Comments Add Comment

प्रधानमन्त्रीले कहाँबाट पाए अयोध्यापुरीको ‘दिव्यज्ञान’ ?

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तीको अवसरमा एउटा अप्रत्यासित अभिव्यक्ति दिए । झण्डै २५ वर्षसम्म चर्काे विवादपछि हिन्दुहरुको पक्षमा विवादित भूमि ल्याएको उत्तर प्रदेशस्थित रामको मन्दिर रहेको अयोध्या राम जन्मभूमि नभएर नेपालको ठोरीमा भएको प्रधानमन्त्रीले अभिव्यक्ति दिए ।

उनको यो अभिव्यक्ति धेरैका लागि अकल्पनीय किसिमको थियो । प्रधानमन्त्री ओलीको यो दाबीसँगै नेपाल र भारतमा तरंग आएको छ ।

के प्रधानमन्त्री ओलीले तथ्य र प्रमाणका आधारमा बोलेका हुन् ? धेरैले प्रधानमन्त्रीले अल्पज्ञानका आधारमा यस्तो अभिव्यक्ति दिएको आरोप लगाएका छन् । आखिर कसरी आयो त प्रधानमन्त्रीमा एकाएक आयोध्या नेपालमै रहेको तत्वज्ञान ?

प्रधानमन्त्री ओलीले यो विषय पहिलोपटक सार्वजनिक गरेका भने होइनन् । यसमा एउटा समूहले अभियानकै रुपमा काम गरिरहेको थियो । त्यो समूह भारतमा रहेको अयोध्यालाई नक्कली सावित गरेर चितवनको माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसमा नै श्रीरामको जन्म भएको कुरा प्रमाणित गर्न चाहन्थ्यो ।

त्यही समूहले अगाडि सारेका केही तर्कहरुलाई नै आधार मानेर प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको पाइएको छ ।

नेपालको माडीमा नै अयोध्या खोज्ने अभियानका प्रमुख अभियन्ता हुन् लोकमणि पौडेल । उनी काठमाडौंको गहनापोखरीमा आश्रम सञ्चालन गरेर बसेका प्रा.डा. मुकुन्दशरण उपाध्यायका छोरा हुन् । उनले अहिले यही विषयमा अध्ययन गरेर एउटा पुस्तक समेत प्रकाशन गर्ने तयारी गरिरहेका छन् । तिनै पौडेलले समय–समयमा केही लेखहरूमार्फत रामको जन्मभूमि नेपालमै रहेको दाबी गर्दै आएका थिए ।

यो अभियान केही वर्ष अघिदेखि नै सञ्चालन भइरहेको थियो । पौडेलको नेतृत्वमा केही व्यक्तिहरु यस अभियानमा लागेका थिए । पौडेलले केही ‘तथ्य’ हरू खोजेपछि यसलाई किताबको स्वरुप दिने तयारी गरिरहेका थिए । यसैबीचमा प्रधानमन्त्री ओलीले फ्याट्ट बोलिदिए ।

पौडेलका निकटस्थहरूका अनुसार उनले लेखेका केही आलेखहरू केही दिनअघि काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. निर्मलमणि अधिकारीमार्फत प्रधानमन्त्रीका एक सल्लाहकारसम्म पुगेको थियो ।

पछिल्लो समय भारतबारे उत्तेजक अभिव्यक्ति दिइरहेका ओलीले रामायणका नेपाली अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा लोकमणि पौडेलको अभिव्यक्ति आफ्नो मुखबाट सार्वजनिक गरे ।

यो पनि पढ्नुहोस परराष्ट्रको स्पष्टीकरण : अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन

बालुवाटार सूत्रका अनुसार सोमबारको प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा तानिएपछि मंगलबार बिहान पौडेल यस विषयमा कुराकानी गर्न बालुवाटार पुगेका थिए । रामको जन्मभूमि सक्कली अयोध्या नेपालमै पर्छ भन्ने विषयमा साथमा रहेका प्रमाणहरु लिई आउन पौडेललाई बालुवाटारबाट बोलावट भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने लोकमणि पौडेलसँग प्रधानमन्त्रीको चिनजान नभएको र उनको लेख पढेर नबोलेको बताए । उनले अघि भने, ‘उहाँलाई भेटका लागि बालुवाटार बोलाइएको पनि छैन ।’

के छ पौडेलको तर्क ?

लोकमणि पौडेलले केही स्रोतहरुका बारेमा आफ्नो लेखमा बुँदागत रुपमा उल्लेख गरेका छन्, जुन पुरातात्विक स्रोत नभई सबै साहित्यिक स्रोतमा उल्लेखित विषयहरूका आधारमा टिप्पणी मात्र गरिएको छ, जसलाई इतिहासले प्रमाणका रुपमा मान्यता दिन सक्दैन । यसमा अधिकांश तर्कहरु रामायणमै उल्लेखित विषयमा टेकिएको छ ।

पौडेलले दिएको सबैभन्दा ठूलो आधार अहिलेको वाल्मिकि आश्रम र अयोध्याबीचको दुरी हो ।

अयोध्या र वाल्मीकि आश्रमको बीचमा करिब ३०० किलोमिटरको दुरी छ । रामायणमा लक्ष्मणले सीतालाई वाल्मिकि आश्रममा छाडेर उही दिन फर्किएको भन्ने उल्लेख छ । लक्ष्मणले त्यतिबेला आउन–जान ६०० किलोमिटरको दुरीमा रहेको वाल्मीकि आश्रममा ल्याएर सीतालाई छाड्न सम्भव नभएको पौडेलको दाबी गर्छन् ।

अयोध्यापुरीबाट वाल्मीकि आश्रममा पुग्नका लागि केवल १७ किलोमिटरको दुरी रहेकाले रामको जन्मभूमि नेपालको यही अयोध्यापुरी नै हो भन्ने पौडेलको तर्क छ । सोमबार प्रधानमन्त्री ओलीले पौडेलको सोही तर्क सापट लिएको देखिन्छ । प्रधानमन्त्री ओलीले पनि भारतको अयोध्याबाट नेपालको वाल्मिकि आश्रमसम्म सीतालाई पु¥याएर उसै दिन फर्कन सम्भव नभएको तर्क गरेका छन् ।

पौडेलले रामको जन्मभूमि नेपालका रहेको दाबी गरेको अर्को तर्काधार भनेको रामायणमा लेखिएको अयोध्यापुरी हो । वाल्मिकीय रामायण अनुसार रामको जन्म अयोध्यापुरीमा भएको थियो । तर, भारतको अयोध्यालाई अयोध्यापुरी नभनेर केवल अयोध्यामात्रै भनिन्छ । त्यसैले यो अयोध्यापुरी नेपालको तत्कालीन अयोध्यापुरी गाविसमा भएको भन्ने पौडेलको तर्क छ ।

पौडेलले सीताको जन्मभूमि जनकपुरदेखि अयोध्यासम्मको दुरीको आधारमा समेत यसलाई विश्लेषण गरेका छन् । सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दुरी पाँच सय किलोमिटरभन्दा धेरै छ । रामायणमा एकै दिनमा रामको विवाहका लागि टोली जनकपुर आइपुगेको भन्ने उल्लेख छ । पाँच सय किमी टाढा रहेको वर्तमान अयोध्याबाट रथमा चढेर एकैदिन जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा नभएको पौडेलको तर्क छ । प्रधानमन्त्रीले पौडेलको लेखको सोही तर्कका आधारमा सोमबार घोषणा नै गरिदिए कि रामको जन्मभूमि नेपालै हो ।

रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लव–कुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णनलाई पनि पौडेलले आधार मानेका छन् । यो पनि यति टाढा रहेको अयोध्यामा सम्भव थिएन भन्ने उनको तर्क छ ।

त्यस्तै, पौडेलले स्याङ्जाको अन्धाअन्धी दह र आँधीखोलाको उल्लेख पनि रामायणमा भएको बताएका छन् । जुन अहिले स्याङ्जामा रहेकाले यसले पनि नेपालमै अयोध्या रहेको भन्ने तथ्यलाई पुष्टि गर्ने पौडेलले दाबी गरेका थिए । र, प्रधानमन्त्री ओलीले पौडेलको यही तर्कलाई सहारा लिएको पाइएको छ ।

यसका अतिरिक्त विश्वामित्रले कोशी नदी तरेको र राम–लक्ष्मणले धनुर्विद्या सिकेको प्रसंगलाई पनि पौडेलले रामचन्द्र नेपालमै जन्मेको आधारका रुपमा लिएका छन् । त्यस्तै, संस्कृतमा पर्वतलाई खियाएर बगेको नदी भन्ने अर्थ रहेको सरयु नदीको खोजी हुनुपर्ने, देवघाटसँगै मात्र नभएर माडीभन्दा केही दक्षिणतर्फ पनि रामनगर नामक गाउँ रहेको र त्यसका बारेमा महाभारतमा समेत उल्लेख भएको भन्दै यो पनि अयोध्या नेपालमै रहेको प्रमाणका रुपमा पौडेलले तर्क गर्दै आएका थिए ।

यी र यस्तै अप्रमाणिक तर्कहरु गरेर अभियान चलाइरहेका पौडेलका हरेक बुँदालाई टेकेर प्रधानमन्त्रीले ओली रामको जन्मभूमि नेपाल नै भएको घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीको बोलीमा लगाम आवश्यक

दुई वर्ष पहिल्यै शंका लागेको थियो : वामदेव गौतम

प्रधानमन्त्री ओलीले राम भगवानको जन्म नेपालमै भएको दाबी गर्न थालेको अहिलेदेखि होइन । नेकपाका उपाध्यक्ष वामदेव गौतमका अनुसार प्रधानमन्त्रीले दुई वर्ष पहिलेदेखि नै यस्तो दाबी गर्दै आएका थिए ।

‘आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो’ नेता गौतमले भनेका छन्, ‘मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामग्री उल्लेख गर्दै विनाअनुसन्धान, विना तथ्य–प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नुहुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।’

यो पनि पढ्नुहोस अयोध्याबारेको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्छ : बामदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment