Comments Add Comment

कसरी बित्दैछ बालबालिकाको दैनिकी ?

लामो समयदेखि बालबालिकाहरु घरभित्र छन् । विद्यालय जानु परेको छैन, होमवर्क गर्नु परेको छैन, पठनपाठनको दबाव छैन । हिँडडुल गर्न, साथीभाईसँग खेल्न, किनमेलमा जान पनि उपयुक्त छैन । घरभित्रै बसिरहँदा के गर्ने त ?
यो फुर्सदको समयमा उनीहरुले घर–परिवारबाट जीवनोपयोगी कुरा सिक्न सक्छन् । जस्तो भान्साको काम, बगैंचाको काम । कुचो लगाउने, लुगा धुने, तरकारी केलाउने, खाना पकाउने, घर सजाउने जस्ता काम सिक्न सक्छन् । यसले उनीहरुलाई जीवनोपयोगी शिक्षा दिलाउँछ । फुर्सदको यो बसाई उनीहरुका लागि पारिवारिक मूल्य र व्यवहार बुझ्ने एउटा सुनौलो मौका हुनसक्छ ।

धेरै बालबालिका अहिले यस्तै जीवनोपयोगी कुरा सिकिरहेका छन् । सिर्जनात्मक काममा पनि उनीहरुको लगाव बढ्दो छ । चित्र बनाउने, कथा कविता लेख्ने, कथा सुनाउने । यसले उनीहरुको रचनात्मक क्षमता बढाउन मद्दत गर्छ ।

तर, सबै बालबालिकाले आफ्नो समयलाई यसरी नै सदूपयोग गरिरहेका छन् भन्ने छैन । कतिपय बालबालिका मोवाइल, टेलिभिजन, ल्यापटपमा लिप्त भएका हुनसक्छन् । खासगरी पट्यारलाग्दो दिन कटाउने बाहानामा उनीहरु हरक्षण मोबाइल र ल्यापटपमा झुन्डिन सक्छन् । यसले गर्दा उनीहरु शारीरिक रुपमा निस्क्रिय हुने मात्र होइन, खराब बानी विकास हुन सक्छ ।

समय कटाउन ल्यापटप वा मोबाइल खेलाउँदा खेलाउँदै उनीहरु यसको लतमा फस्न सक्छन् । यसपछि उनीहरुको दिनचर्या लथालिंग हुन्छ । मोबाइल खेलाइरहेको बेला उनीहरुले भोक लागेको, दिसा पिसाब लागेको भेउ पाउँदैनन् । निद्रा लागेको बेला सुत्दैनन् । यसरी उनीहरुको दिनचर्या नै लथालिंग हुन सक्छ ।

त्यसपछिका दिनमा उनीहरु सामान्य जीवनशैलीमा फर्कन सक्दैनन् । खाने, सुत्ने, उठ्ने, दिसापिसाब गर्ने टुंगो हुँदैन ।

विद्यालय जानु नपर्ने अवस्था भएकाले अभिभावकले पनि उनीहरुलाई धेरै कुरामा छुट दिइरहेका हुन सक्छ । बिहान अबेरसम्म सुत्ने, मध्यरातसम्म बस्ने, जुनसुकै बेला खाने । यसले उनीहरुमा खराब बानी बिकास हुनपुग्छ । भोलिका दिनमा त्यसबाट उनीहरुलाई मुत्त गराउनै गाह्रो हुनसक्छ ।

त्यसैले अहिले बालबालिकालाई सबैकुरा आफुखुसी गर्न छुट दिन उचित हुँदैन । आमाबुवाले उनीहरुका लागि निश्चित समय तालिकामा खान, बस्न, सुत्न, उठ्न अभ्यास गराउनुपर्छ ।
त्यसो त कतिपय बालबालिकाहरु एक्लो हुन्छन् । घरमा आमाबुवा भएपनि उनीहरुले बच्चासँग कुराकानी गर्ने, खेल्ने समय दिदैनन् वा झन्झट मान्छन् । यसरी घरभित्रै बच्चाहरु एक्लिएका छन् । त्यसैले अभिभावकले बालबच्चासँग संवाद गर्ने, खेल्ने, उनीहरुको रुचीका कुरा सुन्ने गर्नु जरुरी हुन्छ ।

सुत्ने र उठ्ने तालिका

बच्चाका लागि उठ्ने र सुत्ने तालिका निश्चित गरौं । सकेसम्म राती चाडै सुत्न दिनुपर्छ । बच्चाको सुत्ने समय ८ वा ९ घण्टा छुट्याउनुपर्छ । यस हिसाबले राती कतिबेला सुत्छ, त्यसको ८÷९ घण्टापछि बच्चालाई उठाउनुपर्छ । वा, उठ्ने बानी गराउनुपर्छ ।

सकेसम्म बच्चा सुत्ने समयमा परिवारका अरु सदस्यहरुले पनि सुत्ने तालिका तय गरौं । आफु टिभी हेर्ने वा कुराकानी गर्दै बस्ने र बच्चालाई चाहि जबरजस्ती सुनाउने प्रयास त्यती राम्रो नहुन सक्छ । त्यसैले बच्चाका लागि आफु पनि निर्धारित समय तालिका अनुसार सुत्ने र उठ्ने गरौं । यो बच्चाका लागि मात्र होइन, आफ्नो लागि पनि फाइदाको कुरा हो ।

खाने तालिका

बच्चालाई दिनमा चार वा पाँच पटक खानेकुरा ख्वाउनुपर्छ । यस हिसाबले समयको विभाजन गरौं, जसले गर्दा उनीहरुलाई अपच नहोस् र भोक पनि नलागोस् । अर्थात निश्चित समयअवधीमा खानेकुरा दिने गरौं । बिहान उठेपछि नास्ता, खाना, नास्ता फेरी खाना । यसरी खानेकुराको तालिका तय गरौं ।

यसले गर्दा बच्चाले निश्चित समयमा खाने गर्छन् । उनीहरुको स्वास्थ्यका लागि फाइदाजनक कुरा हो । साथसाथै यसले समय व्यवस्थापनमा पनि प्रभावकारी काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment