Comments Add Comment

‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाउन तयार’

नेकपाकी सांसद रामकुमारी झाँक्री

११ भदौ, काठमाडौं । काठमाडौं जिल्लाबाट निर्वाचित संघीय सांसदहरु, सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को रकमबाट कोभिड अस्पताल बनाउन तयार भएका छन् । तर, यसबारे प्रदेश सरकार र स्थानीय सरकारसँग थप छलफल गरेर निर्णय पुगिने नेकपाकी सांसद रामकुमारी झाँक्रीले बताइन् ।

काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण र रोकथाम तथा नियन्त्रणका प्रयास सम्बन्धमा काठमाडौंबाट निर्वाचित सांसदहरुबीच बुधबार छलफल भएको थियो ।

छलफलमा सांसद विकास कोषको रकम, विकास आयोजनामा खर्च गर्न सकिने अवस्था नरहेको भन्दै सांसदहरुले कोभिड अस्पताल बनाउनुपर्ने बताएका हुन् ।

‘सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाऔं भन्ने भएको छ,’ सांसद झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘हामी १० जना संघीय सांसद छौं । ४ करोडका दरले ४० करोड जम्मा हुन्छ । प्रदेश सरकारबाट २० करोड र स्थानीय तहबाट ४० करोड आयो भने १ अर्बमा राम्रो अस्पताल बनाउन सकिन्छ ।’

सांसद विकास कोषको रकमबाट कोभिड अस्पताल बनाउने विषयमा प्रदेश सरकार र स्थानीय तहसँग थप छलफल गरेर जाने सांसदहरुको तयारी छ ।

सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउन सुझाव

काठमाडौंबाट निर्वाचित सांसदहरुले वडाअध्यक्षको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका छन् ।

‘स्थानीय क्लब, आमा समूहहरु समेत रहने गरी वडाअध्यको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर जान सरकारलाई सुझाव दिने तय भएको छ,’ झाँक्रीले भनिन्, ‘यीलगायतका सुझावलाई लिपिबद्ध गरेर प्रधानमन्त्री कार्यालयमा बुझाउँछौं ।’

उनका अनुसार प्रधानमन्त्री कार्यालयलाई दिइने सुझावमा थप क्वारेन्टिन निर्माण गर्नुपर्ने, आइसोलेसन निर्माण गर्ने, आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाउनुपर्ने विषयहरु पनि समेटिनेछन् ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि बनाएका कतिपय स्वास्थ्य प्रोटोकल कार्यान्वयन नभएको सांसदहरुले बताएका छन् ।
बिहान–बेलुकी खुद्रा पसलमा हुने भीड, निषेधाज्ञापछि खुल्ने पसल, होटल, रेष्टुरेन्टले पालना गर्नुपर्ने नियम पालनाका सन्दर्भमा अनुगमन गर्नका लागि समेत सर्वदलीय, सर्वपक्षीय संयन्त्र बनाउनु उपयुक्त हुने उनीहरुको बुझाइ छ ।

यसैगरी, कोरोना भाइरस संक्रमित र अन्य रोगका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गराउन नहुने सांसदहरुले बताएका छन् ।

छुट्टाछुट्टै अस्पतालका लागि सरकारी अस्पताल अप्रयाप्त भए निजी अस्पताल भाडामा लिन सरकारलाई उनीहरुको सुझाव छ ।

आफैँ स्वास्थ्य प्रोटोकल बनाएर लागू गर्ने !

सरकारले बनाएको स्वास्थ्य प्रोटोकल प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको सांसदहरुको निष्कर्ष छ ।

स्वास्थ्य प्रोटोकल लागू गरेर सरकारले ३ महिना लामो लकडाउन खोलेको थियो । तर, लकडाउन खुलेपछि स्वास्थ्य प्रोटोकल कार्यान्वयन नहुँदा उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको सांसदहरुको बुझाइ छ ।

अब पनि स्वास्थ्य प्रोटोकल प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्ने विश्वासिलो आधार नभएको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिहरुसँग मिलेर जनप्रतिनिधिहरुका तर्फबाट छुट्टै स्वास्थ्य प्रोटोकल बनाउने र लागू गर्ने संघीय सांसदहरुको तयारी छ ।

‘आफैँ प्रोटोकल बनाएर लागू गर्ने विषयमा पनि छलफल भएको छ । तर, यसले अन्तिम रुपमा पाएको छैन,’ झाँक्रीले भनिन्, ‘यसबारे स्थानीय तहसँग छलफल गर्छौं ।’

झाँक्रीका अनुसार बु्धबारको छलफलमा ८÷९ जना सांसद सहभागी थिए । बुधबार राखिएका सुझावलाई लिपिवद्ध गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाउने र बाँकी कदमका लागि पुनः छलफल गर्ने सांसदहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment