Comments Add Comment
प्रहरी अनुसन्धानको अन्तरकथा :

जब हत्यारा डीआईजीप्रति साथीको चित्त पग्लिएन…

रञ्जनले भनेका थिए– ‘हो, मैले हत्या गरेको हुँ

८ साउन, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सदरखोर डिल्लीबजारबाट निस्किए

प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले पूर्वनिर्धारित जन्मकैदको सजाय ‘चर्को पर्न गएको आफ्नो चित्तमा लागेको’ भन्दै सजाय छुट दिएपछि कोइरालाको जेल अवधि छोट्टिएको हो ।

जघन्य अपराधमा नगण्य कारण देखाएर सजाय छोट्याइएको भन्दै सर्वोच्चको यो फैसला विवादमा परिरहेको छ । त्यसबेला ‘चुनौतिपूर्ण’ परिस्थितिबीच कठिन अनुसन्धान गरेर रञ्जनलाई जेल पठाउने तत्कालिन एसएसपी राजेन्द्र श्रेष्ठचाहिँ अहिले के सोचिरहेका होलान् ?

अनलाइनखबरसँग संक्षिप्त कुराकानीमा श्रेष्ठले अदालतले दिएको सजाय छुटका विषयमा आफूले टिप्पणी गर्न नमिल्ने बताए ।

‘प्रहरीको पार्ट भनेको कुनै पनि अपराधको अनुसन्धान गरेर त्यसको प्रोफाइल बनाई अदालतमा पेश गर्ने हो । हाम्रो कामको लास्ट प्वाइन्ट नै त्यही हो’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसपछिको सबै जिम्मेवारी अदालतमा निहीत हुन्छ । फैसलामा हाम्रो चासो त हुन्छ, तर टिप्पणी गर्ने अधिकार हुँदैन । त्यसैले यो फैसलमा मेरो कुनै टिप्पणी छैन ।’

त्यसबेला प्रहरीले गरेको अनुसन्धानमा रञ्जनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको थियो । जिल्ला अदालत काठमाडौंले पनि सोही निस्कर्षका आधारमा कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साबिक पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो ।

तर, अहिले सर्वोच्चले गरेको फैसला भने फरक छ । सर्वोच्चको फैसलामा रञ्जनले परिस्थितिजन्य कारणले रीस र आवेशमा आएर हत्या गरेको उल्लेख गरिएको छ । साथै, ‘मृतककै कारण र जरियाबाट प्रतिवादी आवेशमा आई उठेको रीसले गर्दा घटना भएको’ सर्वोच्चको फैसलामा उल्लेख छ ।

यस विषयमा प्रश्न गर्दा श्रेष्ठले घुमाउरो जवाफ दिँदै भने, ‘घटना के हो, हामीले कस्तो अनुसन्धान गरेका थियौं, भन्ने त डकुमेन्ट नै बोलिरहेको छ, मैले बोलिरहनै पर्दैन ।’

करिब नौ वर्ष अगाडि भएको यो बिभत्स घटनाको अनुसन्धान श्रेष्ठका निम्ति दुई कारणले अविस्मरणीय छ । एक त त्यसबेलाको बहालवाला डीइआइजीजस्तो हाइप्रोफाइल व्यक्ति मुछिएको केस, अर्को मुख्य अभियुक्त स्वयं उनका ‘लगौंटिया दोस्त’ ।

तर, चरम दबावको स्थितिमा आफ्नै निकट मित्रमाथि निष्पक्ष अनुसन्धान गरेर उनले आफ्नो कर्तव्य निभाए । राजेन्द्र र रञ्जन ‘ब्याजी’ पनि हुन् ।

राजेन्द्रसँग यस पंक्तिकारले करिब ४ वर्ष अगाडि उक्त हत्याकाण्डको अनुसन्धानका विषयमा लामो कुराकानी गरेको थियो । त्यसबेला उनले भनेका थिए, ‘आफ्नै साथीमाथि लागेको जघन्य अभियोगको अनुसन्धान गर्दा म करिब १५ रात झिमिक्कै निदाउन सकिनँ ।’

अनुसन्धानको कथा

२०६८ साल पुस २९ गते रञ्जनले आफ्नी श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर प्रहरी परिसर काठमाडौंमा माइतीका तर्फबाट उजुरी पर्‍यो । त्यसबेला परिसरका प्रमुख थिए, एसएसपी राजेन्द्र ।

राजेन्द्र श्रेष्ठ

राजेन्द्र र रञ्जन कलेज पढ्दादेखिका साथी हुन् । रञ्जन मीनभवन क्याम्पसमा पढ्थे भने राजेन्द्र त्रिचन्द्रमा । क्याम्पस फरक भए पनि उनीहरुको समूह एउटै थियो । २०४६ सालमा प्रहरी निरीक्षकमा आवेदन खुल्दा उनीहरुले एक साथ फारम भरे । ५ जनाको नाम निस्किँदा त्यसमा उनीहरु दुवै छानिए ।

नाम निस्केपछि तालिम सुरु भयो । त्यतिबेला प्रहरी तालिम केन्द्र त्यहीँ थियो, जसलाई अहिले पुलिस एकेडेमी भनिन्छ । तालिममा सहभागी ३६ जनामध्ये उनीहरु आपसमा निकै घनिष्ठ भए । उनीहरुको धेरै कुरा मिल्थ्यो । त्यसबेला राजेन्द्रले कल्पना पनि गरेका थिएनन्, कुनै दिन रञ्जनको हातमा आफैंले हत्कडी लगाउनुपर्ला भन्ने ।

तालिमपछि राजेन्द्रको पोस्टिङ पोखरामा भयो । रञ्जन प्रहरी एकेडेमीमै रहे । त्यसपछि उनीहरु भौतिकरुपमा टाढिए । पछि सशस्त्र प्रहरी संगठन स्थापना भएपछि रञ्जन डीएसपी भएर सशस्त्रतिर गए । २२ वर्षपछि उनीहरु फेरि आमने–सामने भए, तर एकदमै भिन्न स्थितिमा । राजेन्द्र एक अनुसन्धान अधिकृत र रञ्जन एक हत्या आरोपीका रुपमा ।

जब रञ्जनविरुद्ध अपहरणको उजुरी आयो, स्वभावतः राजेन्द्रको भित्री आकांक्षा थियो कि रञ्जन निर्दोष होउन् । यसअघि उनले रञ्जनमा अपराधिक प्रवृत्ति देखेका पनि थिएनन् । साथै, उजुरीकर्ताहरुसँग ठोस प्रमाण पनि थिएन । तर, उनीहरु रञ्जनलाई तत्काल पक्राउ गर्न दबाव दिइरहेका थिए ।

उजूरीकै भरमा कुनै स्पष्ट आधारबिना प्रहरीले आरोपीलाई पक्राउ गरिहाल्न सक्दैन । तर, मिडियाले चाहिँ आफ्नो साथी भएकाले रञ्जनलाई राजेन्द्रले जोगाउन खोजेको भनेर लेख्न थाले । तर, पनि उनी विचलित भएनन् । तीन पटकसम्म राजेन्द्रले आफ्नै कार्यकक्षमा दुवै पक्षलाई बोलाएर छलफल गराए । रञ्जनले आफूमाथि लागेको आरोप ठाडै अस्वीकार गरे ।

सबै प्रमाणहरु जुटाइसकेपछि रञ्जनले नै हत्या गरेको हो भन्ने निश्कर्षमा प्रहरी पुग्यो । रञ्जनले पनि अन्ततः प्रहरीसामु अपराध कबुल गर्न वाध्य भए । अपराध कबुल गर्दा राजेन्द्रसँग रञ्जनले भनेका थिए, ‘हो, मैले गरेको हुँ । अब म सकिएँ ।’

त्यसबेला रञ्जनले भनेका थिए, ‘श्रीमतीको मसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्थी, कतै गई होली ।’ तर, माइती पक्षलाई भने उनैले अपहरण गरेको विश्वास थियो । आखिर उनले अपहरण हैन, हत्या नै गरिसकेका रहेछन् ।

रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै सुमधुर नरहेको बारे राजेन्द्र पनि बेखबर थिएनन् । कानूनीरुपमा डिभोर्स भइनसके पनि उनीहरु छुट्टिएर बस्थे । रञ्जनले अर्कै महिलालाई गैरकानूनी श्रीमती बनाइसकेका थिए । त्यसैले राजेन्द्रलाई पनि कतै रञ्जनले श्रीमतीलाई अपहरण गरेर कतै लुकाएको छ कि भन्ने पर्‍यो । हत्या नै गरेको चाहिँ उनले सोचेका थिएनन् ।

रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण थिएन । त्यसैले सुरुमा प्रमाण जुटाउन केन्द्रित भए राजेन्द्र ।

गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको तथ्य फेला पर्‍यो । त्यसपछि उनले रञ्जनका हरेक गतिविधिमाथि निगरानी राख्न लगाए ।

राजेन्द्र भन्छन्, ‘नयाँ अपराधीको एउटा साइकोलोजी हुन्छ,, ऊ अपराध गरेको स्थानमा कुनै प्रमाण छुटेका छन् कि भनेर चेक गर्न दोस्रोपटक जाने सम्भावना धेरै हुन्छ । रञ्जनको हकमा पनि यस्तै भयो ।’

यसैबीच, पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले भेट्टाएको खबर प्रहरीमा आयो । उनीहरुले सडकबाट २० मिटरभित्र जंगलमा उक्त शव फेला पारेका थिए । आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थाले ।

रञ्जन घटनास्थलमा दोस्रोपटक पुगे । उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे । तर, आफू सशस्त्रको डीआइजी भनेर उनी उम्कन सफल भए । तर, त्यहाँबाट फर्किने क्रममा नागढुंगामा काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

पालुङमा भेटिएको शवको अवशेषमाथि अनुसन्धान गरियो । हातको घडी सद्दे नै थियो । गीताकी आमालाई लगेर त्यो घडी देखाउँदा उनले छोरीकै भएको पुष्टि गरिन् । उक्त शवको डीएनए टेस्ट पनि गरियो । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि डीएनए टेस्टको सहारा लिएको त्यो सम्भवतः यो पहिलो घटना थियो । डीएनए टेस्टबाट पनि उक्त शव गीताकै हो भन्ने पुष्टि भएपछि प्रहरीको अनुसन्धानले लय समात्यो ।

सुरुमा रञ्जनले अपराध स्वीकार गरेका थिएनन् । नेपालको कानूनमा कुनै पनि आरोपीलाई मौन बस्ने हक प्रत्याभूति गरिएको छ । उसले जवाफ दिन्न वा बोल्दिनँ भन्न पाउँछ । रञ्जनले त्यही ‘हतियार’ प्रयोग गरे । यतिबेलासम्म पनि पत्रपत्रिकाले यो घटनाको सही अनुसन्धान नभएको भनेर राजेन्द्रलाई निशाना बनाइरहेका थिए । तथापि उनले मिडियाको ‘ट्रायल’मा भन्दा कानूनका दफाहरुमा टेकेर अनुसन्धान अगाडि बढाउँदै लगे ।

राजेन्द्रले रञ्जनका बडीगार्ड, ड्राइभरदेखि घरेलु कामदारसम्मको वयान लिए । श्रीमती गीता बस्ने घरमा व्यापक खोजतलास गरियो । श्रीमान–श्रीमती छुट्टिएर बस्न थालेको लामो समय भइसकेको थियो । रञ्जन अर्की युवतीसित लिभिङ टुगेदरमा थिए । ती महिलाको पनि वयान लिइयो ।

सबै प्रमाणहरु जुटाइसकेपछि रञ्जनले नै हत्या गरेको हो भन्ने निश्कर्षमा प्रहरी पुग्यो । रञ्जनले पनि अन्ततः प्रहरीसामु अपराध कबुल गर्न वाध्य भए । अपराध कबुल गर्दा राजेन्द्रसँग रञ्जनले भनेका थिए, ‘हो, मैले गरेको हुँ । अब म सकिएँ ।’

प्रहरीको अनुसन्धानबाट रञ्जनले आफ्नै घरमा गीताको हत्या गरेको देखिएको थियो । सम्भवतः सिरानी वा कपडाले घाँटी थिचेर मारिएको प्रहरीको निस्कर्ष छ । हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्‍याइएको थियो । रञ्जनले पेट्रोलसमेत घरबाटै लिएर गएका थिए । राति जंगल छेउमा गाडी रोकेर लास जलाएपछि पूर्णरुपमा जलिनसक्दै उनी फर्किएको अनुसन्धानले देखाएको थियो ।

सबै प्रमाण जुटाइसकेपछि प्रहरीले अदालतमा मुद्दा दायर गर्‍यो । काठमाडौं जिल्ला अदालतले उनलाई सर्वश्वसहित जन्मकैद सुनायो । उनकी प्रेमिकालाई एक वर्षको सजाय तोकियो ।

रञ्जन र गीताको सम्बन्ध

पोखराका रञ्जन र काठमाडौंकी गीता ढकालबीच ०५० जेठ ३१ गते मागी बिहे भएको थियो । बिहेको केही समय उनीहरुको सम्वन्ध राम्रै चल्यो । तर, परस्त्रीसँग हुरुक्क हुने रञ्जनको स्वाभावले गर्दा सम्वन्धमा दरार आउन थाल्यो । यसबीचमा उनीहरुका दुई छोरा जन्मिए ।

०५७ सालतिर रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन् । त्यसपछि उनीहरु सँगै बस्ने अवस्था रहेन । गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन् । रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे । एउटा छोरा बुवासँग र एउटा आमासित बस्थे ।

यसैबीच उनीहरुबीच सम्पत्तिको झगडा सुरु भयो । गीताले ०६८, मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन् । अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो । सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेको प्रहरीको अनुमान छ । हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइएको थियो ।

अदालतले ०७१ वैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । उनकी प्रेमिकालाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजाय सुनाइएको थियो । मन्त्रिपरिषदले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त गर्‍यो ।

के थियो रञ्जनको वयान ?

प्रहरीसँग सुरुमा आफूले घटना गराएको अस्वीकार गरेका रञ्जनलाई अन्तत राजेन्द्रले गलाए । प्रहरीसँग पछिल्लो बयानमा उनले गीताको हत्या गरेको स्वीकारेका छन् । तर, अदालतमा भने उनले वयान फेरेका थिए ।

प्रहरीलाई रञ्जनले दिएको वयान यस्तो थियो :

‘हाम्रो विवाह राजीखुशीले नभई बुवाआमाको करकापमा भएको हो । श्रीमतीले मलाई पुलिस मनै पर्दैन भनेर खटपट भएकाले १० वर्षदेखि अलग–अलग बस्न थालेका हौं ।

म चीनको नेसनल डिफेन्स कोर्सका लागि २०६८ साल भाद्रमा बेइजिङमा गएर पुस २१ गते नेपाल फर्केको थिएँ । फर्केपछि श्रीमतीसँग फोन वा भेटघाट भएको थिएन । पुस २७ गते बिहान ७ः३० बजेतिर गीताको मोबाइलबाट कान्छो छोराले फोन गरेर मलाई लिन आउनू भन्यो । उसलाई लिनका लागि म, जेठो छोरा र चालक रामकुमार गुरुङसहित तीन जना गीता बस्दै आएको घरमा गयौं र १० बजेतिर लिएर आयौं । त्यसबेला गीतासँग भेट भए पनि गफगाफ भएको थिएन ।

त्यहाँबाट फर्केर मैले दुबै छोरालाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेँ । आफूचाहिँ सपिङ गर्न भाटभटेनी सुपरमार्केटमा गएँ । त्यहाँ सपिङ गर्दागर्दै गीताले फोन गरी सल्लाह गर्नु छ, तुरुन्त घरमा आउनू भनिन् । म पनि केही जरुरी काम होला भनी अपरान्ह १२ बजेतिर घर पुगेँ । म घरमा पुग्दा गीता भर्‍याङ चढ्ने ठाउँनेर घाम तापेर बसिरहेकी थिइन् ।

भेट हुनासाथ गीताले मलाई व्यापार गर्नका लागि इन्डिया जानुपर्ने भयो भनेर चार–पाँच लाख रुपैयाँ मागिन् । मैले पैसा छैन भनेर घरबाट निस्केर बाहिर जान खोज्दा गीताले मलाई रोकिन् । उनले मेरो ज्याकेट समातेर तान्दै विभिन्न गालीगलौज गर्न थालिन् । तानातानकै क्रममा हात हालाहाल भयो । यसैबीचमा म भर्‍याङ चढी गीता सुत्ने कोठामा गएँ । उनी गालीगलौज गर्दै सोही कोठामा आई झगडा गर्न थालिन् । सो कोठामा पनि हामीबीच हात हालाहाल र धकेलाधकेल भयो ।

हातपातकै क्रममा मैले गीतालाई धकेल्दा उनी कोठाकै भित्तामा बजारिँदा निजको टाउको भित्तामा ठोकिन पुग्यो । त्यसपछि उनी बोल्न चल्न नसकी अचेत भइन् । मैले नाटक गरेकी होला भन्ठानी बैठक कोठामा आई १०÷१५ मिनेट बसेँ । त्यसपछि पुनः गीता पल्टेको ठाउँमा गई हेर्दा सोही ठाउँमा पहिलेकै अवस्थामा पल्टिरहेकी थिइन् । त्यसपछि मैले उनलाई हल्लाई चलाउँदासमेत कुनै प्रतिक्रिया नजनाएपछि उनको स्वास–प्रश्वाससमेत बन्द भइसकेको यकिन भयो । त्यसपछि निजलाई बिस्तराको कुनापट्टि छाडी उनी सुत्ने कोठामा लक गरी चाबी बाहिर छोराले किताव राख्ने ठाउँनेर फाली म १ बजेतिर निस्किएँ ।

म एकदमै आत्तिई विक्षिप्त भई गीताको लासलाई के गर्ने भनी सोची कुनै एकान्त स्थानमा लगी जलाई नष्ट गर्नु उपयुक्त सम्झेँ । बेलुका ६ बजेतिर चालक शंकर पौडेललाई फोन गरी बा १ झ ६२१३ नम्बरको सरकारी प्राडो गाडी लिएर महाराजगञ्ज चोकमा आउनु भनी बोलाएँ । र, बेलुकी ७ बजेतिर गाडी ल्याएँ ।

मैले बसुन्धरातर्फबाट महाराजगञ्ज नपुग्दै केही वरै निजलाई गाडी रोक्न लगाई केही क्षणमा फर्किन्छु भनी म गाडी लिएर गीता बस्ने गरेको घरमा गएँ । मैले गेट खोली गाडीभित्र गई गीताको लासलाई कम्बलले बेरी भान्सा कोठाकै ढोकाबाट बाहिर निकाली गाडीको पछाडि राखी सवा ८ बजे मूल सडकमा आई शंकर पौडेललाई फोन गरेँ ।

मैले गाडी हाँकी चालकलाई छोडेको ठाउँमा पुगी म गाडीबाट ओली ड्राइभरलाई गाडी चलाउन लगाएँ । सशस्त्र प्रहरीको पेट्रोलपम्पमा गई ३०/३५ लिटर जति डिजेल भर्न लगाई थानकोटतर्फ जाँदै गर्दा नागढुंगा चेकपोष्टमा ९ बजे पुग्यौं । मैले सो गाडीमा तीन–चारवटा ग्यालोनमा पहिलेदेखि ल्याएको पेट्रोलले गीताको लासलाई जलाई नष्ट गर्ने योजना बनाएँ ।

लास जगाउन सुनसान र एकान्त ठाउँ जरुरी थियो । मैले खानीखोला पुगेपछि मेरो ड्राइभरलाई त्यहीँ ओर्लिन लगाएँ । त्यसपछि निश्चित गन्तव्य र योजना बिना गाडी आफैंले चलाई नौबिसे हुँदै हेटौंडातर्फ अगाडि बढेँ । एक–डेढ घन्टा गाडी चलाई अगाडि बढेपछि सुनसान जस्तो ठाउँ देखी गाडी रोकेँ । मैले उक्त लासलाई सुनसान र सडकदेखि पर लैजान नसक्ने भएपछि सडक छेउमा जलाई नष्ट गर्न उचित सम्झी सडक छेउमा राखी पेट्रोल लासमाथि खन्याई आगोले जलाई फेर्केको हुँ ।

खानीखोला आइपुगेपछि मैले ड्राइभर शंकरलाई बोलाई निज आएपछि गाडी चलाउन दिई ४ः३० बजेतिर नागढुंगा क्रस गरी इचंगुनारायणको घरमा आएर गाडी अफिसमा राख्न पठाएको थिएँ । घटनामा अरु कसैको संलग्नता छैन । मेरो मात्र संलग्नता छ ।’

राजेन्द्रको शुभकामना

अनुसन्धानका क्रममा रञ्जनले आफूसँग कहिल्यै पनि सदासयताका लागि याचना नगरेको बताउँछन् राजेन्द्र । सायद आफ्नो साथीको स्वभाव राम्ररी बुझेको भएर पनि हुनुपर्छ ।

अदालतले रञ्जनलार्ई जेल पठाएपछि राजेन्द्र एकपटक उनलाई भेट्न गएका थिए । प्रहरीका रुपमा नभएर एउटा साथीका रुपमा । उनले रञ्जनलाई भनेका थिए, ‘हेर, मानवीय नाताले भेट्न आएको हुँ । मैले एउटा अनुसन्धान अधिकृतका रुपमा जे गर्नुपर्थ्यो, त्यही गरेँ । मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु ।’

रञ्जन बिल्कुल भावहीन र मौन रहे ।

एउटा प्रहरीले आफ्नो कर्तव्यपालन गरिरहँदा साथी, त के आफ्नै बाबुलाई पनि उन्मुक्ति दिन सक्दैन । रञ्जनसित व्यक्तिगत सम्वन्ध जति गहिरो भए पनि उनले गरेको अपराधमा राजेन्द्रले आफ्नो मन कमलो बनाएनन् । तथापि साथी जेल जाँदा उनलाई दुःख अवश्य लागेको थियो ।

रञ्जन अहिले छुटेका छन् । राजेन्द्रलाई कस्तो लागेको छ ?

‘अहिले म खुशी वा दुःखी छु भन्ने समय होइन । उहाँ आफ्नो कैद सजाय भोगेर बाहिर निस्किनुभएको छ । उहाँको बाँकी जीवन राम्रोसँग बितोस् । मेरो शुभकामना छ ।’ राजेन्द्रले भने ।

के उनीहरुबीच पुरानो मित्रता फेरि बौरिन सक्छ ? राजेन्द्रले एक वाक्यमा जवाफ दिए, ‘मलाई थाहा छैन ।’

यो पनि पढ्नुहोस सर्वोच्चको चित्त : जन्मकैद गर्दा चर्को पर्न जाने हो कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment