Comments Add Comment

अष्ट्रेलियामा भएका भान्जाको नाममा नेपालमा मिर्गौला प्रत्यारोपण

यसरी भयो चितवनमा अवैध मिर्गौला प्रत्यारोपण

अभियुक्तलाई हिरासततर्फ लैजाँदै ब्युरोका अधिकृतहरु ।

२८ असार, काठमाडौं । मानव अंग प्रत्यारोपणसम्बन्धी अध्ययन, अनुसन्धान र नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिने समितिकै पदाधिकारी अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको भेटिएको छ । अवैध मिर्गौला प्रत्यारोपणमा संलग्नता पुष्टि भएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले समितिका पूर्वअध्यक्ष तथा वर्तमान सदस्य डा. राकेशकुमार बर्मालाई पक्राउ गरेको छ ।

बर्माको नेतृत्वमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स, भरतपुरमा भएको अवैध प्रत्यारोपमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सबैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ म्याद थप गरेर अनुसन्धान थालिएको ब्युरोको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोहोराले अनलाइनखबरलाई बताए ।

चिकित्सक, प्रहरी, वकिल, जनप्रतिनिधि र प्रशासन कार्यालयका कर्मचारीको संलग्न एउटा हाई–प्रोफाइल अवैध मानव अंग प्रत्यारोपण गर्ने गिरोहको पटाक्षेप गरेको छ ।

सक्कली भाञ्जा अष्ट्रेलियामा, नक्कलीले दिए मिर्गौला

भक्तपुरका ५५ वर्षीय विष्णुगोपाल बतासको २७ जेठ २०७६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जा (कान्छी बहिनीको छोरा) ले मिर्गौला दिएको भनिएको थियो । ३ कात्तिक २०७६ मा नक्कली आफन्त खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भन्दै उजुरी पर्‍यो । ८ महिना लामो अनुसन्धानमा प्रहरीले नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गरिएको भेट्टाएको छ ।

कागज तयार गरिए अनुसारका भाञ्जा सन् २०१६ मै अष्ट्रेलिया गएको देखिन्छ । ‘अष्ट्रेलियामा भएको व्यक्तिको नाममा निकालिएको कागजलाई कीर्ते गरेर प्रत्यारोपणका लागि तेस्रो व्यक्ति तयार गरिएको देखिन्छ’, अनुसन्धान अधिकृतहरु भन्छन्, ‘उनलाई दुई/तीन लाखको प्रलोभन देखाइएको रहेछ ।’

एसएसपी बोहोरा

मिर्गौला दातालाई प्रहरीले पीडित भनेको छ । उनी सामान्य मजदुरी गर्ने २५ वर्षका युवक हुन् । ‘डा. बर्माको समूहले उनलाई प्रलोभनमा पारेर मिर्गौला दिन राजी गराएका रहेछन् । उनी पीडित भएकाले मुद्दा चलेन’, प्रहरी अधिकृतहरु भन्छन् ।

वडाध्यक्षदेखि प्रशासनसम्ममा सेटिङ

बतासको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारभित्र मिर्गौला दाताको खोजी भएको थियो । उनका दिदी, बहिनी लगायतका सदस्य मिर्गौला दिन तयार पनि थिए, तर चिकित्सकले प्राविधिक कारण देखाउँदै उनीहरुले मिर्गौला दिन नमिल्ने बताए ।

त्यसपछि अन्य मिर्गौला दाताको खोजी भयो । बतासका दिदी भक्तपुर–६ की जमुनाराज भण्डारीले चिनेजानेका व्यक्तिसँग हारगुहार गर्छिन् । त्यसक्रममा उनको भेट भोजपुर घर भइ जगाती बस्ने रेश्मा राई भयो, जसले सई प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियासँग भेट गराइन् । उनले प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनालसँग कुरा गरेर डा. बर्मासँग सेटिङ मिलाएको पाइएको छ ।

प्रहरीमा जागिरे खनाल र थपलिया दुवैले मिर्गौला प्रत्यारोपण गरिसकेका व्यक्ति थिए । थपलिया त यसअघि नै अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको अभियोगमा पक्राउ परेका थिए । दुबैले डा. बर्मासँग मिलेर अन्य व्यक्तिको पनि अवैध मिर्गौला प्रत्यारोपण गरेको हुनसक्ने अनुसन्धान अधिकृतको आशंका छ ।

बर्मा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक हुन् । तर पछिल्लो समय केन्द्रमा अवैध अंग प्रत्यारोपणका केही घटना सार्वजनिक भएपछि सतर्क बनेका उनले भक्तपुरमा प्रत्यारोपण नगर्ने बताए । बरु चितवनमा सेटिङ मिलाउने जिम्मा लिए ।

उनकै योजनामा मिर्गौला दिने र लिनेलाई चितवन लैजाने निर्णय भयो । २० जेठमा विरामी र दाता दुबै अस्पताल भर्ना गरिएको देखिन्छ । प्रत्यरोपणसम्बन्धी प्रोटोकल अनुरुप पहिले शारीरिक जाँच र कानूनी प्रक्रिया पुष्टि भएपछि मात्रै उनलाई भर्ना गरिनुपर्ने हो । तर, यो घटनामा भर्ना गरेर मात्र अन्य विषय जाँच्न थालिएको पाइएको प्रहरीले बताएको छ ।

उनलाई अस्पतालमा भर्ना गर्ने तयारी भइरहेका वेला परिवारका सदस्यले ललितपुर वडा नं. ३ मा बस्ने भाञ्जाको नाममा नाता प्रमाणीकरणको कागज निकालेको देखिन्छ । यो कागजात वडाध्यक्ष श्रीगोपाल महर्जनले तयार पारेका थिए ।

कागज अस्पताल लैजाँदा मिर्गौला दाता भान्जाको फोटो हटाएर तेस्रो व्यक्तिको राखिएको थियो । भान्जाको नागरिकतामा पनि फोटो परिवर्तन गरिएको थियो । फोटो फेरेपछि रंगिन फोटोकपी गरेर अस्पतालको अंग प्रत्यारोपण समिति समक्ष पेश गरिएको थियो ।

नाता प्रमाणिकरणको सक्कली पत्र र फोटो फेरिएपछिको पत्र ।

‘समितिले फोटोकपीको आधारमा निर्णय गर्नै पाउँदैन, सक्कली कागज हेर्नुपर्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘यहाँ त्यतिकै भरमा प्रत्यारोपण गर्ने काम भएको छ ।’ त्यसैले समितिमा संलग्न जिल्ला प्रशासन कार्यालय, चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, मेडिकल कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले, सञ्चालक अधिकृत डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण कालाखेती पक्राउ परेका हुन् ।

तर समितिका सदस्यहरुले अवैध प्रत्यारोपणको आरोपबाट बच्न २३ जेठ (प्रत्यारोपणको तीन दिनअघि) नाता प्रमाणित र नागरिकताको प्रतिलिपि सक्कली हो/होइन भनेर प्रशासन र ललितपुर–३ को वडा कार्यालयलाई पत्राचार गरेको देखिन्छ । वडाध्यक्ष महर्जनले नाता प्रमाणीकरण र जिप्रका ललितपुरका तत्कालीन खरिदार नवराज र कार्यालय सहायक रामकुमारले नागरिकता सक्कली नै हो भनेर प्रमाणीकरण गरिदिएका छन् । यद्यपि, पत्र प्रशासन कार्यालयसम्म पुगेको देखिँदैन ।

सक्कली भाञ्जाको नागरिकतामा तेस्रो व्यक्तिको फोटो राखेर प्रतिलिपि बनाइएको नागरिकता ।

अनुसन्धान अधिकृतले ललितपुरको प्रमुख जिल्ला अधिकारीसँग पत्रबारे जिज्ञासा राख्दा उनले पत्र नै नआएको बताएका थिए । बरु अक्षरका आधारमा नवराज र रामकुमारले प्रमाणिकरण गरेको खुलेको थियो ।

पछि छानविन भए बच्न सकिन्छ कि भनेर समितिले पत्र पठाएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ । ‘कानून अनुसार पनि उनीहरु प्रमाणीकरणका अख्तियार प्राप्त व्यक्ति होइनन् तर, बीचमै पत्र लुकाएर दुई जनाको सेटिङमा नक्कली प्रमाण पठाइएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी नायब उपरीक्षक (डीएसपी) ले अनलाइनखबरसँग भने, ‘यही जवाफ पठाएका कारण वडाध्यक्ष र प्रशासनका दुई कर्मचारी पक्राउ परेका हुन् ।’

यो पनि पढ्नुहोस अवैध मिर्गौला प्रत्यारोपण : नक्कली भाञ्जा खडा गर्न प्रहरीले लिए १० लाख

वडाध्यक्षलाई छाड्न प्रहरीलाई दबाब

ब्युरोले दिउँसो २ बजे यसमा संलग्न अभियुक्तलाई सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर करिब दुई घन्टा वित्दासम्म ब्युरो प्रमुख बोहोराले घटनाबारे केही खुलाएनन् । स्रोतका अनुसार वडाध्यक्ष महर्जनसहितका व्यक्तिलाई छाड्न शक्ति केन्द्रबाट दबाब आएकाले बोहोरा हच्किएका थिए ।

तर साँझ अदालतले १२ जनालाई नै म्याद गर्दै अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको छ । त्यसपछि उनले घटना विवरण दिए तर अभियुक्तहरुलाई सार्वजनिक गरेनन् ।

यसअघि ललितपुरको निदान अस्पतालमा पनि नक्कली भाञ्जा खडा गरेर अवैध मिर्गौला प्रत्यारोपण गरिएको आरोपमा ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment