Comments Add Comment

ग्रामीण विकासका कर्मचारीद्वारा कोरोना नियन्त्रणका लागि सहयोग

२० साउन, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३४ लाख २३ हजार ६ सय ९८ रूपैयाँ सहयोग गरेका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको उक्त रकम नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाईसहयोग गरिएको हो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले सहयोग रकमको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे । चेक बुझ्दै अर्थमन्त्री खतिवडाले देशमा गरिबी न्यूनिकरण गर्ने अभियानमा कार्यरत ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले गरेको सहयोगले कोरोना नियन्त्रणमा सहयोग पुग्ने बताए ।

चेक हस्तान्तरण कार्यक्रममा संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल र संस्थामा क्रियाशील दुबै कर्मचारी युनियनका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

संस्थाले यस पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ११ लाख रुपैयाँ र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान २ लाख ५० हजारले गरी कुल रकम २८ लाख ५० हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment