Comments Add Comment

बजेट र मौद्रिक नीतिका प्रावधान कार्यान्वयन गर्न छलफल सुरु

२३ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानहरु कार्यान्वयनका सम्बन्धमा उच्चस्तरीय छलफल प्रारम्भ भएको छ । उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक बिहीबार बसेको थियो ।

बैठकमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठक अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको हो । बैठकमा घरेलु, साना तथा मझौला उद्यम एम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक-कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोषको कार्यान्वयन, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट तथा मौद्रिक नीतिमा सरकारले लिएका प्रावधानको यथाशीघ्र कार्यान्वयनमा लाग्न सबै निकायलाई निर्देशन दिएका छन् । सबै निकायले आ-आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगतिसहित उपस्थित हुन अर्थमन्त्रीले निर्देशन दिएका हुन् । बिहीबार मातहतका निकायले गत वर्षको समीक्षासहित चालु आवको सुरुवाती प्रगति र कार्यक्रमबारे जानकारी गराउका थिए ।

अर्थ मन्त्रालयका अनुसार बैठकमा सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि. तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पुनर्संरचनाका विषयमा छलफल भएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ सम्बन्धी नियमावली संशोधन गर्ने सम्बन्धमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । यसबाहेक नेशनल पेमेन्ट गेट-वे सञ्चालनका बिषयलाई समेत तत्काल कार्यान्वयनमा लैजाने सम्बन्धमा मन्त्री खतिवडाले निर्देशन दिएका थिए ।

यी निकायको प्रगति भने आगामी बैठकमा माग गरिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर, मन्त्रालयका राजस्व सचिव धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैङ्कर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रारलगायत पदाधिकारी सहभागी थिए ।

नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला उद्यम एम् कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि खडा गरिने कोषको सञ्चालन गर्नेछ । यो कोषमा रकमको व्यवस्था भने सरकारले गर्नेछ । व्यवसायीले तत्काल कोष खडा गरी ऋण प्रवाह थाल्नुपर्ने माग गरेका छन् ।

तर, राष्ट्रबैंकले कोष सञ्चालनका सम्बन्धमा कार्यविधि बनाउन बाँकी छ । उता, नेपाल राष्ट्र बैंकबाटै सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालनमा समेत तयारी गर्नुपर्ने छ । लघु बीमा तथा कोरोना रोगको बीमा सम्बन्धी विषयलाई समेत छिटेा टुंग्याउने गरी छलफल भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment