Comments Add Comment

तीनकुने-एयरपोर्ट-तीलगंगा खण्डको विस्तारबाट पछि हट्यो सरकार

१३ साउन, काठमाडौं । चत्रपथको तीनकुने-एयरपोर्ट-तीलगंगा खण्ड विस्तारको योजनाबाट सरकारपछि हटेको छ । यो खण्डलाई नमूना शहरी सडकका रुपमा विकास गर्ने भनिएपनि मुआब्जामा ठूलो रकम खर्चनुपर्ने देखिएपछि तत्कालका लागि विस्तारको काम अघि नबढाउने निर्णय भएको सडक विभागले जनाएको छ ।

यो खण्ड नेपाली सीप, प्रविधि र लगानीमा बनाउने गरी विभागले डिजाइन तयार गरिसकेको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार करिब ३ अर्ब रुपैयाँमा यो खण्ड विस्तारमा निर्माणसम्बद्ध काम सकिने भएपनि सडक सीमाभित्र पर्ने घरजग्गा मुआब्जासहित हटाउन थप करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

त्यति ठूलो लगानी गरेर तत्काल सडक विस्तार गर्न नसकिने भन्दै विभागले सो खण्डको विस्तारको लागि यो वर्ष बजेट व्यवस्था नै गरेको छैन ।

‘सडक बनाउन भन्दा मुआब्जामा दोब्बर रकम खर्चिनुपर्ने भएपछि अहिलेलाई हामी पछि हट्यौं,’ उनी भन्छन्,’यसैपनि यो वर्ष बजेटको पनि चाप थियो ।’

यो सडक २ लेन अर्थात ७ मिटर फरकिलो छ । विस्तार गरेर सयलाई १२ लेनको बनाउने योजना थियो ।

सडकको दाया-बायाँ ३१/३१ मिटर सडक -६२ मिटर) मिटर चक्रपथको ‘राइट अफ वे’ हो । तर, तीनकुने सिनामंगल, लगायतका क्षेत्रमा सडक सीमाभित्रै थुप्रै घर तथा ब्यापारिक भवनहरु छन् । जुन पुरानो बसोबास भएकाले मुआब्जा नदिई भत्काउन सकिने अवस्था छैन ।

त्यसैगरी यो सडक विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिन पनि प्रयोग गर्नुपर्ने अवस्था छ । अहिलेको सडकमा रहेका पर्खाल पछाडि सानुपर्छ । आयल निगमको हवाई इन्धनको ट्यांक पनि जोखिममा पर्नसक्ने आकलन छ ।

‘विमानस्थलको पनि आफ्नै गुरुयोजना छ, प्रवेश गर्ने र बाहिर निस्कने द्वारलाई कसरी राम्रो बनाउने भनेर नागरिक उड्डयन प्राधिकरणले बनाएको योजनासँग हाम्रो डिजाइन बाझिनु हुँदैन,’ सापकोटा भन्छन्,’त्यसैले हामीले तत्कालका लागि यो योजना पछिलाई सारेका छौं ।’

चक्रपथको कलंंकी-सातदोबाटो-कोटेश्वर खण्ड चीन सरकारको सहयोगमा विस्तार भइसकेको छ । दोस्रो चरणमा कलंकी-महराजगञ्ज-धोबीखोला सडकखण्डको विस्तार पनि चीनले गर्दैछ । चीनले काम सुरु गरेको ३ वर्षमा सकाउने लक्ष्य लिएको छ ।

सडक विभागले गोपीकृष्णदेखि-तीलगंगासम्म सडक विस्तारको योजना भने बनाइसकेको छैन । कोटेश्वरबाट एयरपोर्ट हुँदै तीलगंगासम्मको चक्रपथको विस्तारका लागिे बनिसकेको योजना पनि अहिले अन्योलमा परेको छ ।

चक्रपथको विस्तारित कलंकी-सातदोबाटो-काटेश्वर खण्ड अव्यवहारिक भएको भदै आलोचना भएको छ । सिटी-वे बन्नुपर्नेमा एक्सप्रेस-वे बनेको पूर्वाधारविद्हरुको तर्क छ ।

सडक विभाग आफैंले विस्तार गर्ने गरी डिजाइन गरेको तीनकुने-एयरपोर्ट-तीलगंगा खण्डलाई सहरी सडकमा हुनुपर्ने सबै पूर्वाधार राख्न योजना थियो ।

डिजाइनअनुसार सडकको बीच भागमा मेडियन हुनेछ । यसलाई भविष्यमा र्‍यापिड ट्रान्जिट बस -ट्राम) गुडाउन मिल्ने गरी डिजाइन गरिएको सडक विभागका अधिकारीहरु बताउँछन् । किनकी सरकारले चक्रपथमा ट्राम चलाउने योजना बनाएको छ । लगानी बोर्डमा केही विदेशी कम्पनीले आवेदन समेत दिएका छन् ।

यस्तै डेडिकेटेड सर्भिस लेन, साइकल लेन, फुटपाथ पनि हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment