३१ असार काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवालले आवेदन दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालय स्रोतले सिलवालले पनि आवेदन दिएको पुष्टि गरे । अहिलेसम्म सदस्य सचिव पदमा आवेदन दिनेको संख्या ११ पुगेको छ ।
नयाँ खेलकुद ऐन लागु भएपछि निवर्तमान सदस्य सचिवसहित राखेपका सदस्यहरु पदमुक्त भएका थिए । त्यसपछि नयाँ सदस्य सचिव नियुक्त गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाइएको थियो । उक्त समितिले सदस्य सचिवको लागि निवेदन दिन एक साताको सूचना सार्वजनिक गरेको थियो । उक्त म्याद सकिन एक दिन बाँकी छँदा सिलवालले पनि आवेदन दिएका हुन् ।
गत वर्ष असार २३ गते ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका सिलवाल नयाँ ऐन प्रचलनमा आएपछि पदमुक्त भएका थिए ।
अब छनोट समितिले प्राप्त दरखास्तहरुबाट तीन जनालाई छनोट गरेर मन्त्रालयमा पेश गर्ने छ । तीन जनामा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले पेश गरेको सूचीका अधारमा मन्त्रिपरिषदले सदस्य सचिवको नियुक्ति गर्नेछ ।
प्रतिक्रिया 4