+
+
Shares

मृतकका परिवार र मलामीमा संक्रमणको स्रोत अज्ञात  

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ ६ गते १८:४८

६ भदौ, बुटवल । चितवनको भरतपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा किमोथेरोपी गरेको दुई घण्टापछि हृदयघातबाट मृत्यु भएको भनिएकी बुटवल–११ की एक महिलाको परिवार र मलामी गरी २५ जनामा कोरोना संक्रमण देखिएको छ । तर संक्रमणको स्रोत अझै पत्ता लाग्न सकेको छैन ।

परिवारका सदस्य र मलामीमा कोरोना भाइरस संक्रमण मृतक महिलाबाटै सरेको हो वा अन्यबाट भन्ने यकिन नहुँदा कन्ट्याक्ट ट्रेसिङ गर्नै समस्या भएको छ । साउन १७ गते राति चितवनको क्यान्सर अस्पतालमा निधन भएकी तारा पन्थको हिन्दु संस्कार अनुसार बुटवलको मैनाबगर रामघाटमा साउन १८ गते दिउँसो दाहसंस्कार भयो ।

दाहसंस्कारको तीन दिनपछि बुटवलमा समुदायस्तरमा कोरोना भए–नभएको थाहा पाउन लुम्बिनी प्रादेशिक अस्पतालमा र्याण्डम स्याम्पलिङ गरिएको थियो । मृतकका देवर सत्तारुढ दल नेकपाकै स्थानीय नेता भएकाले उनको पनि स्वाब संकलन भयो । साउन २४ गते उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि बल्ल प्रश्न र चिन्ता सँगसँगै उठ्यो कोरोना भाइरस संक्रमणको स्रोत मृतक महिला थिइन् या अरु कोही ?

मृतक महिलाको कोरोना परीक्षण भएको थिएन । उनको मृत्युपछि परिवारका सदस्यले कोरोना चेकजाँच गर्नुपर्छ कि भनेर सोधे पनि अस्पतालका डाक्टरले कोरोनाले होइन हृदयाघात भएर निधन भएकाले गर्नु नपर्ने बताएको मृतकका देवरको दावी छ ।

मृतकका देवरको पोजेटिभ रिपोर्ट आएपछि शंका लागेर दाहसंस्कारमा सहभागी परिवारका सदस्य र मलामीमा परीक्षण गर्दै जाँदा शनिबारसम्म मृतकका श्रीमान्, किरिया बसेका छोरा र अन्य छोराछोरी सहित परिवारका ८ जना र उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका २२ जनामध्ये किरिया गराउने पण्डितसमेत १७ जनामा पनि कोरोना देखियो । संक्रमित १७ जनामा मृतकका परिवारलाई भेट्न आएका बुटवलस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारी, तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारी र बुटवल उपमहानगरपालिकाका अधिकृतसमेत छन् ।

पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७ जनाको रिपोर्ट आउन बाँकी छ  ।

१०१ जना गएका थिए मलामी

दाह संस्कारमा परिवारका सदस्यसहित १०१ जना सहभागी भएकामा २५ जनामा कोरोना पुष्टि भइसकेको छ । ७१ जना मलामी र पछि संक्रमण पुष्टि भएका १७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरुको कोरोना जाँच गर्न बाँकी छ । ‘पोजेटिभ देखिएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिन्छ,’ बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले भने, ‘तर संक्रमण कहाँबाट फैलियो भन्ने यकिन हुन सकेको छैन ।’

अस्पताल भर्ना गर्ने क्रममा र मृत्युपछि दुवैपटक स्वाब संकलन नगरिएकाले संक्रमणको स्रोत यही नै हो भनेर प्रमाणित हुने आधार नभएको खनालले बताए । क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट, मृतकलाई बोकेको एम्बुलेन्स वा चालकबाट, मलामी गएका कसैबाट, घरकै सदस्यबाट वा दाहसंस्कार गर्दा घाटबाटै पो संक्रमण सर्यो कि भनेर अहिले अनेक आशंका भइरहेका छन् ।

पीडामाथि पीडा थपियो : परिवार

मृतक परिवारका सदस्यले कोरोना फैलाएजसरी केही सञ्चारमाध्यममा समाचार आउँदा पीडामा परेको परिवारमाथि थप पीडा भएको मृतकका देवरको गुनासो छ । ‘अस्पतालले भाउजुको कोरोना परीक्षण गर्न भनेको भए यस्तो अन्योलता हुने थिएन,’ उनले भने, ‘त्यसो नहुँदा अहिले यो घटनाले हामी सबैलाई आश्चर्यचकित बनाएको छ, झन् हामीले नै जानीबुझी कोरोना फैलाएकोजसरी प्रचार हुँदा असह्य पीडा थपिएको छ ।’

कोरोना अस्पतालबाहेक अन्य अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको पीसीआर जाँच अनिवार्य नभएकाले एउटा बिरामीमा संक्रमण भए सबै विरामीमा फैलिनसक्ने खतरा रहेको बुटवल कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा बताउँछन् । बुटवलमा शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?