Comments Add Comment

‘जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय’

शीशाको घरमा बसेर ढुंगा हान्नेहरू पतन हुनु अनिवार्य छ : सूर्य थापा

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको छ ।

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख छ ।

त्यसको दुई दिनपछि मंगलबार बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गरेका छन् ।

थापाको प्रेस नोटमा लेखिएको छ, ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

निहीत स्वार्थ पूरा गर्न ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको र यो कुनै नौलो कुरा नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment