Comments Add Comment

लिभरपुलले उचाल्यो प्रिमियर लिगको ट्रफी

८ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो ।

उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि भने लिभरपुलको यो पहिलो उपाधि हो ।

लिभरपुलका कप्तान जेण्डर हेण्डरसनले प्रिमियर लिगको उपाधि उचाल्ने मौका पाएका हुन् ।

घरेलु मदानमा भएको खेलमा लिभरपुलका लागि खेलको २३औं मिनेटमा नेबी केइटाले गोल गर्दै अग्रता दिलाएका थिए । ३८औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड र ४३औं मिनेटमा जर्जिनिओ विजनाल्डमले गोल गरेपछि लिभरपुलले ३-० को अग्रता बनायो । पहिलो हाफको इन्जुरी टाइममा चेल्सीका ओलिभर जिरुडले गोल गर्दै लण्डन क्लबलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर ५५औ मिनेटमा रोवर्टो फिर्मिनोले गोल गर्दै लिभरपुको अग्रता ४-१ बनाए । त्यसपछि चेल्सीले लगातार दुई गोल फर्काउदा खेल रोमाञ्च बनेको थियो । ६१औं मिनेटमा टमी अब्राहम र ७३औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै खेलसीलाई खेलमा फर्काएका थिए । ८४औं मिनेटमा एलेक्स च्याम्बरलेइनले गोल गर्दै लिभरपुललाई ५-३ को जित दिलाए ।

लिभरपुलले जितपछि ३७ खेलबाट ९६ अंक जोडेको छ । पराजित चेल्सी चौथो स्थानमा झरेको छ र अर्को खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामसँग १-१ को बराबरी खेल्दै चेल्सीसँग अंक बराबरी गरेको छ । मिचेक एन्टोनिओले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए तर ५१ औँ मिनेटमा मासोन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

३७ खेलबाट समान ६३ अंक जोडेपनि गोलअन्तरमा युनाइटेड अगाडि रहेको हो । दुई खेलको नतिजापछि शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने समीकरण रोचक बनेको छ । ३७ खेलबाट ६२ अंक जोडेको लेस्टर सिटी पाँचौ स्थानमा छ । अब युनाइटेड चेल्सी र लेस्टरमध्ये दुई टिम अर्को सिजन च्याम्पियन्स लिगमा पुग्नेछ । अन्तिम चरणको खेलबाट यसको टुङ्गो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment