+
+

प्रहरी हेडक्वार्टर कसरी बन्यो कोरोनाको ‘हटस्पट’ ?

गौरव पोखरेल गौरव पोखरेल
२०७७ साउन २२ गते १३:००

२२ साउन, काठमाडौं । असार २५ गते सिन्धुपाल्चोकको जम्बु खोलामा बाढी आउँदा बाह्रविसे नगरपालिका–५ मा दुई जनाको मृत्यु भयो । घटनामा ३० जना बेपत्ता भए । बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले विपद व्यवस्थापन शाखाका टोलीलाई त्यसतर्फ पठायो ।

तर, बाह्रविसे नगरपालिका–३, खुर्सानीबारीमा भोटेकोशी नदीले अरनिको राजमार्ग कटान गरेका कारण आवतजावत अवरुद्ध थियो । त्यसैले काठमाडौंबाट गएको प्रहरी टोलीले त्यहाँबाट अर्को गाडीमा चढेर घटनास्थलसम्म पुग्यो ।

त्यहीँबाट फर्किएर आएकामध्ये तीन जनामा कोभिड–१९ (कोरोना भाइरस) सँग मिल्दोजुल्दो लक्षण देखियो । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । प्रहरी प्रवक्ता कुवेर कडायत भन्छन्, ‘पहिलो पटक ९ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको थियो ।’

अस्पतालका चिकित्सकहरुले उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप अधिकारीमा पनि संक्रमण देखा पर्यो । संक्रमित हुनेमा अधिकांश प्रहरी प्रधान कार्यालयको सवारी शाखा (एमटी) र सञ्चार निर्देशनालयका प्रहरीहरु थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार हाल हेडक्वार्टरको एमटी र सञ्चारका ८७ जनामा संक्रमण पुष्टि भएको छ भने सामाखुशीमा रहेको विपद व्यवस्थापन शाखाका चार जनामा संक्रमण पुष्टि भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १० जनामा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमणको बढ्दो क्रमसँगै अहिले प्रहरी प्रधान कार्यालय, नक्सालमा आगन्तुकलाई प्रवेश निषेध गरिएको छ भने सबै कार्यक्रम रद्द गरिएका छन् । संक्रमणकै कारण पुलिस को–अर्डिनेसन कमिटी (पीसीसी) को बैठक पनि रोकिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अत्यावश्यकबाहेक भेटघाटका सबै कार्यक्रम रद्द गरेका छन् ।

प्रहरी हेडक्वार्टरबाट फैलियो कोरोना

प्रहरीका विभिन्न युनिटमा सवारी निर्देशनालय (एमटी) मातहतका कर्मचारी चालकका रुपमा खटिन्छन् । त्यहीँबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा खटिएका एक चालकमा संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरको तथ्यांकअनुसार हाल देशभर १९० जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १०९ जना भने निको भएर घर फर्किसकेका छन्

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका चालकसँगै उनका निजी अंगरक्षकमा पनि संक्रमण पुष्टि भएको थियो । त्यसयता ट्राफिक प्रहरीका ५ जना अधिकारीमा संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमितमध्ये एक जना कर्मचारी ट्राफिक प्रहरी प्रभाग, थापाथलीमा कार्यरत छन् । महाशाखाका प्रवक्ता वामदेव गौतम भन्छन्, ‘अहिले थापाथलीका ३२ जना कर्मचारी क्वारेन्टिनमा हुनुहुन्छ ।’ बग्गीखानामा पनि कार्यालय प्रमुख ढकालसहित २५१ जना क्वारेन्टिनमा रहेको गौतमले बताए ।

‘अहिले कम सवारी चाप भएका क्षेत्रबाट जनशक्ति तानेर दैनिक ड्यूटीमा परिचालन गरिरहेका छौं’, प्रहरी उपरीक्षक (एसपी) गौतमले भने, ‘सेवा प्रवाहमा कुनै समस्या परेको छैन ।’ उनका अनुसार अहिले भएका जनशक्तिलाई चेकजाँच गर्दा न्यूनतम २ मिटरको दूरी अनिवार्य कायम गर्न निर्देशन दिइएको छ ।

‘अत्यावश्यक दुर्घटनालगायतका कुरा भएको खण्डमा जानु परिहाल्यो, त्यसबाहेक अनिवार्य दूरी कायम गर्नुपर्नेछ’, उनले भने, ‘स्वास्थ्य मन्त्रायलमा भएका अन्य प्रोटोकललाई पनि पूर्ण पालना गर्न भनेका छौं ।’

अख्तियारमा प्रहरी कर्मचारीमै देखियो संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार हालसम्म आयोगमा १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अधिकारीले सबै संक्रमित आयोगमा कार्यरत भएको बताए पनि शाखाबारे बताएनन् ।

यद्यपि, अख्तियारमा कार्यरत एक कर्मचारीका अनुसार संक्रमितमध्ये अधिकांश प्रहरी कर्मचारी छन् । संक्रमितमध्ये १० जना प्रहरी कर्मचारी हुन् । तीमध्ये केही सवारी चालक छन् । उनीहरु पनि प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाटै खटिएका हुन् ।

अर्का एक अधिकारीले पनि खोटाङमा एक स्टिङ अपरेशनमा गएका सादा पोशाकका कर्मचारी कार्यालयमा फर्किएपछि संक्रमण देखिएको अनलाइनखबरलाई बताए । जिल्ला सिँचाइ डिभिजन कार्यालय, खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ ३० असारमा घुससहित पक्राउ परेका थिए । यही अपरेशनमा संलग्न अधिकारी संक्रमित भएपछि आइतबार कन्ट्याक्ट ट्रेसिङ गरेर १ सय ८५ जना कर्मचारीको स्वाब संलकन गररी पीसीआर जाँच गरिएको थियो ।

त्यसक्रममा थप १५ जनामा संक्रमण पुष्टि भएको आयोगका अधिकारीहरु बताउँछन् ।

प्रदेशमा कतै शिलबन्दी, कतै क्वारेन्टिनबाटै कार्य सञ्चालन

नेपाल प्रहरीको कोभिड डेस्कका एक अधिकृतका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा कार्यरत एक जना प्रहरीमा कोरोनाको सक्रिय संक्रमण देखिएको छ । यसैगरी प्रदेश ५ मा ७, गण्डकीमा ३९, प्रदेश २ मा २३, १ मा ३७ र उपत्यकामा ८१ जनामा सक्रिय संक्रमण छ । कर्णालीमा २७ जनामा संक्रमण देखिए पनि सबै निको भइसकेका छन् ।

प्रदेशमा कार्यरत अधिकृतहरुका अनुसार धेरै सक्रिय संक्रमण देखिएका प्रहरी इकाइलाई शिल गर्ने गरिएको छ भने बाहिर रहेका अन्य जनशक्तिबाट सेवा प्रवाह भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा प्रहरी प्रमुख एसपी विमलराज कँडेल नै संक्रमित भए । उनले जिल्ला प्रहरी कार्यालयकै क्वारेन्टिनमा बसेर सेवा सञ्चालन गरे । भन्छन्, ‘संक्रमण हुँदा क्वारेन्टिनबाटै निर्देशन दिने लगायतका काम गरिरहेको थिएँ ।’ अहिले उनी कोरोना मुक्त भइसकेका छन् ।

प्रदेश नं. २ मा वीरगञ्ज महानगरपालिका–११ मा रहेको श्रीपुर वडा कार्यालयमा शिलबन्दी गरियो, ८ साउनमा । सीमाबाट नागरिक ओसारपसार गरेको अभियोगमा पक्राउ परेका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शिल गर्नुपरेको थियो । प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंह भन्छन्, ‘थुनामा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएपछि प्रहरी कर्मचारीको पनि परीक्षण गरेका थियौं, त्यसक्रममा एक जना प्रहरीमा पनि संक्रमण पुष्टि भयो ।’

अहिले चौकी सञ्चालमा आएको छ । सिंहका अनुसार १७ साउनमा राजविराजस्थित २ नं. प्रहरी प्रदेश तालिम केन्द्रमा कार्यरत ५ जना प्रशिक्षक र दुई जना प्रशिक्षार्थी प्रहरीमा संक्रमण पुष्टि भयो । त्यसपछि तालिम केन्द्रको ब्यारेक शिल गर्नुपर्यो ।

जिल्ला प्रहरी कार्यालय, धनुषामा पनि तीन जनामा संक्रमण पुष्टि भएपछि ब्यारेक शिल गर्नुपरेको थियो । ‘विशेष गरी मुद्दा शाखामा काम गर्ने र फिल्डमा खटिएका प्रहरीमा संक्रमण देखिएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहले अनलाइनखबरसँग भने, ‘प्रदेशमा भएका विभिन्न आन्दोलन र पुत्ला दहनको कार्यक्रमका वेला खटिएका प्रहरीमा पनि संक्रमण देखिएको छ ।’

आन्दोलनका बेला खटिएका प्रहरी कर्मचारी सर्वसाधारणको निकटमा जाँदा संक्रमण पुष्टि भएको बताउँदै सिंहले भने, ‘सामान्य घटनामा अहिले पक्राउलाई निरुत्साहित गरेका छौं तर धेरै जिल्ला सीमा जोडिएकाले लागूऔषध कारोबारमा संलग्न धेरै व्यक्ति भेटिन्छन् । उनीहरुलाई पक्राउ गर्न नजिकमा जानै पर्ने अवस्था छ ।’ सिंहका अनुसार अहिले प्रदेश २ का कुनै कार्यालयमा संक्रमण देखिए नजिकैको प्रहरी कार्यालयबाट जनशक्ति पठाउने गरिएको छ ।

कर्णाली प्रदेशका प्रमुख वसन्त पन्तका अनुसार हाल प्रदेशमा कुनै पनि प्रहरीमा सक्रिय संक्रमण छैन ।

यसअघि संक्रमित २७ जना पनि क्वारेन्टिनमा बसेको नागरिकले आन्दोलन गर्दा उनीहरुसँग नजिक भएका अधिकारीहरु हुन् । पन्त भन्छन्, ‘क्वारेन्टिनमा बस्दा विवाद भएपछि समात्न गएकालाई संक्रमण देखिएको थियो, अहिले सबैलाई निको भइसकेको छ ।’ उनका अनुसार कर्णाली प्रदेशमा सामाजिक दूरी र आवश्यक स्वास्थ्य उपकरण पूर्णरुपमा प्रयोग गर्न अनिवार्य गरिएको छ ।

जिल्लाका कुनै पनि कार्यालयलाई कर्णाली प्रदेशले शिल गर्नु नपरेको पन्तले बताए । ‘संक्रमण देखिएका व्यक्तिलाई आइसोलेसनमा पठायौं, अन्यलाई स्वाब संकलन गरेर जाँच गरियो’, उनले भने, ‘सेवा प्रवाहमा कुनै पनि समस्या आउन दिएनौं ।’

प्रहरी हेडक्वार्टरको तथ्यांकअनुसार हाल देशभर १९० जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ । उनीहरुमध्ये १०९ जना भने निको भएर घर फर्किसकेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment