Comments Add Comment

खुले होटेलका मूलढोका, पाहुनाको स्वागतमा भने समय लाग्ने

१५ साउन, काठमाडौं । सरकारले १५ साउनबाट पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गर्‍यो । यसमा होटेल पनि थियो । सोहीअनुसार बिहीबारबाट देशभरका होटेल खुलेका छन् ।

तर, यसलाई व्यवसायीहरु मुलढोका उघि्रएको मात्र रुपमा बुझ्छन । किनकी यो सार्वजनिक यातायात वा हवाई यातायातजस्तै खुल्नासाथ चलिहाल्ने व्यवसाय होइन ।

‘अहिले होटेल खुल्नु मतलव आजै पाहुनालाई स्वागत हुन्छ भन्ने होइन’, होटेल संघ नेपालका सदस्य तथा व्यवसायी युवराज श्रेष्ठ भन्छन, तर अब अफिस खुले, बुकिङ शुरु भयो ।’

सैद्धान्तिक रुपमा होटेल खुला भएपनि कोरोनाको जोखिम कायम रहेसम्म होटेल र रेष्टुरेन्टमा भीडभाड हुने छैन । सरकारले समेत सोहीअनुसार सर्त तोकेको छ । होटेलहरुमा कुनै पार्टी तथा उत्सव आयोजना हुने छैनन् ।

१ भदौसम्म राष्ट्रिय-अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध कायम छ । जसले गर्दा एक स्थानबाट अर्को स्थानमा सहजै जान सक्ने वातावरण छैन । सडक मार्गमा समेत एक जिल्लाबाट अर्को जिल्लामा जान पाइँदैन ।

यो अवस्थामा अहिले होटेलले आन्तरिक तयारीका रुपमा कार्यालयहरु मात्र खुला राख्ने व्यवसायी श्रेष्ठले बताए ।

‘अब हामी आगामी सिजनको तयारी गर्छौं, अब आउने बुकिङ लिन्छौं,’ उनले भने, ‘यसले होटेल व्यवसाय अब खुल्यो भन्ने सन्देश प्रवाह गर्छ ।’

होटेल संघ नेपाल -हान)का अनुसार बिहीबारबाट औपचारिक रुपमा देशभरकै होटेल खुल्नेछन् । तर, कुन होटेल प्रतिष्ठान कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने विषय भने व्यवसायीले आफ्नो होटेलमा आउने पाहुनालाई ख्याल गरी निर्णय गर्न सक्नेछन् ।

त्यसो त व्यवसायी आगामी डिसेम्बरसम्म होटेल व्यवसायिक रुपमा संचालनमा ल्याउन मुस्किल रहेको निष्कर्षमा छन् । सोहीअनुसार मजदुरसँग सहमति समेत भइसकेको छ । होटेल बन्द रहेको अवस्थामा घरै बसेका मजदुरले समेत पाउने न्यूनतम तलव तय भइसकेको छ ।

आशा शरद ऋतुको सिजन

व्यवसायीहरका अनुसार पदयात्राका लागि आउने धेरै पर्यटकले असोज-कात्तिकको सिजनलाई नेपाल भ्रमणका रुपमा रोज्ने गर्छन् । धेरै व्यवसायीको अपेक्षा पनि यही छ ।

संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार अहिले पनि कोरोना अगाडी आएका बुकिङमध्ये २० प्रतिशत पर्यटकको बुकिङ रद्ध भएको छैन । त्यसमा केही थप हुने अपेक्षा छ ।

सोहीकारण असोज-कात्तिकसम्म कम्तिमा २० प्रतिशतसम्म पनि व्यवसाय सूचारु हुन सके ठूलो उपलब्धी हुने उनी मान्छन् । तर, यसमा कोराना भाइरसको सक्रमणको विश्वव्यापी अवस्थाले पनि प्रभाव पार्नेछ ।

नेपाली होटेलमा सबैभन्दा धेरै आउने पाहुना चिनियाँ र भारतीय हुन् । पछिल्लो समय भारतमा बढेको संक्रमणका कारण भने नेपालमा अझै पनि डर बढ्दो क्रममा छ ।

निर्देशिका पालना अनिवार्य

होटेल-रेष्टरेन्ट संचालनको मिति घोषणा नभएको अवस्थामा पनि नेपाल पर्यटन बोर्डले सबै पर्यटकयि गतिविधिले पालना गर्नुपर्ने स्वास्थ्य निर्देशिका बनाएको थियो । उक्त निर्देशिका सबै होटेल प्रतिष्ठान तथा पर्यटकीय कम्पनीहरुलाई दिइएको छ ।

स्वास्थ्य निर्देशिका अनुसार एक पटक पाहुना बसिसकेको कोठा कम्तिमा २४ घण्टासम्म खाली राखेपछि मात्र अर्को पाहुनालाई सोही कोठामा राख्नुपर्नेछ । अब आफ्नो होटेलमा बस्ने सबै पाहुनाको यात्रा विवरण होटेलले राख्नुपर्ने भएको छ ।

सामाजिक दूरी र स्वास्थ्य सुरक्षासँग सम्बन्धित मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । होटेलहरुले अनलाइन भुक्तानीलाई प्राथमिकता दिनुपर्छ । ‘नमस्कार’ अभिवादनलाई कार्यान्वयन गर्नुपर्ने गरी नियम बनाइएको छ ।

सम्भव भएसम्म होटेलले स्यानिटाइजर टनेलको व्यवस्था गर्नुपर्छ । कर्मचारी, पाहुना र सामान सोही नटेल हुँदै छिराउने व्यवस्था गर्नुपर्छ ।

होटेलले आकस्मिक अवस्थामा प्रयोग गर्ने गरी केही कोठा छुट्याउनु पर्छ । कोभिडको लक्षण देखिने पाहुनालाई तत्काल उक्त कोठामा सारेर अरुको सम्पर्कमा आउनबाट रोक्नुपर्छ ।

त्यसपछि ती पाहुना वा कर्मचारलिाई सरकारले तोकेको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था होटेलले मिलाउनु पर्छ । मास्क, पन्जा, पिपिईजस्ता स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री र पोशाकको प्रयोग गर्नुपर्छ ।

अहिले सरकारले होटेलमा पार्टी, सभा, सम्मेलन तथा सेमिनार आयोजना गर्न बन्द गरेको छ । जिम, स्पा र प्लेरुमहरु समेत तत्काल सञ्चालनमा आउने छैनन् । होटेलको हलमा २५ जना भन्दा बढी मानिस जम्मा हुन पाइने छैन । होटेलहरुले सकेसम्म स्वदेशी उत्पादनको खपतमा ध्यान दिनुपर्छ । टाढाबाट यातायातको साधन प्रयोग गरी सामान ढुवानी गर्ने परिपाटीमा परिवर्तन ल्याउनुपर्नेछ ।

सरकारले अनुगमन गर्ने

संचालनमा आएका होटेललाई दिइएको स्वास्थ्य निर्देशिका पालना भए-नभएको भने सरकारी संयन्त्रबाट अनुगमन हुनेछ । केन्द्रमा पर्यटन बोर्ड र पर्यटन विभागको संयुक्त संयन्त्रले अनुगमन गर्नेछ । प्रदेशमा सोही स्तरको पपर्यटन मन्त्रालयले अनुगमन संयन्त्र बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment