ मान्छे एकदिन । तर, मान्छेसँग समयको बाटोमा चुपचाप हिँड्नु सिवाय अर्को विकल्प पनि त छैन ।
०००
मान्छेले सदैव नजरअन्दाज गर्ने अर्को महत्वपूर्ण विषय हो– मृत्यु । जुन दिनहूँ देख्छ, भोग्छ । आफ्नै वरपर । हरेक दिन । हरेक क्षण । मान्छेहरू हराइरहेका छन, आफ्नाहरूबाट । तर, त्यो दिन पनि आउँछ जब आफ्ना भनिएकाहरूको नजिक–नजिक आउने मृत्यु, ती क्षण । के त्यो दिन चिच्याएर रूदैमा मनका कसहरू बगी जान्छन् ? सायद, जाँदैन ।
त्यो ‘मोक्ष’ वा भनौं मनकै तहबाट पखाल्ने हो भने मान्छेले बाँच्दै ती काम गर्नुपर्छ जसले चरम सन्तुष्टिको बाटो पहिल्याउँछ । एकदिन रोबर्ट कामबाट फर्कंदा जंगलमा आगलागी भएको हुन्छ । उसले निर्माण गरेको घर जल्छ । घरमात्र जलेको भए त हुन्थ्यो नि ! घरभित्र रहेकी श्रीमती र भर्खर जन्मेकी छोरी समेत आगोको लप्कामा बिलाउँछ ।
आगो निभिसक्दा त्यहाँ खरानी मात्र बाँकी रहन्छ । आखिरी बाँचेकाहरूसँग अन्तिममा रहने भनेको खरानी मात्र हो । शायद, त्यो खरानीले पनि भनिरहेको हुँदोहो– एकदिन ‘तिमी’ पनि खरानी नै हुनेछौ । तैपनि मान्छेहरूले चराचर जगतसँग प्रायश्चित गर्छ । प्रश्न गर्छ ।
जीवित हुनेहरूले गर्ने एउटै प्रश्न छ– मर्नेहरूको के गल्ती थियो ? ऊ सँग नै यो अन्याय किन ? मान्छेले एकदिन यिनै प्रश्नबाट गुज्रनुपर्छ जुन परम, उत्तिकै सत्य छ । र त्यो सत्यलाई आत्मसाथ गर्ने हृदय, रहर र भविष्यका बाटोहरूको ‘ट्रेन गर्ने ड्रिम’ पनि मान्छेसँगै छ । तर उसको कसीमा भने ‘क्यै ! कुरा’ छैन।
प्रतिक्रिया 4