Comments Add Comment

पोखरामा बढे स्रोत नखुलेका संक्रमित, महानगर नै सिल गर्ने तयारी

३२ साउन, पोखरा । साउन १२ गते पोखरा ५ को एउटा सहकारीको कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । बिना कुनै स्रोत ती कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन थालियो ।

८० जनाको स्वाब संकलन गर्दा अहिलेसम्म वडामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ती कर्मचारीको बाबु र छोरीमा संक्रमण पुष्टि भएको थियो । समुदायस्तरमै संक्रमण फैलिएपछि अहिले वडाले थप ‘क्लोज कन्ट्याक्ट’का आधारमा स्वाब संकलन गरिरहेको छ ।

आइतबारमात्रै उक्त वडाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपाली संक्रमणको स्रोत पत्ता लगाउन लागिपरेको बताउँछन् ।

‘मर्निङ वाक, इभिनिङ वाक सबै बन्द गरिसकेका छौं । वडाबाट बाहिरिने र भित्रिनेहरुमाथि पनि पूरा कडाइ गरिरहेका छौं,’ उनले भने, ‘त्यसबाहेक संक्रमणको स्रोत पत्ता लगाउन स्वाब संकलनलाई पनि बढाउने निर्णय गरेका छौं ।’

साउन १६ गते पोखरामा धर्म प्रर्तककको काम गर्ने ६२ वर्षीय पुरुषलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन प्रक्रिया नसकिँदै साउन २५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

उक्त वडा हाल सिल गरिएको छ । ‘अहिलेसम्म १ सय ५० जनाभन्दा बढीको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ । अहिले हामी संक्रमण स्रोत पत्ता लगाउन नै लागिपरेका छौं,’ वडाध्यक्ष शोभामोहन पौडेलले भने ।

पोखरा महानगरकै वडा नम्बर १६ मा पनि आइतबारमात्रै संक्रमण बिनाको २ नयाँ ‘केस’ थपिएको छ । २ जना व्यवसायी महिलालाई आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘१९ र १६ वडाको सीमानामा व्यवसाय गर्ने २ जना महिला संक्रमित भेटिएका छन् । ती ठाउँमा पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरिसक्यौं,’ पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले भने, ‘उहाँहरु अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’

पोखरा २६ मा वडा कार्यालयमा कार्यरत कर्मचारीको पनि संक्रमण स्रोत खुलेको छैन । अहिले वडा नै सिल गरिएको छ ।

१४ जना संक्रमितको स्रोत खुलेन

पोखरा महानगरमा भेटिएका कुल २ सय ४ संक्रमितमध्ये १४ जना संक्रमितको स्रोत नखुलेको स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘अधिकांश बाहिरी जिल्ला र देशबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमित छन् । उनीहरु क्वारेन्टिनमै भएकाले समस्या छैन,’ अधिकृत आचार्यले अनलाइनखबरसँग भने, ‘तर, समुदायस्तरमै पनि देखिन थालेको छ ।’

पोखराका कुल संक्रमितमध्ये आइतबारसम्म १ सय ७ जना निको भएर घर फर्किसकेका छन् । पोखरामा एक जना संक्रमितको उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार मृत्यु भएको थियो ।

महानगरले भन्यो : अब लकडाउन गर्छौं

लकडाउन खुकुलो भइसकेको अवस्थामा समुदायस्तरबाटै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने गरी लागिरहेको मेयर मानबहादुर जिसीले बताएका छन् ।

‘यहीबेला चाडबाड पनि नजिक आउन थालेको छ । बजारमा चहलपहल बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम झनै बढेको छ,’ उनले अनलाइनखबरसँग भने, ‘आज (आइतबार) मात्रै सर्वदलीय बैठक बसेर लकडाउन कडा रुपमा अघि लैजाने सल्लाह भएको छ । सायद २/३ दिनमै लकडाउनलाई कडाइ गर्छाैं होला ।’

मेयर जिसीले महानगरलाई तत्काल सिल नगरे कोरोना समुदायस्तरमा झन् फैलिने र त्यसले महानगरलाई नै हानी गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment