Comments Add Comment

बाढीले प्रदेश २ का ६९ परिवार विस्थापित, २ जना बेपत्ता

६ साउन, जनकपुरधाम । बाढीका कारण प्रदेश २ को विभिन्न जिल्लाका ६९ परिवार विस्थापित भएका छन् ।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका– ५ मा लखनदेही खोलामा बाढी बस्तीमा पस्दा २७ परिवार विस्थापित भएका छन् । सर्लाहीकै लालबन्दी नगरपालिका–४ स्थित जर्वा खोलाको बाढीले १ घर, चक्रमटा गाउँपालिका– ५ ढेग्रा खोलाले १८ परिवारलाई विस्थापित गरेको छ ।

रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित झाज खोलामा आएको पानीले २३ घर विस्थापित भएको प्रदेश प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार घरमा पानी पसेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् ।

कोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ र ९ का १ सय ५० परिवारको घरमा पानी पसेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

दुई जना वेपत्ता

बाढीका कारण महोत्तरी र सर्लाहीमा १/१ जना नदीमा बगेर वेपत्ता भएका छन् ।

रौतहटको चाँदी नदीमा बगेर चन्द्रपुर नगरपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय सुकमानी थिङ बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनलाई मंगलबार बिहान बगाएको छ ।

यस्तै, महोत्तरीमा रातु नदी पार गर्न खोज्दा एक युवक बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महोत्तरीकै भंगहा नगरपालिका ६ संग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापर छन् ।

साइकलसहित नदी पार गर्न खोज्दा उनी बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment