Comments Add Comment

झापामा ७५ हजार बराबरको नक्कली भारतीय नोट बरामद

सांकेतिक तस्वीर

२८ असार, झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति हुन् ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’

बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

श्रेष्ठहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।

प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।

यसअघि १० जेठ २०७६ मा काठमाडौंमा ७ करोड रुपैयाँ नक्कली भारतीय नोटसहित युनिस अन्सारी पक्राउ परेका थिए । त्यसयता ठूलो परिमाणमा नेपालमा भारतीय नक्कली नोट समातिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment