Comments Add Comment

सार्वजनिक सवारीमा ई-टिकेटिङ सुरु गर्न गृहकार्य

१ साउन, काठमाडौं । बन्दाबन्दीपछि काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीमा ई-टिकेटिङ प्रयोगमा ल्याउने तयारी अन्तिम तयारीमा पुगेको छ ।

यसका लागि प्रयोगमा ल्याइने अटोमेटिक फेयर कलेक्सन (एएफसी) प्रणालीका बिषयमा शुक्रबार फिनटेक इन्टरनेशनलका प्रतिनिधिहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रस्तुति गरेका छन् ।

जनजीवनलाई सहज बनाउन सञ्चालन गरिने सार्वजनिक यातायातलाई सुरक्षित राख्न प्रविधिमा आधारित ई-टिकेटिङ सुरु गर्न लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए । यसका लागि निजी क्षेत्रले देखाएको उत्साहलाई महानगरले सकारात्मक रुपमा लिएको भन्दै उनले चाडै यो अभ्यास सुरु हुने बताए ।

अहिले सञ्चालनमा ल्याउन लागिएको प्रणालीलाई बैङ्कहरुले उपलब्ध गराउने एटिएम कार्डसँग जोड्न सके प्राबिधिक रुपमा सेवा बलियो हुने महानगरका सहसचिव राजेश्वर ज्ञवालीले बताए । एटिएममा एउटा चिप्स थपेर प्रणाली जोड्न सकिने उनले बताए । अन्तरराष्ट्रिय अभ्यास पनि यस्तै रहेको भन्दै उनले यो चाडै सुरु हुने उनले बताए ।

सार्वजनिक यातायातको टिकटलाई बिद्युतीय बनाएपछि बालबालिका, बिद्यार्थी, जेष्ठनागरिकलगायत कुन बर्गका मानिस यात्रा गर्छन्? कुन समयमा र कुन ठाउँमा यात्रुको बढी चाप छ । सूचना प्राप्त हुन्छ । त्यस्तै हरेक यात्रुले तिरेको रकम सिधा बैङ्क खातामा जम्मा हुन्छ । त्यस्तै संकलित रकम हरेक दिन बेलुका स्वचालित प्रणालीबाट जसको भागमा जानु पर्ने हो । यसको बैङ्क खातामा जम्मा हुन्छ ।

यो प्रणालीलाई फिनटेकले भारतको बैङ्लोरस्थित ओम इन्फोटेकसँग प्राबिधिक साझेदारिता गरेको छ । फिनटेकका महाप्रबन्धक हेमन्त अग्रवालकाअनुसार सार्वजनिक सवारी चल्ने अवस्था आउनासाथ काठमाडौंको चक्रपथसहित ५ वटा मुख्य रुटमा चल्ने ३०० वटा बसमा प्रणाली परीक्षण गरिनेछ । उहाँकाअनुसार काठमाडौंका बिभिन्न रुटमा चल्ने १८ वटा बस कम्पनीसँग सम्झौता भइसकेको छ । ती कम्पनीसँग करीब १२ सय बस छन् ।

प्रणाली सञ्चालन गर्न महानगरले साझेदारहरुसँग समन्वय गरिरहेको छ । सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर भन्छन,’भुक्तानी प्रणालीका लागि राष्ट्र बैङ्क, सवारी साधनमा प्रणाली जडान गर्न यातायात व्यवस्था बिभाग, नियमन र अनगुमन गर्न ट्राफिक प्रहरी, वुथ राख्ने ठाउँ र नागरिकको सेवा व्यवस्थापन गर्न काठमाडौं महानगरको अनुमति चाहिन्छ ।’ यी सवै कार्यालयहरुसँग महानगरले समन्वय गरिरहेको उनको भनाइ छ ।

कसरी सञ्चालन हुन्छ भाडा भुक्तानी ?

यो प्रणाली बसमा जडान हुनेछ । बसमा चढ्दा र उत्रँदा यात्रुसँग भएको कार्ड ट्याब गर्दा स्वतः उसको यात्रा दुरी कायम भएर यातायात व्यवस्था बिभागले तोकेको भाडा काटिन्छ । यदि कसैसँग कार्ड छैन भने सहचालकसँग कार्ड लिन सकिने प्रवन्ध मिलाइने छ । कार्ड लिन नचाहने यात्रुलाई सहचालकसँग भएको मेसिनबाट बिद्युतीय टिकट जारी गरेर भाडा लिइन्छ ।

बस रुटमा राखिने बुथबाट कार्ड निःशुल्क रिचार्ज गर्न सकिन्छ । कार्डमा बढीमा ५ सय रुपैयाँ रिचार्ज गर्न सकिनेछ । त्यस्तै बसभित्र रहेको मेसिन बैङ्क र मोवाईल एप्लिकेसनबाट पनि कार्ड रिचार्ज गर्न सकिन्छ । प्रणालीमा संकलन भएको रकम हरेक दिन साँझ स्वतः ब्यवसायीहरुको बैक खातामा जम्मा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment