Comments Add Comment

प्रदेश ५ का जिल्लामा खाली हुन थाले क्वारेन्टिन

संक्रमण दर ८ प्रतिशत, निको हुने दर ७३ प्रतिशत

२९ असार, बुटवल । वैशाखखदेखि मध्य जेठसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश ५ का क्वारेन्टिनहरु खाली हुँदै गएका छन् । जेठ तेस्रो साता ४० हजार रहेका क्वारेन्टिनमा अहिले पाँच हजार जना छन् ।

भारतबाट फर्कनेहरुको संख्या धेरै हुँदा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेको थियो । पहिलो पटक गत वैशाख १७ गते एकैदिन रुपन्देही र बाँकेमा संक्रमण देखिएको थियो ।

पहाडी जिल्लामा पनि संक्रमण दर घटेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी बताउँछन् । रोजगारी वा अरु कामले भारत गएकाहरु फर्कने क्रम घटेको र क्वारेन्टिन बसाई पूरा गर्नेहरु बढेकाले संक्रमण दर ८.६४ प्रतिशतमा झरेको उनले बताए ।

तराईका क्वारेन्टिनहरुमा बसेकाको संख्या घट्दै जाँदा पहाडी जिल्लाहरुमा संक्रमण देखिएको थियो ।

प्रदेश ५ मा हालसम्म ४८ हजार ०८९ जनाको पीसीआर टेष्ट गर्दा ३ हजार ९६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये ३ हजार २०६ जना निको भएर घर फर्केका छन् भने ७६७ जना उपचारमा छन् । कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा कोरोना संक्रमित निको हुने दर ८० प्रतिशत हाराहारी रहेको प्रवक्ता चौधरीले बताए । ‘भारतबाट फर्केकाबाहेक समुदायमा बसेका व्यक्तिमा कोरोना संक्रमण अपवाद केस मात्र छ’, उनले भने, ‘उनीहरुसंग सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण भएकाले अब संक्रमण नबढ्ने विश्वास छ ।’

जिल्लागत क्वारेन्टिनको अवस्था

प्रदेश जनस्वास्थ्य निर्देशनालयको आइतबार बिहानसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा अहिले पाँच हजार २५५ जना क्वारेन्टिनमा छन् । १२ जिल्लामध्ये सबैभन्दा धेरै गुल्मीका ३१५ क्वारेन्टिनमा सबभन्दा बढी ९१९ र रुकुम पूर्वका ३१ वटा क्वारेन्टिनमा सबभन्दा कम ५२ जना छन् ।

त्यसैगरी, बाँकेका ११२ क्वारेन्टिनमा १८१ जना, बर्दियाका १४६ क्वारेन्टिनमा ५३७ जना, कपिलवस्तुका १६३ क्वारेन्टिनमा २६५ जना, अर्घाखांचीका २१० क्वारेन्टिनमा ३६० जना छन् ।

रुपन्देहीका ५४ क्वारेन्टिनमा ६६५, पाल्पाका १९० क्वारेन्टिनमा ६१५, नवलपरासीका ५४ क्वारेन्टिनमा ३१६, दाङका २१३ क्वारेन्टिनमा ४५२, प्युठानका २२७ क्वारेन्टिनमा ५६१ र रोल्पाका ६७ क्वारेन्टिनमा ३३२ जना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वली क्वारेन्टिनमा बसेकाबाहेक समुदायमा संक्रमण नपुगेकाले चिन्ताजनक अवस्था नरहेको उनी बताउँछन् ।
अहिले पनि प्रयोगशालामा नमुना पुगेको २६ सय २ वटा स्वाबको रिपोर्ट आउन बाँकी छ ।

पछिल्लो समय क्वारेन्टिनमा रहेकाको संख्या घट्दै गएको र स्वाब संकलन थोरै हुन थालेकाले प्रयोगशालामा पनि चाप घटेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

‘अहिले प्रदेशभर दैनिक ३०० जति स्वाब संकलन हुने गरेको छ, पाँच वटा प्रयोगशालाका लागि यो धेरै कम हो’, उनले भने ।

प्रदेश ५ मा १३ जना मृतकमा कोरोना संक्रमण देखिए पनि कसैको पनि कोरोनाकै कारण मृत्यु नभएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीको दावी छ ।

‘कोरोना पोजेटिभ देखिएको भएपनि उहाँहरुमा अरु रोग थियो’, उनले भने, ‘अन्य दीर्घ रोग नलागेका सबै संक्रमित निको भएर फर्किनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment