Comments Add Comment

कोभिडको असर बैंकमा– नाफा घट्यो, खराब कर्जा बढ्यो

यस्तो छ बैंकहरुमा निष्कृय कर्जाको अवस्था

७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने पुष्टि गराउँछ ।

गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांक हेर्ने हो भने कमर्सियल बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

यो पनि पढ्नुहोस बैंकहरुले कमाए ५४ अर्ब, एक वर्षमा ८६८ करोडले घट्यो नाफा

कोभिडका कारण बैंकको नाफामात्रै घटेको छैन, निष्कृय कर्जासमेत बढेको छ । ११ चैतदेखि भएको १२० दिन लामो लकडाउनमा पनि बैंकहरुले सेवा सुचारु राखे पनि यसको असर भने राम्रै देखिएको छ । देशभर कोरोना त्रासका कारण नयाँ व्यवसायहरु सञ्चालनमा आउन सकेनन् भने सञ्चालनमै रहेका उद्योगव्यवसायले पनि थप विस्तार गर्न सकेनन् । यसले गर्दा बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम बढ्यो ।

नयाँ कर्जा लगानी त हुन सकेन नै लगानीमा रहेका कर्जाको समेत ब्याज नउठ्दा बैंकहरु थप समस्यामा परे । अघिल्लो आर्थिक वर्ष १.४४ प्रतिशत रहेको बैंकहरुको निष्कृय कर्जा बढेर १.७३ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल कोभिडकै कारण बैंकहरुको निष्कृय कर्जा बढेको बताउँछन् । कोभिडका कारण व्यापारव्यवासय नहुँदा त्यसको असर बैंकसम्म पुगेको उनले बताए । ‘कोभिडको कारण व्यापार व्यवसाय हुन सकेन, व्यापार व्यवसाय नभएपछि ब्याज आएन,’ कार्यकारी निर्देशक ढकालले भने, ‘उठ्नुपर्ने पैसा नउठेपछि त यसको असर पर्ने नै भयो, यसकारण बैंकको एनपीएल (निष्कृय कर्जा) बढेको छ ।’

एनएमबि बैंकका अध्यक्ष विन गोल्यान पनि बैंकिङ क्षेत्रमा कोभिडको असर परेको बताउँछन् । जसको प्रभाव निष्कृय कर्जामा देखियो । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानले प्रोभिजनिङ सम्बन्धी व्यवस्थाका कारण पनि अधिकांश बैंकहरुको निष्कृय कर्जा बढेको बताए ।

कम ‘एनपीएल’ भएका ५ बैंक

निष्कृय कर्जा कम हुने बैंकहरुमा विदेशी लगानी रहेका बैंकहरु अग्रपंक्तिमा देखिएका छन् । निष्कृय कर्जा (एनपीएल) सबैभन्दा कम हुने बैंकमा एभरेष्ट बैंक पहिलो नम्बरमा रहेको छ । पञ्जाव नेशनल बैंक, भारतको लगानी रहेको यो बैंकको सबैभन्दा कम अर्थात ०.२२ प्रतिशतमात्रै एनपीएल रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ०.१६ प्रतिशत रहेको एनपीएल बढेर गत आर्थिक वर्ष २०७६/७७ मा ०.२२ प्रतिशत पुगेको छ ।

एनपीएल कम हुने दोस्रो नम्बरमा विदेशी लगानी रहेको नेपाल एसबीआई बैंक देखिएको छ ।

नेपाल एसबीआई बैंकको ०.२३ प्रतिशत निष्कृय कर्जा रहेको छ । अघिल्लो आर्थिक वर्ष ०.२० प्रतिशत रहेको एनपीएल बढेर ०.२३ पुगेको हो ।

यसैगरी तेस्रो नम्बरमा स्टाण्डर्ड चार्टड बैंक देखिएको छ भने चौथो नम्बरमा सानिमा बैंक र पाँचौ नम्बरमा माछापुच्छ्रे बैंक रहेको छ । यी बैंकहरुको क्रमशः ०.१५ बाट ०.४४, ०.०८ बाट ०.४८ र ०.३७ बाट ०.५४ प्रतिशत निष्कृय कर्जा छ ।

जसले घटाए ‘एनपीएल’

अधिकांश बैंकहरुको निष्कृय कर्जा बढ्दा केही बैंकले भने घटाएका छन् । यस्तो महामारीकाबीच पनि एनपीएल घटोउने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् ।

पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय बैंक एनपीएलका आधारमा हेर्ने हो भने सबै बैंकभन्दा पछाडि छ । अर्थात सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एनपीएल यो बैंकको रहेको छ ।

यद्यपि यसपालि एनपीएल घटाउन राष्ट्रिय वाणिज्य बैंक सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ४.७९ प्रतिशत रहेको निष्कृय कर्जालाई बैंकले गत असार मसान्तसम्म घटाएर ४.०८ प्रतिशतमा झार्न सफल भएको छ ।

किष्ट र ग्रान्ड जस्ता निकै कमजोर बैंकलाई गाभेको प्रभु बैंकले पनि पछिल्लो समय निष्कृय कर्जा घटाउँदै लगेको छ । २०७६ असार मसान्तसम्म ३.७६ प्रतिशत रहेको एनपीएललाई घटाएर प्रभु बैंकले २०७७ असार मसान्तसम्म २.८१ प्रतिशतमा झारेको छ ।

सरकारी लगानी रहेका अन्य दुई बैंकहरु कृषि विकास बैंक र नेपाल बैंकले पनि एनपीएल घटाएका छन् । कृषि विकास बैंकको एनपीएल २०७६ असार मसान्तसम्म ३.२९ प्रतिशत रहेकोमा अहिले घटेर २.७१ प्रतिशतमा झरेको छ ।

यसैगरी मुलुककै जेठो बैंकले पनि एनपीएलको अवस्थामा कोरोना त्रासकाबीच सुधार गर्न सफल भएको छ । नेपाल बैंकको २०७६ असार मसान्तसम्म यस्तो कर्जा २.६४ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा झिनो अंकले घटाएर बैंकले २.५९ प्रतिशत कायम गर्न सफल भएको छ ।

कुन बैंकको कति छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment