Comments Add Comment

चितवनमा भारतीय खेतालाबिनै रोपाइँ

असार तेस्रो सातासम्म ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सकियो

२४ असार, चितवन । चितवनमा यसबर्ष अघिल्ला वर्षहरुमा भन्दा छिटो धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष असार तेस्रो हप्तासम्म करीव ४५ प्रतिशत रोपाइँ सकिएको छ ।

गतवर्ष असारको दोस्रो सातासम्म चितवनमा २० प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो । सुख्खा क्षेत्र मानिने पश्चिम चितवनमा समेत यसपटक धान रोपाइँ असार दोस्रो हप्ताबाटै थालिएको छ ।

यसवर्ष पूर्वी चितवनमा झण्डै ७० प्रतिशत, माडीमा ६० र पश्चिम चितवनमा ३० प्रतिशत रोपाइँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार चितवनको धान जोनका ४ सहकारी र ३ वटा कृषक समूहका अधिकांश खेतमा रोपाइँ सकिएको छ ।

असार दोस्रो हप्ताबाट खगेरी नहर तथा मंगलबारबाट नारायणी लिफ्ट नहरसमेत सञ्चालनमा आएकोले धान रोपाइँको दर पश्चिम चितवनमा अझै बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अहिलेकै गतिमा भए साउनको पहिलो हप्ता चितवनमा ९० प्रतिशत रोपाइँ सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख तिमिल्सिनाले बताए ।

‘केही ठाँउमा मकै र चैते धान भएकोले किसानले रोपाइँ गर्न पाएका छैनन्’, उनले भने, ‘व्यवसायिक तरकारी लगाएका किसानले समेत यसपटक धान लगाएका छन् ।’

छिटो र सस्तो मूल्यमा धान रोप्ने भएकाले अधिकांश किसान भारतीय र मधेशका कामदारको प्रतीक्षामा रहन्थे । तर यस वर्ष लकडाउनका कारण गाडी नचलेर यस्ता खेताला आएनन् भने जिल्लामै काम गर्ने मान्छे पर्याप्त  नहुँदा रोपाइँमा धेरै समस्या पनि परेको छैन ।

लकडाउनका कारण तरकारीले भाउ नपाएको र बारीमा नै तरकारी कुहिएकाले तरकारी किसानले पनि धान रोपेका छन् ।

जिल्लामा धेरैजसो सावित्री, सामा र राम धान लगाइएको छ । यसपटक धान खेतीको क्षेत्रफल र उत्पादकत्व दुबै बढ्ने तिमिल्सिनाको अनुमान छ । जिल्लामा गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्षे र चैते धानखेती भएको थियो ।

चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन र वर्षे धान प्रतिहेक्टर ३ दशमलव ५२ मेट्रिक टन रहेको छ । गत वर्ष चितवनमा १ लाख ६७२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लाका खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी ७२ दशमलव ७ प्रतिशतमा सिंचाइँ सुविधा पुगेको छ ।

रोपाइँका बेला बेला भएको रासायनिक मल अभावले भने किसानलाई पिरोलेको छ । अर्को साता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले युरिया ल्याउने तिमल्सिनाले बताए । ‘पहिला रोपेको धानलाई त समस्या पार्ने देखियो, अब रोपेकालाई असर गर्दैन’ उनले भने ।

भारतीय खेतालाबिनै धान रोपाइँ

चितवनमा अघिल्ला वर्षका रोपाइँमा भारतीय र मधेशका जिल्लाका खेताला धेरै हुने गर्थे । तर यसपटक भने लकडाउनका कारणले भारतीय र मधेसका खेताला देखिएका छैनन् ।

कोरोना महामारीका कारण जिल्लामा भारतबाट र शहरबाट फर्किएका नेपालीहरु नै धेरै भएकाले भारतीय खेताला आवश्यक नपरेको किसानहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार विगतका बर्षहरुमा चितवनमा धान रोप्न र काट्न मधेस र भारतका विभिन्न ठाउँबाट झन्डै १० हजार कामदार आउँथे ।

झुण्ड झुण्डमा आउने कामदारले छिटो र सस्तो मूल्यमा धान रोप्ने भएकाले अधिकांश किसान यस्तै कामदारको प्रतीक्षामा रहन्थे । काम गर्ने मान्छे पर्याप्त नहुँदा किसानलाई केही समस्या भने परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

मधेश र भारतबाट आउने खेतालाले ८/१० हजार रुपैयाँमा एक विघा खेत रोपाइँ गर्न ठेक्का लिन्थे । तीन दिनमा चार बिघासम्म खेत रोपिदिन्थे । अघिल्ला बर्षमा यस्ता खेतालाबाट नै खेत रोपाएका भरतपुर महानगरपालिका–४ का देवहरि पण्डितलाई यसपटक खेताला नआउँदा खर्च बढ्ने पिरलो छ ।

‘भारतबाट आउने खेतालाहरुले सस्तोमा चाँडै रोपेर सकाउँथे’ उनले भने, ‘यसपटक खर्च बढ्ने र समय पनि बढी लाग्ने भो, दुःख त छदैछ ।’

चितवनमा कतै कतै मेसिनबाट पनि धान रोप्न थालिएको छ । ३० हजार हेक्टर धानखेती हुने चितवनमा जम्मा तीनवटा मात्रै धान रोप्ने मेसिन भएकाले अपुग हुने किसानहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment