Comments Add Comment

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

२ भदौ, पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो ।

पोखराका ८७ वर्षीय वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उनमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।

डा. आचार्यका अनुसार उनमा डायबिटिज र मिर्गौलाको समेत समस्या थियो ।

सुरुमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरेर उपचार थालिएको थियो । कोरोना संक्रमणको लक्षणसमेत देखिएकाले स्वाब परीक्षण गर्दा सोमबार उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनको उपचारमा खटिएका डाक्टरदेखि इमर्जेन्सी वार्डका स्वास्थ्यकर्मी गरी १३ जनालाई क्वारेन्टिनमा राखिएको छ भने इमर्जेन्सी वार्ड बन्द गरिएको छ ।

पोखराकै एक अस्पतालबाट प्रतिष्ठानको अस्पतालमा उनलाई रिफर गरिएको थियो । कोरोनाको लक्षण देखिएकाले उनलाई पि्रआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने थियो तर सीधै इमर्जेन्सीमा उपचारका लागि लगिएको थियो । जहाँ अन्य बिरामी पनि थिए भने चिकित्सकले पीपीईको प्रयोगसमेत नगरेको पाइएको छ ।

मिर्गौलाको समस्याका कारण श्वासप्रश्वासमा समस्या देखिएकाले थप उपचार भइरहेको र पछिमात्र कोरोना संक्रमण पत्ता लागेको उपचारका खटिएका डा.अर्जुनबहादुर बुढाले बताए । ‘प्रेसर र मिर्गौलाको समस्याले श्वासप्रश्वासमा समस्या रहेछ । पहिले उच्च ज्वरो पनि आएको रहेछ,’ डा. बुढाले भने, ‘हामीले इमर्जेन्सी विभागमै उपचार गरिरहेका थियौं । पछिमात्र कोरोना पुष्टि भयो ।’

कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई आइसोलेसनमा र लक्षण देखिएका विरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो । तर, सीधै इमर्जेन्सीमा भर्ना गरेर उपचार गराउँदा डाक्टर र अन्य बिरामीसमेत जोखिममा परेको चिकित्सककै भनाइ छ ।

‘पहिले पि्रआइसोलेसन थियो । तर, पछि त्यसलाई चलाइएन । हामीले पटक-पटक प्रिआइसोलेसनको व्यवस्था गर्न भन्दै आएका छौं,’ इमर्जेन्सीमा खटिने मुटु रोग विशेषज्ञ डा. अमृत केसीले भने, ‘यसो नहुँदा जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आएको छ ।’

‘इमर्जेन्सीमा खटिने धेरै चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने भएपछि सञ्चालनमै समस्या भएको छ,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. आचार्यले भने, ‘अन्य विभागका चिकित्सक खटाएर वा वार्ड मर्ज गरेर भए पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

‘कर्मचारी अभावले प्रिआइसोलेसन चलाउन सकेनौं’

कोरोना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्ने पि्रआइसोलेसन के कारणले व्यवस्था हुन सकेन त ? प्रतिष्ठानका निर्देशक आचार्य भन्छन्, ‘कर्मचारीको अभावले चलाउन सकेनौं ।’

अस्पतालमा प्रिआइसोलेसनको व्यवस्था भए पनि कर्मचारीकै अभावले चलाउन नसकिएको निर्देशक आचार्यले बताए । यसभन्दा अगाडि नै काममा ठिक्क हुने जनशक्तिबाटै कोभिड-१९ का लागि व्यवस्थापन गर्न नसकिएको निर्देशक आचार्यको भनाइ छ ।

‘अस्पतालमा प्रिआइसोलेसनको व्यवस्था छ तर के गर्नु कर्मचारी नै पुग्दैन,’ निर्देशक आचार्यले भने, ‘कोभिड-१९ लक्षित उपचारका लागि प्रदेशलाई पटक-पटक १०/१२ जना कर्मचारी उपलब्ध गराइदिन भनेका छौं ।’

प्रतिष्ठानमा चिकित्सक र अन्य गरी ६ सय १ जना कर्मचारी छन् । तर, ती कर्मचारी प्रतिष्ठानकै लागि अपुग भएको निर्देशक आचार्यको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment