Comments Add Comment
ग्राउण्ड जिरो :

कोटेश्वरको ‘कोरोना संक्रमित क्षेत्र’मा चिहाउँदा…

२६ साउन, काठमाडौं । सामान्यतः पैदल हिँड्न पनि दर्जनौं मानिससँग ठोक्किनुपर्ने कोटेश्वरको असर्फी टोल सोमबार दिउँसो सुनसानप्रायः थियो । चोकको उत्तरतर्फको एउटा बस्तीका सटरमा ताला लागेका थिए । अग्ला भवनका गेटहरु बन्द थिए । मानिसहरु मास्क लगाएर झ्यालबाट चिहाइरहेका थिए ।

बस्तीको गल्लीमा छिर्ने नाकामा ब्यानर टाँगिएको थियो- ‘कोरोना संक्रमित क्षेत्र । प्रवेश निषेध ।’

गल्लीको निष्पट्टता देख्दा यो शहर नभएर कुनै अनकन्टार गाउँको गोरेटोजस्तो लाग्थ्यो । आइतबार साँझ प्रहरीको माइकिङसँगै बस्ती सिल गरेपछि एकाएक यो बस्ती सुनसान बनेको हो ।

‘संक्रमित क्षेत्र’ भए पनि त्यहाँ मानिसहरु त बस्छन् । सोमबार आक्कल-झुक्कल केही मानिसले ब्यानरको निषेधाज्ञा तोडेको देखियो

कोटेश्वरबाट बालकुमारीतर्फ जाने मुख्य सडकको छेउमा खाजा पसल र फ्रेस हाउस सञ्चालक कृष्ण गौतमले भने, ‘आफ्नै बस्ती छेउ कोरोना संक्रमित देखिँदा डर त लाग्छ । तर, निको हुने र सावधानी अपनाउँदा त्यति असर नपर्ने थाहा पाएपछि पहिलेजस्तो ढोकै थुनेरचाहिँ बसेका छैनौँ ।’

गौतमको पसल सोमबार बिहानैदेखि बन्द छ । तर, सटर अगाडिको मूल सडकमा भने सामान्य अवस्थाकै जस्तो सवारी जाम छ ।

निषेधित क्षेत्रको सूचना टाँसेको साँघुरो गल्ली छेउछाउका सबै सटर र ढोकाहरु बन्द छन् । एउटा घरको दोस्रो तलाबाट काखे बालक च्यापेकी एक युवतीले टाउको टाउको बाहिर निकालेर चिहाइन् ।

उनी हुन् विपना मगर । डेराबाटै भनिन्, ‘हिजोदेखि बाहिर निस्किएको छैन । बाबुलाई बाहिर ननिकालेको धेरै भो । तर, कोरोना भेटिएको यो गल्ली हैन, अर्कै गल्ली हो ।’

बिपनाको डेराभन्दा दुई घर पर एक युवा दोस्रो तलाको बरण्डामा बसेर टोलाइरहेका थिए । उनले बरण्डाबाटै मसिनो स्वरमा भने, ‘मानिसहरु आफूलाई त कहिल्यै रोग लाग्दैन कि जस्तो गरी व्यवहार गर्छन्, साहारा दिनुको सट्टा उल्टै त्रसित बनाउँछन् ।’

उनी जुन घरमा बस्छन्, त्यही घरमा एकजना कोरोना संक्रमित होम आइसोलेसनमा रहेछन् ।

सँगै उभिएकी श्रीमतीले विपरीत घरको बन्द सटरतिर देखाउँदै भनिन्, ‘ऊ त्यो किराना पसलकी दिदीका आमा-छोरालाई पहिलोपटक कोरोना संक्रमण देखिएको हो ।’

००००

एउटा किराना पसलमा दिनमा कतिजनाको भीड लाग्छ ? कहाँ-कहाँबाट आएका मानिस तरकारी र सामान लिन पुग्लान् ?त्यसको गणना गर्नु टाउकाको रौँ जत्तिकै कठिन हुन्छ । यत्रतत्र सवर्त्र कोरोनाको परिचर्चा फैलिएका बेला भीडभाडलाई नै दैनिकी बनाएकी किराना पसलकी सञ्चालकको मनमा कति चिसो पस्यो होला ?

ढुक्क हुनका लागि उनी एकजना छोरा च्यापेर कोरोना परीक्षणका लागि अस्पताल दौडिइन् । कम्युनिस्ट शासन चलिरहेका बेला भोग्नुपरेको महामारीमा पनि निजी खर्चमै कोरोना परीक्षण गरेकी ती महिलाको मात्र होइन, छोराको पनि पीसीआर रिपोर्ट पोजेटिभ देखियो ।

काठमाडौं महानगरपालिका १२ कि वडा सदस्य हिरादेवी पोखरेलका उनुसार गत १८ साउनमा उनीहरुको रिपोर्ट आएको थियो । त्यसपछि आमा-छोरा अहिले दोकान बन्द गरेर अस्पतालको आइसोलेसनमा पुगे ।

घरमा थिए श्रीमान र जेठा छोरा । उनीहरु पनि आत्तिँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षणका लागि पुगे । जेठो छोराको रिपोर्ट पोजेटिभ देखियो । तर, सँगै बसेका बाबुको भने नेगेटिभ आयो ।

छिमेकी अञ्जना अचम्म मान्दै भन्छिन्, ‘एउटै घरमा बस्ने बाबाको रिपोर्ट कसरी नेगेटिभ आयो होला ?’

यो अनुसन्धानको जिम्मा स्वास्थ्य वैज्ञानिकलाई छोडिदिऔँ ।

चकाचक चल्ने किराना पसल एकाएक बन्द भएपछि टोलभरि चर्चा चल्यो । ती महिला र उनका दुई छोराको कोरोना संक्रमणको समाचार टोलको ‘हट न्यूज’ बन्यो ।

उनीहरु छरछिमेकमा तारो बने । एउटै कलधाराको पानी खानेहरुको खप्की खेप्नुपर्‍यो । तरकारी पसल छेउकै घरका एक बृद्धा चिच्याए, ‘हामी सबैले वडामा दबाव दियौँ र कोरोना परीक्षण गर्न लगायौँ ।’

शुक्रबार वडाका प्रतिनिधिसहित स्वास्थ्यकर्मीहितको टिम असर्फी टोलमा देखापर्‍यो । र, कन्ट्याक ट्रेसिङविनै भटाभट नमूना संकलन गर्न थाल्यो । मेडिकल भाषामा यसलाई ‘कम्युनिटी टेस्टिङ’ पनि भन्न सकिन्छ ।

तर, यो तरिका अञ्जनालाई टेस्टिङ प्रक्रिया नै चित्त बुझेन । उनले भनिन्, ‘नमूना संकलन गर्ने स्वास्थ्यकर्मीले न दुरी मेन्टेन गरेको देखियो, न त ग्लोब्स नै चेन्ज गरियो । सुरक्षा सावधानी अपनाएको देखिएन ।’

यद्यपि काठमाडौं महानगरपालिका ३२ का १४० जनाको स्वाव संकलन गरियो । जसमा अञ्जनाका श्रीमानको पनि नमुना संकलन गरिएको थियो ।

शनिबार अञ्जनाका श्रीमानको मोवाइमा एसएमएसको घण्टी बज्यो । जसमा परीक्षणको रिपोर्टको सूचना थियो- कोरोना नेगेटिभ । उनीसँगै रहेका अर्का मानिसको मोवाइलमा पनि यस्तै एमएमएस आयो ।

गल्ली बाहिरको मुख्य सडकमा एम्बुलेन्सको साइरन बज्यो । उनीहरु कोरोना पोजेटिभ हुनेहरुलाई लिन आएका थिए ।

स्वास्थ्यकर्मीहित आएको टोलीले कोरोना संक्रमितहरुलाई जम्मा पारे । सम्झाए र एम्बुलेन्समा बस्न लगाए । अञ्जनाले सुनाइन्, ‘कोरोना संक्रमित भए पनि त्यस्तो कमजोर अवस्थामा कोही थिएनन् । कतिपय त आफैं मोटरसाइकल चलाएर हस्पिटल गए ।’

यसरी १० जनालाई अस्पताल लगियो, तीनजनालाई घरमै आइसोलेसनमा बस्न लगाइयो ।

जब घरमै आइसोलेसनमा राख्ने कुरा स्थानीयले सुने, यो विवादको विषय बन्यो । अञ्जना उभिएरै बरण्डाबाटै बोल्दै थिइन्, ‘कसैले घरमा राख्नहुँदैन भने, कतिले यसरी राख्यो भने त टोल नै सखाप हुन्छ भन्दै कराए ।’

कोठा र ट्वाइलेट छुट्टै प्रयोग गर्ने गरी होम आइसोलेसनमा बस्ने तीनमध्येका एकजना अञ्जनाकै घरका हुन् । उनले भनिन्, ‘एम्बुलेन्सको साइरन बज्दा नै आङ सिरिङ्ग गरेको थियो । आफ्नै वरिपरि कोरोना संक्रमित छन् भन्ने कुराले त निद्रा पनि राम्रोसँग पर्दैन ।’

संक्रमित नभएकाहरुले जसरी व्यवहार गर्छन्, त्यसले अञ्जनालाई कोरोनाको त्रासले भन्दा बढी पोल्ने गर्छ । उनी भन्छिन् ‘बिरामीहरुलाई त स्नेह दिनुपर्ने हो । यहाँ त वरिपरि बस्नेलाई पनि डर देखाएर, दुरदुर गरेर झन् बढी भय सिर्जना गर्छन् ।’

सुझाव, सल्लाह दिनुभन्दा पनि आतंक सिर्जना गरेर मानिसलाई गलाउने गरिएको अञ्जनाको दुःखेसो छ । उनलाई बिहान-बेलुकी तरकारी किन्न बाहिर ननिस्की सुख छैन । भन्छिन्, ‘छोराछोरीलाई भने बाहिर निस्कन दिएका छैनौँ ।’

तर, अञ्जनालाई ट्रेसिङ गरी अहिलेसम्म आफूहरुको स्बाव संकलन नगरेकोमा भने खेद छ । ‘खै कसैको पनि टेस्ट गर्न आएका छैनन् । न त खबर नै गरेका छन्’, सोमबार साँझमा भेटिएकी अञ्जनाले भनिन्, ‘अब आफंै पैसा खर्च गरेर परीक्षण गर्न जानुपर्ला ।’

असर्फी टोलको परीक्षणको रिपोर्ट सरुवा रोग अस्पताल, टेकुले सोमबार फेरि दोस्रो किस्तामा वडालाई जानकारी गराएको छ ।
वडा सदस्य हिरादेवी पोखरेलका अनुसार सोमबार दुई बालकसहित चार कोरोना पोजेटिभ देखिएको बताइन् । कोरोना अस्वाभाविकरुपमा फैलँदै छ भन्ने कुरा यो उदाहरणले पनि पुष्टि गर्छ ।

सोचौँ त ती चारजनाले शनिबार आइतबार र सोमबार कतिजनासँग कोरोना शेयर गरे होला ?

‘टेकुले कतिजनाको परीक्षण गरिसकेको भनेर जानकारी दिएको छैन’, सदस्य हिरादेवीले भनिन्, ‘परीक्षण गर्दै रिपोर्ट भन्दै गरेको छ । संक्रमितको संख्या अझै बढ्ने देखिन्छ,’ सोमबार देखिएका संक्रमितलाई साँझ ९ बजेतिर अस्पताल पुर्‍याइएको छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment