Comments Add Comment

बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भन्दै झुटो प्रचार

२० साउन, काठमाडौं । साउन १३ गते कार्टुनमा राखिएको बच्चाको एउटा तस्वीर भाइरल भयो । कारण थियो, कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा भेटिनु ।

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।

तर घटनामा नयाँ ट्वीस्ट आएको छ । बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् ।

‘शिशु बेवारिसे होइन’

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।

उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् ।

त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ ।

पैसा उठाउने खेल ?

जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ ।

जब शिशु बेवारिसे अवस्थामा भेटिएको खबर सार्वजनिक भयो, सहयोगी हातहरु अगाडि आएका थिए । अहिलेसम्म झण्डै ६ लाख रकम बालगृह सञ्चालिकाको हातमा परिसकेको थियो भने रकम उठ्ने क्रम पनि चलिरहेको थियो ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।

घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment