Comments Add Comment

स्पेनमा कोरोनाको दोस्रो लहर, एकै दिन एक हजार भन्दा बढी संक्रमित

१३ साउन, बार्सिलोना । स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित भेटिएपछि फेरि सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको छ ।

स्पेनका १७ वटा क्षेत्रमध्ये १० बढी क्षेत्रमा पुन: कोरोना भाइरस संक्रमण भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फ्रान्सले शुक्रबार क्याटालोनियामा यात्रा नगर्न सिफारिस गरेको छ। ‘हामी फ्रान्सेली नागरिकहरुलाई जोडतोडका साथ आग्रह गर्दछौं कि त्यहाँको अवस्था सुधार नभएसम्म त्यस क्षेत्रमा नजानुहोस्’ प्रधानमन्त्री जीन क्यास्टेक्सले शुक्रबार भने।

नर्वेले पनि स्पेनमा आएका यात्रीहरुलाई शनिबारदेखि १० दिनको क्वारेन्टिन बस्नुपर्ने जनाएको छ । यता स्पेनको विदेश मन्त्रालयले हाल स्पेनका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने देशहरूको सूची प्रकाशित गरेको छ ।

स्पेनका रक्षामन्त्री मार्गारिता रोबल्सले देशभर आपतकालीन अवस्था घोषणा गर्ने कुनै योजना नरहेको बताएका छन् । एक निजी टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिदै उनले क्षेत्रीय सरकारहरु आफैंले संकटको व्यवस्थापन गर्नुपर्ने तर्फ संकेत गरेका छन् ।

क्याटालोनिया सरकारका प्रमुख क्विम तोराले १० दिनभित्रमा अवस्था सामान्य नभएमा कडा कदम चाल्नुपर्ने बताएका छन् । ‘अवस्था अत्यन्त गम्भीर छ । प्रकोपमा भएको वृद्धि चिन्ताको विषय हो’ सोमबार पत्रकार सम्मेलनमा क्षेत्रीय नेताले भने, ‘हामी १० महत्त्वपूर्ण दिनहरूको सामना गरिरहेका छौं, सबैको ऐक्यबद्धताका साथ हामी यो कठिन अवस्थालाई सुस्त पार्न सक्षम छौं कि छैन भनेर पत्ता लगाउने छौं । अवस्था बिग्रदै गएमा कडा कदम चाल्नुपर्ने बाध्यता छ ।”

पत्रकार सम्मेलनमा, टोराले व्यक्तिगत जिम्मेवारी देखाउन, सामाजिक सम्पर्क घटाउन र एकै परिवारका सदस्यहरूमा भेला सीमित पार्न अपील गरेका छन् ।

ब्रिटेन सरकारले स्पेनबाट फर्केका यात्रुहरूले १४ दिनसम्म क्यान्टिनमा बस्नुपर्ने आइतबार निर्णय गरेपछि स्पेनमा हलचल मच्चिएको छ । कोरोना भाइरस वृद्धिको कारण बेलायतले स्पेनलाई उसको यात्रा सूचीबाट हटाउने निर्णय गरेको हो । यो लगत्तै ब्रिटेन र आयरल्यान्डको सबैभन्दा ठूला टूर अपरेटर टीयूआईले बेलायतको मुख्य भूमिबाट स्पेनका सबै उडान अगस्टसम्मका लागि रद्द गरेको छ ।

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले स्पेनमाथि ब्रिटेनले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि ब्यक्त गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री सान्चेसले स्पेनको अधिकांश भाग यूरोपको औसत र बेलायतभन्दा पनि कम संक्रमण रहेको बताएका छन् ।

‘हामी बेलायती अधिकारीहरूसँग छलफल गरिरहेका छौं । मापदण्डको आधारमा निर्णय लिन अनुरोध गरेका छौं । छिट्टै समाधान खोज्ने आशा गर्दछौं । स्पेन पर्यटनको लागि एक सुरक्षित गन्तव्य हो । म व्यक्तिगत जिम्मेवारीको लागि अपील गर्दछु, तपाईंले सामाजिक दूरी राख्नुहोस्, आफ्नो हात धुनुहोस् र मास्क लगाउनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment