Comments Add Comment

वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण, मोबाइलबाटै रिपोर्टबारे जानकारी

फाइल तस्वीर

१ भदौ, वीरगञ्ज । वीरगञ्जमा एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस प्रविधि पनि राम्रो छ । जीन एक्सपर्ट प्रविधिबाट एक साता अघिदेखि नै कोरोना परीक्षण भइरहेको उनले बताए ।

तर यो विधिबाट सबैका लागि परीक्षण भने सम्भव छैन । सामान्य अवस्थामा नर्मल आरटी पीसीआर नै गरिन्छ ।

‘रिएजेन्ट महंगो छ, वीरगञ्जमा तीन सय किट मात्रै आएको छ । सबैका लागि यो गर्न सकिन्न । आकस्मिक अवस्थाका लागि यसको प्रयोग गरिरहेका छौं,’ डा. उपाध्यायले भने, ‘सघन उपचार कक्षमा उपचाररत, गम्भीर अवस्थाका बिरामी तथा मृत्यु भइसकेको डेडबडी व्यवस्थापनका लागि यसको प्रयोग भइरहेको छ ।’

वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएका रौतहटका युवकको पनि सोही प्रविधिबाट कोरोना परीक्षण गरिएको उनले बताए ।

रिपोर्टको जानकारी एसएमएस मार्फत

संक्रमितको संख्या बढ्दै गएपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालाले रिपोर्टका बारेमा समयमै जानकारी दिन नसकेको गुनासो आइरहेको छ । पोजेटिभ रिपोर्टको जानकारी स्वास्थ्य कार्यायलय वा जिल्ला प्रहरी कार्यालयले गठन गरेको कोभिड टाक्स फोर्सले दिने गरेको छ ।
नेगेटिभ रिपोर्टको जानकारी पाउनका लागि सर्वसाधरणलाई सास्ती भइरेको छ । तर अब उनीहरुको कोरोना परीक्षण रिपोर्टबारे जानकारी मोबाइलमै एसएमएसमार्फत जाने अस्पतालले जनाएको छ ।

३१ गतेसम्मको रिपोर्ट सिस्टममा इन्ट्री गरिसकिएको छ । व्यक्तिले सही मोबाइल नम्बर दिएको छ भने नेगेटिभ रिपोर्टको जानकारी मोबाइलमा एसएमएस मार्फत जान्छ । पोजेटिभ रिपोर्ट आएका अर्थात कोरोना संक्रमण पुष्टि भएकालाई भने पुरानै प्रक्रियाबाट जानकारी गराइनेछ ।

मेडिकल सुपरीटेन्डेन्ड डा. उपाध्यायका अनुसार कुनै प्राविधिक समस्या नआएको खण्डमा भदौ १ गते सोमबारदेखि रिपोर्टको जानकारी एसएमएसबाट पठाउने तयारी भइसकेको छ ।

‘टेस्ट ट्राइल गरिसकेका छौं, साउन ३२ गतेदेखिको रिपोर्टको जानकारी अब मोबाइलमै एसएमएसमार्फत जान्छ,’ उनले भने, ‘ यसबाट सर्वसारधणले रिपोर्ट पाउनका लागि भोग्नु परेको समस्या समाधान हुने विश्वास लिएका छौं । ’

७२ घण्टाभित्र रिपोर्टको कपी कलेक्सन गर्न सक्ने गरी व्यवस्था गरिएको दाबी उनले गरे ।
यसका लागि २५ सय रुपैयाँ बार्षिक र प्रत्येक एसएमएसको दुई रुपैयाँ खर्च लाग्नेगरी सम्झौता भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काम गरेको प्राविधिक कम्पनीले नै नारायणीमा पनि काम गरेको छ ।

४ करोडको क्रिटिकल केयर सामग्री

नारायाणी अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले क्रिटिकल केयरका सामग्री पठाएको छ । झण्डै ४ करोड मूल्य बराबरको क्रिटिकल केयरका सामग्री आएको अस्पतालले जनाएको छ ।

दुई दिनअघि डिजिटल एक्स–रे, एक्स–रे, इन्फ्युजन पम्प, सिरिन्ज पम्प, डायलायसिस मेसिन, अल्ट्रा साउन्ड मेसिन, प्यासेन्ट मनिटर, पल्स अक्सिमिटर लगायत क्रिटिकल केयरका समग्री अस्पतालमा आएको डा. उपाध्यायले जानकारी दिए । फोहोर राख्ने ठूला–ठूला ड्रम पनि अस्पतालमा आएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment