+
+

लक्ष्मीनगर वस्ती जोगाउन तत्काल तटबन्धको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १०:५६

२३ साउन, बुटवल । पहिरोको उच्च जोखिममा रहेको बुटवल–४, लक्ष्मीनगरका बासिन्दाले पहिरो नियन्त्रण गरी वस्ती जोगाउन तत्काल तटबन्ध गर्न सरकारी निकायसँग माग गरेका छन् ।

स्थानीयले पहिरोले ल्याएका ठूला ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका हुन् ।

दुई साता अघि गएको पहिरोले चुरे क्षेत्रको डाँडो नै झारेपछि सुखौरा खोला थुनिएर खोलाको धार वस्तीतिर परिवर्तन भएको छ, जसले दुई सय बढी घर रहेको लक्ष्मीनगरको वस्तीलाई जोखिममा पारेको छ ।

लक्ष्मीनगरको बस्ती जोखिममा परेको समाचार सार्वजनिक भएपछि सरकारी टोली स्थलगत निरीक्षणमा जाँदा स्थानीयले तटबन्धको माग गरेका हुन् ।

निरीक्षणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका उससचिव शरद पंगेनी, बुटवल कार्यालयका प्रमुख अजय कार्की, डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदी लगायतको सरकारी टोली लक्ष्मीनगर सामुदायिक वन क्षेत्रमा पुगेका थिए ।

‘पहिरो नियन्त्रण गर्न एक किलोमिटर क्षेत्र तटबन्ध गर्नुपर्ने भएपनि तत्काल पाँच सय मिटर तटबन्ध नगर्ने हो भने वर्षा हुँदा कुनै पनि बेला लक्ष्मीनगरका दुई सय घर बगाउने खतरा छ’, स्थानीय अगुवा टेकराज पन्थीले सरकारी टोलीसमक्ष भने, ‘पहिराले चुरे वन क्षेत्रका सयौं रुख बगाएर खोला नै थुनेर धार परिवर्तन गराएको हुँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले पनि विशेष ध्यान दिनुपर्छ ।’

मन्त्री गिरीले प्राविधिकको टोली खटाएर त्यसका आधारमा पहिरो नियन्त्रणको काम अघि बढाइने आश्वासन दिएका छन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारको वजेटले पहिरो नियन्त्रणको काम गर्न कठीन हुने भएकाले प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने बताए ।

बुटवलको लक्ष्मीनगर र ज्योतिनगर पहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछन् । एक दशकअघि लक्ष्मीनगरसँगै जोडिएको ज्योतिनगरमा पहिरो जाँदा भौतिक क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?