+
+

सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ

प्रहरी जवानको पनि हाकिम र अभियुक्त दुवैतिर मिलेमतो

गौरव पोखरेल गौरव पोखरेल
२०७७ साउन १८ गते २०:०९

१८ साउन, काठमाडौं । नेपाल प्रहरीले गरेको पहेँलो धातुसम्बन्धी अधिकांश अपरेशन विवादमा पर्ने गरेको छ । सुन देख्ने वित्तिकै प्रहरी अधिकृतहरु लोभिँदा हुने गरेका तस्कर–प्रहरी मिलेमतोका घटना पटकपटक पटाक्षेप हुने गरेका छन्।

सुनसँग जोडिएर प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म हिरासत पुगिसके पनि यो श्रृंखला अझै रोकिएको छैन । गत मंगलबार प्रहरीले चलाएको १५ किलो पहेँलो धातु सम्बन्धी अपरेशन पनि विवादमा मुछिएको छ ।

यसमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले अभियुक्त समात्नभन्दा भगाउनतिर ध्यान दिएको पाइएको छ ।

यो प्रकरणमा रोचक विषय चाहिँ के छ भने सुराकी दिने व्यक्ति र प्रहरी दुवैले दोहोरो भूमिका निभाएका छन् । त्यही कारण सूचना दिएको भनेर सूराकी भत्ता पाउनु पर्ने व्यक्ति कौशल पटेल प्रहरी हिरासतमा छन् ।

प्रहरी जवानद्वय कडायत र श्रेष्ठ पनि प्रहरी नियन्त्रणमा छन् ।

‘सुनको भित्री रहस्य’

यो प्रकरणमा प्रहरीको शंकास्पद भूमिकाबारे स्पष्ट भइसकेको छ । तर तस्कर समूहले चाँदीमा सुनको जलप किन लगाए ? पहेँलो धातु कता लगिँदै थियो ? उद्देश्य के थियो ? अझै स्पष्ट भइसकेको छैन ।

तर यसमा मुख्य भूमिका निलेश सखिया र सञ्जय पटेलको भएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । राजस्थान, भारतका उनीहरु नेपालबाट नक्कली सुन लैजाने योजनासहित आएका थिए । त्यसक्रममा पूर्वपरिचित बाराका इल्ताफ हुसेन अन्सारीसँग उनीहरुले सम्पर्क गरेको पाइएको छ ।

भारतीय सञ्चारमाध्यममा अनुसार राजस्थानमा अहिले नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने ट्रेण्ड बढ्दो छ । त्यही उपाय लगाएर आम्दानी गर्ने योजनासहित सखिया र पटेल नेपालतिर छिरे । उनीहरु सीमा क्षेत्रमा गाडी राखेर पैदल बारा आएका थिए । त्यहाँ उनीहरु नक्कली नोट कारोबारी हुसेनको सम्पर्कमा पुगे ।

बाराबाट अन्सारीको बा ६ च ५५१९ नम्बरको गाडी चढेर उनीहरु ३१ असारमा काठमाडौं प्रवेश गरेको पाइएको छ । उनीहरु राजस्थान घर भई लामो समयदेखि न्युरोडमा सुन पसल चलाउँदै आएका देवान पटेलसँग सहयोग लिने योजनामा थिए ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार देवानले मनिष मल्लिकसँग चाँदीमा सुनको जलप लगाउन भनेका छन् । साढे १४ किलो चाँदी बराबरको ५६ लाख रुपैयाँ निलेश र सञ्जयले पहिल्यै तिरेका छन् । तर चाँदीको जलप लगाएवापत अतिरिक्त पैसा पाएनन् ।

मनिषले तयार पारेको पहेँलो धातुसहितको झोला देवानले कमलादीसम्म पुर्‍याएका थिए । तर निलेश, सञ्जय र इल्ताफले उनलाई बचन अनुसार रकम दिएनन् । पैसा विस्तारै दिने उनीहरुको आश्वसन थियो । रकम नपाएपछि उनले प्रहरी प्रयोग गरेर धम्क्याएर भएपनि असुल्ने योजना बनाएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग बताए ।

दोहोरो भूमिका

निलेशको समूहले पैसा दिन आलटाल गरिरह्यो । त्यसैले प्रहरीलाई सुराकी दिएर भएपनि पैसा निकाल्ने योजना बनाए । यसका लागि भाइ कौशल पटेलको सहयोग लिए, जसको लाजिम्पाट बिटमा लामो समय काम गरेका प्रहरी जवान बहादुरसिंह कडायतसँग राम्रो जिनजान थियो ।

कौशल र कडायतले निलेशको समूहसँग भएको सुन लुट्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोमबार राति अवेर कडायतलाई पूर्वयोजना अनुसार अघि बढ्न निर्देशन दिइएको पाइएको छ । दरबारमार्ग प्रहरीको सीआरभी गाडीका चालक कडायतले यो काम एक्लै आँट्दैनन् । सादा पोशाकका घुमुवा प्रहरी जवान प्रशन्न श्रेष्ठलाई सहयोग माग्दै योजना सुनाए ।

तर प्रशन्नले दरबारमार्गका प्रहरी प्रमुख डीएसपी रञ्जन दाहाललाई १५ किलो सुन आउँदै गरेको बताउँछन् । तर पूर्ण विवरण बताउँदैनन् ।

रोचक के छ भने प्रशन्नलाई कडायतले सुनबारे सूचना दिएको भन्ने दाहाललाई थाहा हुँदैन भने कडायतलाई पनि प्रशन्नले दाहाललाई सूचना चुहाएको थाहा हुँदैन । र, तीनै जनालाई नक्कली सुन भन्ने थाहा थिएन ।

कौशलले नक्कली सुन हो भन्ने जानकारी दिए प्रहरीले सहयोग नगर्न सक्ने भएकाले गलत सूचना दिएको पाइएको एक अधिकृतले बताए । देवान र कौशलले सुन लुटपाटको योजना असफल भए सुराकी भत्ताबाट लिएर पनि पैसा उठाउने योजना बनाएको पाइएको छ ।

प्रसन्नले डीएसपी दाहाललाई घटनाबारे जानकारी दिनु कारण चाहिँ यदि लुट्ने योजना असफल भए सुन बरामद गरेर काम देखाउन सकिन्छ भन्ने मनोविज्ञान रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । यदि विवाद भइहाले पनि दाहाललाई जिम्मेवार बनाउन सकिन्छ भन्ने उनीहरुको बुझाइ रहेको पाइएको छ ।

सोही अनुसार जवानले डीएसपी दाहाललाई गलत सूचना दिन्छन् र उनले हात्तिसारको भिसा सेन्टर छेउ एम्बुस थापेर बस्छन् । तर सुन कमलपोखरी हुँदै कट्छ ।

प्रहरीले पछ्याएको थाहा पाएपछि सञ्जय र इल्ताफले सुन्धारामा निलेश सखियालाई सुनको झोलासहित ओराल्छन् । ‘निलेशलाई त्यहाँबाट गाडीमा जान भनिएको थियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जहाँ पुगेपनि लिन आउने भनिएको रहेछ, पक्राउ परिहाले छुटाउने भनिएको थियो ।’

तर बहादुरले उनी ओर्लिँने वित्तिकै कठाँलोमा समातेर आकाशे पुलतिर लगेको पाइएको छ । त्यसपछि निलेशले सुनको झोला दिन्छन् र बहादुरले उनलाई छोडिदिन्छन् । त्यतिञ्जेल ‘सुन’को १६ वटा बिस्कुटमध्ये एउटा बहादुरसिंहका साथी उमेश श्रेष्ठलाई दिन्छन् । श्रेष्ठले त्यो बागबजारस्थित कोठामा लुकाउँछन् ।

तर केहीवेरै सुन्धारामा डीएसपी दाहाल पुगेपछि प्रहरी जवान कडायत छक्क गर्छन् । उनले १५ वटा ‘सुन’को बिस्कुट दिन्छन् र अभियुक्त झोला फ्याँकेर भागेको बताउँछन् । दाहालले बरामद भएको पहेँलो धातुलाई सुन चाँदी तथा आभुषण संघमा परीक्षणका लागि पठाउँछन् । त्यसक्रममा बरामद भएकोमध्ये आधा किलो सुन र बाँकी बाहिर सुनको लेपन लगाएको चाँही भएको खुल्यो ।

अहिले निलेशको पनि देवान र कौशलसँग सम्बन्ध हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा अभियुक्त समूहका देवान पटेल, विजय पटेल र निलेश सखिया पक्राउ परिसकेका छन् भने गाडीधनी समेत रहेका इल्ताफ फरार छन् ।

यो पनि पढ्नुस् 

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

सुनबारे थाहै नभएका व्यक्तिलाई संगठित अपराधमा म्याद थप, गाडी धनी फरार

सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

सुन प्रकरण : एक किलो सुन जस्तो देखिने धातु बरामद

दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

नखिपोटमा बरामद गाडी सुन ओसारपसारमै प्रयोग भएको पुष्टि

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?