Comments Add Comment

सैनामैनामा १० हजार चिउरीका बिरुवा रोपियो

६ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले पर्रोहा सामुदायिक वनमा दश हजार चिउरीका बिरुवा रोपेको छ । चुरे क्षेत्र संरक्षण, बनस्पति घ्यूको उत्पादन र मौरीको चरण क्षेत्रका लागि रुपन्देहीमै पहिलोपटक ठूलो मात्रामा चिउरीका बिरुवा रोपिएको हो ।

सैनामैनाको वडा नंं ३ र ५ मा पर्ने पर्रोहा सामुदायिक वनमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८औं स्मृति दिवसको अवसर पारेर नगरपालिकाले वृहत वृक्षारोपण गरेको हो ।

वृक्षारोपण गर्न दुई हजार बढी नगरवासीको उपस्थितिमा औपचारिक कार्यक्रम नै आयोजना गरिएको थियो ।

नगरपालिकाले पुष्पलाल श्रेष्ठको स्मृतिमा बुधबार मलमला सामुदायिक वनमा दश हजार चिउरीकै बिरुवा रोप्ने भएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा नगरपालिकाले दुई स्वर्गीय नेताको स्मृतिमा बीस हजार चिउरीका बिरुवा रोप्न थालेको हो ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति एवम् रुपन्देही ५ का सांसद भरतकुमार शाहले फरक दलका संस्थापक नेताको स्मृतिमा वृहतस्तरको वृक्षारोपण कार्यक्रम गरेर सैनामैना नगरपालिकाले अनुकरणीय काम देखाएको भन्दै सराहना गरे ।

चिउरीका बिरुवाको रोपणले वातावरण संरक्षणसँगै स्थानीयको आय आर्जनमा टेवा पुग्ने भएकाले बिरुवाको संरक्षणमा ध्यान दिन नगरपालिकालाई सुझाए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले वातावरण संरक्षण र स्थानीयको आय आर्जनसँग जोडेर वृक्षारोपणलाई प्राथमिकता दिएको स्पष्ट पार्दै रोपिएका मध्ये ७० प्रतिशत बिरुवा संरक्षण गर्ने गरी बजेट र कर्मचारी व्यवस्थापन गरिने बताए ।

सैनामैना नगरपालिकाले गत वर्ष चुरे क्षेत्रमा ७ हजार चिउरीको बिरुवा रोपेको थियो । यस्तै नगरपालिकाले आउंदो हिउँदमा ५० हजार मौंवाको बिरुवा रोप्ने लक्ष्य लिएको वातावरण शाखा प्रमुख जोखराज घिमिरेले बताए ।

बिरुवाको संरक्षणको लागि नगरपालिकाले तारबार गर्न गत आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट छुट्टाएर काम सुरु गरेको घिमिरेले बताए ।

चालु आर्थिक वर्षमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट ६० लाख र नगरपालिकाले ४० लाख बजेट छुट्याएको नगरपालिकाका सुचना अधिकारी केशव अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment