Comments Add Comment

फेसबुक मेसेन्जरमा स्क्रिन शेयरिङ फिचर, अब साथीको मोबाइल स्क्रिन देख्न सकिने

काठमाडौं । दिनहुँ लाखौँ मानिसले सोसल मिडिया साइट फेसबुकको मेसेन्जर सर्भिस प्रयोग गर्दछन् । गत अप्रिल महिनामा फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ६० करोड थियो । प्रयोगकर्ताहरुका लागि फेसबुकले लगातार नयाँ–नयाँ अपडेट ल्याउने गरेको छ । र, पछिल्लोपटक फेसबुकले आफ्नो मेसेन्जर एपमा एक महत्वपूर्ण फिचर थप गरेको छ । फेसबुक मेसेन्जरमा अब स्क्रिन शेयरिङ फिचर थपिएको छ ।

फेसबुकका अनुसार मेसेन्जर एपका एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताका लागि स्क्रिन शेयरिङको अप्सन प्राप्त गर्नेछन् । अहिलेसम्म यो फिचर केवल मेसेन्जरको वेब भर्सनमा मात्रै उपलब्ध थियो जुन अब एप भर्सनमा समेत रोलआउट भएको हो ।

फेसबुकका अनुसार फेसबुकको भिडियो कन्फ्रेन्सिङ सर्भिस ‘मेसेन्जर रुम्स’ मा पनि यो फिचर उपलब्ध हुनेछ । यसबाट मेसेन्जर रुम्सले माइक्रोसफ्ट टिम्स र जूमलाई टक्कर दिनसक्ने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वमा भिडियो कन्फ्रेन्सिङ लगायतका भर्चुअल मिटिङहरुको बढ्दो प्रयोगसँगै त्यस्ता डिजिटल प्लाटफर्महरुमा स्क्रिन शेयरिङ फिचरको अत्यावश्यक बनिसकेको छ । कुनै अफिसियल प्रिजेन्टेसन शेयर गर्नेदेखि लिएर शिक्षकहरुका लागि कुनै भिडियो वा भर्चुअल पठनपाठनका क्रममा समेत स्क्रिन शेयरिङ आवश्यक हुने गर्दछ । नयाँ फिचरको सहयोगले अब प्रयोगकर्ताले आफ्नो फोनको स्क्रिनलाई मेसेन्जरका जोकोहीसँग शेयर गर्न सक्नेछन् । नयाँ अपडेटसँगै यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

मेसेन्जर एपमा यो नयाँ फिचर वन–टु–वन भिडियो कलका साथै आठजनासम्मको ग्रुप भिडियो कलिङका क्रममा पनि प्रयोग गर्न सकिनेछ । यसका लागि प्रयोगकर्ताले मेसेन्जर एपमा लगइन गरेर एप खोलेसँगै कसैलाई भिडियो कल गर्नुपर्ने हुन्छ । कल जोडिएसँगै स्क्रिनको पिँधमा रहेको ट्याबमा शेयर योर स्क्रिन नामक अप्सन देखिनेछ । त्यसमा ट्याप गरेपछि तपाईंसँग भिडियो कलमा जोडिएको मेसेन्जर प्रयोगकर्ताले तपाईंको स्मार्टफोनको स्क्रिन देख्न सक्नेछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment