Comments Add Comment

८ महिनाअघि दुर्घटनामा होस गुम्यो, उपचारमा सम्पत्ति

२५ असार, विराटनगर । २०७६ कात्तिक १२ गतेसम्म सुनसरी तरहराका गणेश राईको दैनिकी ठिकठाक थियो । परिवार पाल्ने माध्यम एउटा पसल थियो ।

छोरा सन्तोषलाई कोरियन भाषा पढाइरहेका थिए । उनी श्रीमती विष्णुलाई पसलमा काम सघाउथे ।

१२ कात्तिक तिहार परेका कारण उनी घरबाट टेम्पोमा दिदीको घर लेटाङ पुगे । लेटाङबाट घर फर्कदा टेम्पोसँगै लडेका उनी अझै अचेत छन् ।

आठ महिना विराटनगरको गोल्डेन अस्पतालमा बसेका उनको अवस्था सुधारिएन । झन् जटिल बन्दै गयो । हट्टाकट्टा देखिने गणेशको शरीरमा आठ महिनाको अन्तरमा हाड र छाला मात्र छ । अचेत अवस्थामा रहेका गणेशलाई श्रीमती विष्णुले थेरापीका लागि सर्व फिजियोथेरापी एण्ड वेलनेसमा भर्ना गराएकी छन् ।

अचेत अवस्थामा रहेका गणेश सामान्य अवस्थामा फर्कने आशसहित अस्पतालमा बसिरहेका छन् श्रीमती विष्णु र छोरा सन्तोष ।

सकियो सम्पत्ति

दिदीकोमा टीका लगाएर फर्कदै गर्दा गणेश चढेको टेम्पोमा चालक र चालककी श्रीमती थिए । तीनजना सवार टेम्पो तरहरा फिर्ने क्रममा बाटोमा दुर्घटना भयो । टेम्पो चालक जसोधन राई र उसकी श्रीमतीलाई हातमा चोट लाग्यो । गणेश अचेत भए ।

दुर्घटनालगत्तै तीनै जनालाई गोल्डेन अस्पताल ल्याइयो । टेम्पो चालक जसोधन राई र उनकी श्रीमतीको केही दिनमै डिस्चार्ज भए । गणेशको आठ महिनासम्म होस खुलेको छैन ।

अस्पतालले उनको उपचारमा १२ लाख रुपैयाँ भन्दा बढी खर्च भएको बताएको छ । त्यसमध्ये आधा रकम तिरेर परिवारले गणेशलाई फिजियो थेरापीका लागि लगेका छन् । थेरापीमा दैनिक एक हजार पाँच सय तिर्नुपर्छ ।

विष्णुका अनुसार श्रीमानको उपचारमा सम्पत्ति सबै सकियो । तरहरामा चिया बेचेर दुःखले १० धुर जग्गा जोडेकी थिइन् उनले । तर श्रीमान बिरामी भएपछि सो जग्गा धितो राखेर ८ लाख रुपैयाँ ऋण लिएकी छन् ।

आफन्त र छिमेकमा लिएको ऋणको छुट्टै हिसाब छ । तर गणेशको अवस्था सुध्रिएको छैन । टेम्पोधनीले ६ लाख रुपैयाँ दिन्छु भनेका छन्, तर दिएका छैनन् । तर मिल्न दबाव दिएको विष्णुको गुनासो छ । ‘के सोचेका थियौं के भयो’ उनले भनिन् ‘उपचार गर्दा गर्दा सबै सकियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment