Comments Add Comment

मोदीका सञ्चार योद्धाहरू !

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । नेपाल-भारतबीच सामाजिक र सांस्कृतिक सम्बन्धका कारणले यहाँको नागरिकबीच समेत निरन्तर अन्तर्क्रिया हुने गरेको छ । तर केही राजनीतिक मुद्दाजस्तै सीमा विवाद र भारतबाट नेपालमाथि विभिन्न राजनीतिक हस्तक्षेपका कारण दुईबीचको सम्बन्ध बेलाबेलामा तनावपूर्ण हुने गरेको छ।

भारतले लिपुलेख हुँदै सडकको उद्घाटन गरेपछि नेपाल र भारतबीच तनाव बढिरहेको छ । तर यो घटनाको गलत फाइदा भने भारतीय टेलिभिजनले निकै उठायो । हालै आएर नेपालमा कम्युनिस्ट पार्टीसँग नेपालका लागि चिनियाँ राजदूतसँगको भेटवार्तालाई लिएर कहानी बनाउन व्यस्त छन् भारतीय सञ्चार माध्यम ।

यस्तो अनावश्यक टिप्पणीहरू गर्दै मसला हाल्दै भारतीय टेलिभिजन रेटिंग पोइन्ट (टीआरपी) बढाउने अभियानमा छन् भारतीय संचार। भारतीय मिडिया आजकाल, चीनले कसरी नेपाललाई प्रयोग गर्दै भारत विरुद्द षड्यन्त्र गर्दै छ भनेर फुक्दै छ, केहि समय अगाडी नेपालले आफ्नो भूभागको लागि भारत सरकारसँग कम भारतीय संचारसँग बढी लड़ाई गर्नु परेको थियो।

यो पहिलो पटक होइन नेपालीहरूले भारतीय मिडियाको बकबास सहेको । सन् २०१५ को महाभूकम्प गएको बेला, भारतीय मिडियाले संवेदनहीन रिपोर्टिङका कारण सामाजिक सञ्जालमा नेपालीहरूको प्रतिकारको सामना गर्नु परेको थियो । भारतीय सरकार एकमात्र उद्धारकर्ताभन्दै तथ्यहीन महिमा गाउने र पीडितहरूलाई अनावश्यक तनाव दिने काम गरेका थिए ।

केही समययता, केपी ओली र सरकारविरुद्ध भारतीय सञ्चार माध्यम मोदीको हनुमान जसरी लागि परेका छन् । कतिसम्म भने, हालसालै सडकमा युवाहरूले गरेको इनफ इज इनफ अन्तर्गतको प्रदर्शनलाई नेपाली युवाहरूले सरकारले जारी गरेको चुच्चे नक्साविरुद्ध हो भनेर फुक्न थाले । नेपाली युवाहरूले सरकारलाई चुच्चे नक्साको स्वागत गर्दै कोरोना रोकथाममा सरकारको ढिलासुस्ती गरेको कुराको खबरदारीलाई, आफू अनुकूल व्याख्या गर्न पछि हटेन भारतीय सञ्चार ।

केही वर्षयता, भारतीय सञ्चार माध्यम राजनीतिक शक्तिको राजदूत बनेका छन् । हालका वर्षहरूमा, भारतीय मिडिया प्रधानमन्त्री नरेन्द्र मोदीको मिडियाको रूपमा प्रदर्शित भएका छन् । किनकि यसको कर्पोरेट शक्तिले सरकार सञ्चालकहरूसँग नजिक तर स्वार्थको सम्बन्ध स्थापित गर्दै आएका छन्।

यस्तै, कारणले भारतका नागरिक समाजका अगुवाहरू आजको दिनमा भारतीय मिडियालाई प्रधानमन्त्रीको कठपुतलीको रूपमा इङ्कित गर्छन् । भारतीय सञ्चार माध्यमको काम नै काल्पनिक कथाहरू निर्माण गर्ने र नरेन्द्र मोदीलाई देशको निःस्वार्थ योद्धाको रूपमा चित्रित गर्ने भएको छ।

कुनै सञ्चार जसले सरकार र विशेषगरी मोदीमाथि शंका गर्छ वा मोदी विरोधी टिप्पणी गर्दछ । राष्ट्रवादी सरकारले ती सञ्चार गृहहरूलाई राष्ट्रविरोधीको रूपमा आरोप लगाउँछ । उग्रराष्ट्रवाद र मोदीको प्रचार स्टन्टको लागि अन्धा समर्थकको रूपमा धेरै स्थापित भारतीय मिडियाहरू छन् । हुन पनि मोदी पुग्छन्, विभिन्न कोणबाट उनको तस्वीर र भिडियो बनाएर स्तुतिगान गाउने त एउटा चलन बनेको छ ।

रचनात्मक भूमिका कम, भ्रामक भूमिका बढी

हालै भारतीय मिडियाले अभिनेत्री मनीषा कोइरालालाई भारतको विश्वासघातकर्ताको रूपमा सीमा विवादमा उनको प्रतिक्रियाका बारेमा आक्रमण गरेको थियो । यसले उनीहरू कुनै पनि मुद्दालाई कसरी प्रचार गर्छन् र राज्यको चौथो अंगको रुपमा एजेन्डा बनाउनेभन्दा पनि प्रचारबाजीमा केन्द्रित छन् भनेर प्रष्ट बनाउँछ । साथै, तटस्थ बहस गर्नेभन्दा पनि पूर्वाग्रही भएर चीनले नेपाललाई प्रयोग गर्दै छ भनेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै नेपालको स्वार्वभौमसत्तामाथि आक्रमण गर्ने काम गरेका छन् ।

यस्तो कार्यक्रमले फेरि पनि रेटिङ त बढ्ला तर सञ्चार क्षेत्रको विश्वसनीयता र जिम्मेवारीबोधमाथि प्रश्न भने पक्कै उठ्छ । भारतीय सञ्चारको योभन्दा ठूलो उग्रवाद त त्यतिबेला देखिएको थियो जब भारतले पाकिस्तानलाई सर्जिकल स्ट्राइक (आक्रमण) गरेको थियो । जब भारतीय सेनाले पाकिस्तान सीमामा हवाई आक्रमण गरेको थियो । तब मूलधारका मिडिया अतिवादी राष्ट्रवादी कथा बुन्न व्यस्त थिए । समाचार हेर्दा लाग्थ्यो कुनै बलिउड सिनेमा हेर्दा काल्पनिक लिपि र महिमाका साथ भारत-पाक युद्ध चित्रण हुँदैछ ।

न्युयोर्क टाइम्सका अनुसार भारतीय सञ्चार माध्यम विश्वकै ठूलो सञ्चार माध्यम हो । जहाँ १७ हजारभन्दा बढी पत्रपत्रिका, एक लाख म्यागजिनहरू, १७८ वटा टेलिभिजन च्यानलहरू र असंख्य वेबसाइटहरू, दर्जनभन्दा बढी भाषामा परिचालित छन् । त्यस्तै, हजारौं युट्युब च्यानलहरू र फेसबुक पृष्ठहरू छन् जसको सञ्जाल व्यापक छ ।

त्यस्तै, नरेन्द्र मोदी भारतीय जनता पार्टीद्वारा सञ्चालित आइटी सेलद्वारा समर्थित छन् । यी किबोर्ड योद्दाहरूको समूह हो, जसले पत्रकारहरू, विशेषगरी महिला पत्रकारहरू र अधिकारकर्मीहरूलाई धम्काउने र सताउने गर्छ । उनीहरूको लक्ष्य भनेकै मोदीविरोधी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालमा खेद्नु र धम्काउनु हो । यसमा मूलधारका मिडियाहरू पनि शान्त भएर साथ दिने गरेको पाइएको छ । कुनै अन्तर्वार्ता दिने क्रममा भारतीय वरिष्ठ पत्रकार राजदीप सरदेशाईले भारतीय मिडियाको एउटा ठूलो हिस्सा वाचडग नभएर ल्याप डग (खबरदारी नगरी हनुमानगिरी गर्ने) भएको आरोप लगाएका थिए।

सञ्चारको मूल भूमिकाबाट पर

जब मोदी पहिलो पटक प्रधानमन्त्री हुँदै थिए, उनी निकै लोकप्रिय थिए। उनको चुनावी अभियानलाई मिडियाले निकै साथ पनि दिएको थियो । उनी परिवर्तनको प्रतीक बनेका थिए । एक हिसाबले भन्दा मोदीको मुहार, भाषण सञ्चारमा बिक्न थालेको थियो । उनी मिडियाका लागि राम्रो खुराक बने । मोदी सत्तामा आए अनि सुरु भयो मिडिया टेम्परिङको काम । भारतीय सरकार वा भनौं मोदी निकट मोदी बारे प्रसारण हुने विषयवस्तुमा चासो राख्न थाले।

मोदीविरुद्ध खासै सामग्रीहरू प्रसारण हुन छोड्यो । उनको चित्रण एउटा देशभक्त नायकको रूपमा हुन थाल्यो । मोदीलाई खबरदारी कम अनि उनको विदेश भ्रमणमा उनले बोल्ने विदेशी भाषाको एक टुक्रा सञ्चारको विषयवस्तु बन्न थाल्यो । उनलाई भारतपुत्र बनाउने अभियान नै चल्यो ।

मोदीविरुद्ध बोल्नु भनेको भारत आमाविरुद्ध बोल्नु सरह हुन थाल्यो । धेरै सञ्चार गृहहरू मोदीको नियन्त्रणमा हुन थालिसकेका थिए । मोदीका सेनाहरूको डरले मोदीको प्रशंसा गर्ने रणनीति बन्यो धेरै सञ्चार गृहहरूको । यस्तो अवस्थामा मोदीको विरोध गर्नुभन्दा पनि मोदीको समर्थन गरेर आफू सुरक्षित हुने र अस्तित्व जोगाउने रणनीति पनि बनाए केहीले ।

भारतीय सञ्चारले मोदीले कसरी दक्षिण एसियामा आफ्नो पकड गुमाउँदै छन् र विगत ५/६ वर्षमा कूटनीति बिग्रेकोबारे बहस गर्दैन । प्रधानमन्त्रीको रूपमा शपथ लिँदा उनले छिमेकी देशका नेताहरूलाई निम्तो दिए जसले उनलाई दक्षिण एसियामा प्रतिनिधित्व गर्ने क्षेत्रीय नेताको रूपमा स्थापित पनि गरायो तर त्यो छवि धेरै दिन टिकेन ।

यद्यपि विदेश नीति र छिमेकी सम्बन्धहरूमा भएको तहसनहसमा भारतीय मिडिया मौन छन् । अझै उनीहरू सरकारी लाइनमा बोल्छन् र सरकारलाई छिमेकलाई साथी सरह हैन ठूलो दाइको रुपमा पेश हुन प्रेरित गर्छन् । मोदी सरकारको कदममा अहंकार थप्ने काम भारतीय मिडियाले गर्दै छन् । अहिले भारतीय मिडियाले चलाउनु पर्ने बहस भनेको भारत किन छिमेकसँगको कूटनीतिमा असफल भयो ? सीमा जोडिएको राष्ट्रसँगको बढ्दो सीमा विवाद, दक्षिण एसियाली उपमहाद्वीपको नेतृत्व गर्न भारतीय रणनीति आदि हुन् । तर भारतीय मिडिया छिमेकीहरूविरुद्ध कथा रच्दैछन्।

भारतीय मिडियाको अबको भूमिका

भारतीय मिडियाले नेपाललाई एउटा स्वतन्त्र राष्ट्रको रुपमा हेर्नुपर्छ । उसको बकवास कथा र समाचारले दुई देशबीच कति तिक्तता ल्याउन सक्छ भन्नेमा ऊ सचेत हुनुपर्छ । अरू छिमेकी राष्ट्रहरूलाई पनि भारतले प्रभाव पारेको वा भारतको औंलामा चल्ने राज्य होइन, एक सार्वभौम राष्ट्रको रुपमा व्यवहार गर्नु जरुरी छ । यति गरे पनि अनावश्यक कथाहरूको रचना हुन छोड्छ । तिनीहरू संवेदनशील हुनुपर्छ किनकि त्यस्ता अलोकतन्त्रवादी र पक्षपातपूर्ण तर्कले दुई देशहरूबीच चिसो सम्बन्ध विकास गर्न सक्छ।

नेपाल र भारतका मिडियाले परिस्थितिलाई युक्तिसंगत बनाउनुपर्छ र आफ्नो देशका नेताहरूलाई दबाब दिने काम गर्नुपर्छ । किनभने दुवै देशको नेतृत्व गर्नेको सत्तारोहणको आधार भनेको उग्रराष्ट्रवाद हो । यस्तो संवेदनशील विषयमा नेतृत्वलाई झस्काउने काम गर्नुपर्छ, उचालेर दिग्भ्रमित गर्ने कार्य गर्नुहुन्न । जनताको भावनालाई उग्रवादको रूपमा गलत अर्थ लगाउनु हुँदैन । मिडिया राज्य र जनताको बीचमा मध्यस्थकर्ताको भूमिका खेल्नुपर्छ । उत्तेजित बनाएर सम्बन्ध भत्काउने भूमिका खेल्नु कसैको हितमा हुँदैन ।

मोदीको गुनगान गाउँदैगर्दा भारतीय मिडिया प्रेस स्वतन्त्रता सूचकमा आफ्नो स्थान घटाउने क्रममा छ । रिपोर्टर्स विद आउट बोर्डरद्वारा प्रकाशित २०२० को विश्व प्रेस स्वतन्त्रता सूचकांकअनुसार प्रेस स्वतन्त्रताका लागि १८० देशहरूमध्ये भारत १४२औं स्थानमा छ । भारत युद्धग्रस्त देशहरू अफगानस्तान र सुडानभन्दा पनि पछाडि छ ।

कश्मीरमा भएको घटनाको बेला अन्तर्राष्ट्रिय पत्रकारहरूलाई रिपोर्टिङ गर्न नदिएर पनि उनीहरूको स्थान खस्किएको केही विश्लेषण गर्छन् । तर मुख्य कुरा प्रेस स्वतन्त्रताको विषयमा भारतको रवैया कस्तो छ भन्ने प्रष्ट भएको छ । भारतीय राज्य सञ्चारसँग यति कडा हुँदा पनि स्वतन्त्र सञ्चारगृहको आवाज नसुनिनुले कुनै व्यक्तिलाई देवत्वकरण गर्ने खतरा बढेको छ र स्वतन्त्र पत्रकारितामा प्रश्न चिह्न खडा भएको छ ।

भारतीय मिडियाले मानिसहरूलाई एकजुट गर्ने किसिमको काम गर्नुपर्छ र निष्पक्ष पत्रकारितामार्फत आफ्नो सरकारलाई उत्तरदायी बनाउनुपर्छ । तिनीहरूको गलत राजनीतिक दाबी, सीमा विवाद, चिनियाँ राजदूत र नेपाली प्रधानमन्त्रीको भ्रामक कथाले क्षणिक मसाला मनोरञ्जन त दिन्छ तर त्यसले निम्ताउने विचलनबारे उनीहरूले बुझ्नु जरुरी छ ।

उग्रराष्ट्रवादले उनीहरूको टेलिभिजन रेटिङ त बढ्ला तर विश्वशनीयता घटाउन पनि सक्छ । छिमेकी राष्ट्रहरूसँग सम्बन्ध सुधार गर्न आफ्नो सरकार उत्तरदायी बनाउने काम गर्दै पुन:विश्वास स्थापित गर्ने काममा अगाडि बढ्नुपर्छ । अहिलेको डिजिटल युगमा जहाँ सूचना नै शक्ति हो, भारतीय मिडियाले भारतीय जनता पार्टीको कार्यकर्ता जस्तो नभई राज्यको चौथो अङ्गको रुपमा काम गर्नुपर्छ । जहाँ प्रतिपक्षको संख्या कमजोर छ त्यहाँ नागरिक समाज र सञ्चार जगत नै प्रतिपक्षको भूमिकामा हुन्छ । त्यसैले मनपरीतन्त्र रोक्न सञ्चार माध्यमको भूमिका अहम हुन्छ।

(सौगात शोध नामक संस्थासँग आबद्ध छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment