Comments Add Comment

प्रदेश ५ मा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ को डर

भारतीय नाकामा जोखिम बढ्यो, ३१५ संक्रमित अझै अस्पतालमा

बुटवलस्थित कोरोना विशेष अस्पताल ।

१४ साउन, बुटवल । लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम बढेको छ । चार महिना लामो लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाप्रति लापरवाही बढ्न थालेको छ ।

भारतबाट प्रहरीको आँखा छलेर भारतीय कामदारहरु नेपाल आउने क्रम पनि रोकिएको छैन । ती भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ ।

चार दिनअघि बुटवलको एक सिरक– डसना उद्योगमा काम गर्न भारतबाट आएर होटेलमा बसेका तीनजना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखियो । उनीहरु बेलहिया नाका हुँदै बुटवल आएका थिए । यसले सीमा नाकामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा कडाइ गरेका छैनन् भन्ने पुष्टि गरेको छ ।

भारतबाट नेपाल आउने नेपाली वा भारतीय नागरिकबाट संक्रमण फैलन नदिन सीमा नाकामा सञ्चालनमा ल्याइएका २२ वटा हेल्थ डेस्कहरु अहिले बन्द छन् ।

‘लकडाउन अन्त्य भएपछि जोसुकै मान्छेहरु जुनसुकै ठाउँबाट जहाँ पनि जान–आउन थाले,’ प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरी भन्छन्, ‘करिब–करिब नियन्त्रणमा आइसकेको कोरोना लकडाउन खुलेपछि फेरि बढ्ने जोखिम देखेका छौं ।’

लकडाउन खुलेसँगै संक्रमण दर फेरि बढ्न थालेको र स्थिति फरक भएको डा. गिरीले बताए ।

कपिलवस्तुमा मंगलबार ८९ जनाको पीसीआर परीक्षण गर्दा शिवराज नगरपालिकामा मात्रै ३२ जनामा संक्रमण देखिनु र तीमध्ये केहीको ट्राभल हिस्ट्री नै नभएकाले समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिन थालेको हो कि भन्ने आशंका मन्त्रालयले गरेको डा. गिरीले बताए ।

१३ जनाको मृत्यु, ३१५ अस्पताल भर्ना

प्रदेश ५ मा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । २ जना आईसीयूमा रहेका सहित ३१५ जना कोरोना संक्रमितहरु अस्पतालमा उपचारत छन् । कुल संक्रमतिमध्ये ३ हजार ९०४ जना निको भएर घर फर्केका छन् । निको हुने दर ९२.२५ प्रतिशत छ ।

जिल्लागत रुपमा कपिलवस्तुमा ७९८, दाङमा ६६३, पाल्पामा ५५९, बांकेमा ४१३, गुल्मीमा ३६०, अर्घाखाँचीमा २३८, रुपन्देहीमा ३३५, प्युठानमा ३३५, बर्दियामा २३२, नवलपरासी पश्चिममा १२१, रोल्पामा ७३ र रुकुम पूर्वमा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशभरि ५५ हजार १७८ जनाको स्वाब संकलन गरिएकोमा अब ९५२ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

साउन १३ गतेसम्मको तथ्यांकअनुसार ४ हजार २३२ जना संक्रमित रहेको प्रदेश ५ मा क्वारेन्टिनहरु रित्तिने क्रममा छन् । अब १२ जिल्लाका ११ सय ५० वटा क्वारेन्टिनमा २२ सय ३८ जना छन् ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रदेशमा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ आउन सक्ने र त्यो यसअघिको भन्दा घातक र खतरनाक हुने औंल्याउँछन् ।

हालसम्म संक्रमितमध्ये नगण्य मात्रामा लक्षण देखिएको छ तर, अब लक्षणसहित र मृत्युदर पनि बढी हुने मन्त्रालयले आकलन गरेको मन्त्री बरालले अनलाइनखबरलाई बताए ।

एक घर एक पीसीआर परीक्षणको माग

प्रदेश ५ का नागरिक समाजका अगुवाले एक घर एक पीसीआर परीक्षणको माग गरेका छन् । परीक्षणको दायरा फराकिलो नभएको जनगुनासो छ ।

कोभिड १९ सरोकार नागरिक समाजका सदस्य एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले कोरोना संक्रमणको सम्भावित दोस्रो चरणको जोखिमबाट नागरिकलाई बचाउन हरेक घरधुरीका एकजनाको परीक्षण गर्नुपर्ने बताउँछन् ।

के गर्दैछ प्रदेश सरकार ?

‘सेकेण्ड वेभको संक्रमण यसअघिको भन्दा ठूलो मात्रामा र लक्षणसहित हुन सक्ने आकलन गरेर सोहीअनुसार तयारी शुरु गरेका छौं’, सामाजिक विकास मन्त्री बरालले अनलाइनखबरसँग भने, ‘सम्भावित संक्रमण दर र मृत्युदरलाई समेत आकलन गरेर एकपटकमा पाँच हजार जनालाई उपचार गर्नसक्ने चारवटा कोरोना डेडिकेटेड अस्पताल र अन्य आइसोलेसन सेन्टरहरुमा आवश्यक थप उपकरणसहित क्षमता विस्तार गर्दैंछौं ।’

‘सेकेण्ड वेभ’को कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि कार्ययोजनासहित एक अर्ब रुपैयाँको बजेट तय गरिएको मन्त्री बरालले बताए । दोस्रो चरणको संक्रमणसँग सामना गर्न एक अर्ब रुपैयाँ बजेट व्यवस्थापनका लागि केन्द्र सरकारसँग माग गर्ने प्रकृया अघि बढाइएको उनले जानकारी दिए ।

हालसम्म भारत र तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेकाहरुको पीसीआर परीक्षण गरिँदै आएकामा क्वारेन्टिन रित्तिन थालेपछि समुदायस्तरमा कोरोना संक्रमण फैलिए–नफैलिएको यकिन गर्न पहिलो चरणमा १२ सय जनाको स्वाब संकलन गर्न शुरु गरिएको उनी बताउँछन् ।

यस प्रदेशअन्तरगत पर्ने तराईका ६ जिल्लाबाट प्रत्येक जिल्लाबाट २ सय जनाका दरले समुदायका व्यक्तिको पीसीआर गरिने र त्यसको रिपोर्टका आधारमा नयाँ रणनीति अख्तियार गरिने मन्त्री बरालले बताए ।

दोस्रो चरणमा पहाडी ६ जिल्लामा पनि १२ सय जनामा नमूना पीसीआर परीक्षण हुने उनले सुनाए ।

‘सेकेण्ड वेभ’को कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि बनाइएको कार्ययोजनामा प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई केस इन्भेस्टिगेसन कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी) तालिम सञ्चालन गर्ने बराल बताउँछन् ।

सीमा नाकामा बन्द रहेका २२ वटा हेल्थ डेस्कहरु पुनः सञ्चालन गर्ने प्रदेश सरकारले तयारी गरिरहेको उनले बताए ।

यो पनि पढ्नुहोस गण्डकीमा कोरोना संक्रमण बढेको बढ्यै, १०३ जनाको स्रोत खुलेन यो पनि पढ्नुहोस तथ्याकंले भन्छ – जोखिम टरेको होइन, झन् बढेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment