
३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ ।
नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज अन्तर्राष्ट्रिय उडानमा छन् । त्यसमध्ये २७४ सीट क्षमताको दुई र १५८ सीट क्षमताका दुई जहाज उद्धार उडानमा लगाइएको छ ।
सरकारले १ असारबाट नेपालीको उद्धारका लागि उडान शुरु गरेको थियो । यो अवधिमा करिब ५० हजार ५ सयभन्दा बढी नेपाली घर आएका छन् । यसमा करिब एक दर्जन एयरलाइन्सबाट उडान भएको छ । नेपालबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स उद्धार उडानमा खटिएका थिए । श्री एयरलाइन्स र बुद्ध एयरले समेत चार्टर्ड उडान गरेका छन् ।
नेपाल एयरलाइन्सले नेपालीको उद्धार शुरु हुनु अगाडि विभिनन ३० वटा चार्टर्ड उडान गरेको थियो । त्यसमध्ये ९ वटा कार्गो उडान भएका भएका थिए । २१ वटा उडान भने यात्रु बोक्नका लागि चार्टर्ड भएको थियो । त्यस समय अष्टे«लिया र जापानसम्म उडान भएका थिए । ती उडानबाट भने नेपालमा अड्किएका विदेशी नागरिक नागरिक आफ्नो मुलुक फर्किएका थिए ।
नेपाल एयरलाइन्सले कति कमायो ?
गन्तब्य | उडान संख्या | यात्रु | अनुमानित आम्दानी |
---|---|---|---|
बहराइन | ६ | ८४० | ३२९२८० डलर (३९२ डलर/यात्रु |
बैंकक | २ | ३२६ | १२७१४० डलर (३९० डलर/यात्रु) |
ढाका | २ | ५०३ | ८२९९५ डलर (१६५ डलर/यात्रु) |
साउदी अरेविया | २१ | ४९०५ | २४२७९७५ (दमाम, रियाद र जेद्दाद्दको औसतः भाडा ४९५/प्रतियात्रु) |
दोहा | १६ | २४९२ | ९७६८६४ (३९२ डलर/प्रतियात्रु) |
हङकङ | १ | ८३ | ४५६५० डलर (५५० डलर/यात्रु) |
मलेसिया | १३ | २३८९ | ८८८७०८ डलर (३७२ डलर/यात्रु) |
कुवेत | ५ | ८५१ | ३४८९१० डलर (४१० डलर/यात्रु) |
अष्टे«लिया | २ | ४२१ | ६७९९१५ डलर (१६१५ डलर/यात्रु) |
माले | १ | १४३ | ६८६४० डलर (४५० डलर/यात्रु) |
नारिता | ५ | ११६४ | १०८८३४० डलर (९३५ डलर/यात्रु) |
बैंलौर | १ | ८० | २६८०० डलर (३३५ डलर/यात्रु) |
कुल | ९६ | १८२३२ | ७०९१२१७ डलर (८५ करोड ९ लाख रुपैयाँ) |
पौने १ अर्ब आम्दानी
नेपाल एयरलाइन्सले अहिलेसम्म नेपाली र विदेशी नागरिकको उद्धार र कार्गो उडानका दौरान कुल १२७ वटा उडान गरिसकेको छ । यी उडानबाट भएको आम्दानीको कुल हिसाव भने सार्वजनिक गरेको छैन ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले कुल आम्दानी भने टिकटसँग भिडाएर हेर्नु पर्ने भएकाले केही समय लाग्ने जानकारी दिइन् ।
नेपाल एयरलाइन्सले नेपालीको उद्धारका क्रममा भने भाडादर नै सार्वजनिक गरेको थियो । सोही भाडादरका आधारमा नेपाल एयरलाइन्सले उद्धार उडानका दौरान बोकेका कुल १८ हजार भन्दा बढी यात्रुबाट ८५ करोड ९ लाख रुपैयाँ (अनुमानित) आम्दानी गर्न सकेको छ । यो विदेशीको उद्धार र कार्गो उडानभन्दा बाहेकको आम्दानी हो ।
प्रतिक्रिया 4