Comments Add Comment

भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना, अब कसरी होला नियन्त्रण ?

फाइल तस्वीर

५ साउन, काठमाडौं । इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ ।

आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा. वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि धेरै नयाँ संक्रमित भेटिन थालेका छन् ।

मोङ्गाले भने, ‘मुलुकको लागि यो निकै खराब अवस्था हो । यससँगै जोडिएका धेरै पाटाहरु छन् तर अब यो ग्रामीण क्षेत्रमा फैलिरहेको छ । यो निकै खराब संकेत हो ।’

मोङ्गाले ग्रामीण क्षेत्रमा कोरोना भाइरस नियन्त्रण सरकारको लागि निकै चुनौतीपूर्ण हुन सक्ने चेतावनी पनि दिएका छन् । उनले भने, ‘हामी दिल्लीमा त कोरोना भाइरसको रोकथाम गर्न सक्षम छौँ तर महाराष्ट्र, केरल, गोवा र मध्य प्रदेशका सुदूर हिस्सामा के हुन्छ ? राज्य सरकारले केन्द्र सरकारसँग मिलेर स्वास्थ्य संकट गहिरिनबाट रोक्नु जरुरी छ ।’

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने भारतमा कोरोना भाइरसको कम्युनिटी ट्रान्समिसन नभएको बताउँदै आएको छ । केरलका मुख्यमन्त्री पिनरई विजयनले शुक्रबार निरुवनन्तपुरमको केही क्षेत्रमा कम्युनिटी ट्रान्समिसनको शुरुवात भइसकेको बताएका छन् । शनिबार निरुवनन्तपुरमलाई संक्रमण फैलिएको तीन क्षेत्रमा छुट्याएको छ र १० दिनसम्म लकडाउन गरिएको छ ।

मोङ्गाले अब हर्ड इम्युनिटी वा खोप मात्र विकल्प भएको बताएका छन् । खोपको लागि अझै लामो समयसम्म कुर्नुपर्ने विशेषज्ञहरुले बताएका छन् । त्यसैले अहिले एकपटक संक्रमित भइसकेका मानिसमा देखिएको प्रतिरोधी क्षमता (एन्टबडी) कति लामो समयसम्म रहन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुने बताइएको छ । यो क्षमता ६० देखि ७० प्रतिशत मानिसमा विकास भएको खण्डमा त्यसलाई हर्ड इम्युनिटी भनिन्छ र यो अवस्थामा रोगलाई नियन्त्रणमा लिन सकिन्छ । तर, अहिले तीन महिनाभन्दा लामो समयसम्म विकास भएको एन्टिबडी बसेको भेटिएको छैन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment