+
+
Shares

इन्जिनियरविरुद्ध सवा दुई करोड भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १८:४५

२५ असार, काठमाडौं । सडक विभाग अन्तर्गत मध्यपहाडी पश्चिम (पुष्पलाल) लोकमार्ग सडक आयोजना दाङका सिनियर डिभिजनल इन्जिनियर जितेन्द्र राज शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर शाक्य विरुद्ध २ करोड २५ लाख ४ हजार १० रुपैयाँ र ७८ पैसा भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

इन्जिनियर शाक्यले आपसी मिलेमतोमा १०५ वटा नक्कली कोटेशन बनाई अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा इन्जिनियर शाक्यको वैध आम्दानी १ करोड ५६ लाख ६ हजार ४ सय ८० रुपैयाँ ९ पैसा देखिएको तर लगानी र खर्च हेर्दा ३ करोड ८१ लाख १० हजार ४ सय ९० रूपैयाँ ८६ पैसा देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

२ करोड २५ लाख ४ हजार १० रुपैयाँ ७८ पैसाको स्रोत खुल्न नसकेको र स्रोत नखुलेको सम्पत्ति उनले गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको कोइरालाले बताए ।

शाक्य २०३४ साउन २ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेश गरेदेखि २०७६ असार ३१ गतेसम्म शाक्यले आर्जन गरेको सम्पत्तिमाथि आयोगले छानविन गरेको कोइरालाले बताए ।

गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले आफू लगायत श्रीमती मिथिला शाक्यको नाममा जग्गा खरिद गरेको, बैङ्क तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको, दुई जना छोरीहरुलाई विदेश तथा स्वदेशमा पढाउन खर्च गरेको, शेयर खरिद, सवारी साधन खरिद, बैंकमा मुद्दति खाता खोली रकम जम्मा गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

आयोगका अनुसार उनको श्रीमती मिथिलालाई भने सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी आरोप–पत्र दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?