Comments Add Comment

राम जन्मभूमि अयोध्या र भूमिहीन चेपाङको बहस

यतिखेर सारा विश्व कोभिड–१९ (कोरोना भाइरस) सगँ जुधिरहेको छ । हामी पनि यसबाट प्रभावित नहुने भन्ने कुरै भएन । हाम्रो स्रोत–साधनले भ्याएसम्म कोरोना संक्रमितको संख्या शुन्य अवस्थामा राख्न दिनरात क्रियाशिल छौ ।

कोरोना कहर एकातिर छ, यहीबीचमा माडी नगरपालिका बाहिरबाट हेर्दा दुई विषय चर्चामा छ । आन्तरिकरुपमा यो या त्यो मानेमा विभक्त भएझैँ देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले भूमिहीन चेपाङ समुदायको घरमा गरेको आगजनी र तिनीहरुका निम्ति घर बनाउन गरेको अवरोध अनि प्रधानमन्त्रीज्यूद्वारा घोषित राम जन्मभूमि अयोध्या माडीमै रहेको अभिब्यक्तिपछि सुरु भएको खोज तथा अनुसन्धानको घटनाक्रमका बीच प्राथमिकरणको बहस अहिले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा चर्काेरुपमा देखा परेको छ ।

सामाजिक सञ्जालहरुमा आएका कृया–प्रतिक्रियाहरु सतहमा नै देखापरेका छन् । आफ्ना मनमा लागेका कुरा अभिब्यक्त गर्ने स्वतन्त्रता सबैलाई छ । तर, आफ्ना विचारहरु राख्दा घटनाक्रम बुझेर सत्य–तथ्य अनि यथार्थता, त्यसको दुरगामी फाइदा वा बेफाइदामा रहेर टिप्पणी गर्दा त्यो ओझिलो हुने गर्दछ ।

तसर्थ, बौद्धिक ब्यक्तित्व तथा सचेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आगामी दिनमा यसतर्फ ध्यान पुर्‍याउनु नै हुनेछ ।

माडीको समग्र विकासका लागि अन्य विषयझैं यी दुबै विषय अझै प्रधान छन् । माडीको सुकुम्बासी समस्या धेरै पुरानो हो । हामी निर्वाचित भएर आइसकेपछि भूमीहीन किसानका समस्या समाधानका लागि निरन्तररुपमा प्रयत्नशील छौं ।

सबैले महसुस गर्ने गरी कुसुमखोला निवासी चेपाङ्ग समुदायको ब्यवस्थापनका लागि हामीले सक्दो प्रयास गर्‍यौं । २०४८ देखि २०५३ साल सम्म कुसुमखोला वरिपरिको राष्ट्रिय निकुञ्जको मध्यवर्ती वनमा करिब ४०० विघा क्षेत्रफल जमिनमा अब्यवस्थित रुपमा बसेका २०७४ सालको तथ्याङ्क अनुसार १६० भए पनि २०७७ जेठ महिनामा सो तथ्याङ्क अध्यावधि गर्दा बढेर १९१ घर बस्दै आएका थिए । २०७४ सालमा आएको भिषण बाढीले विस्थापित हुन पुगेका भूमिहीन चेपाङ समुदायलाई माडी नगरपालिका वडा नं. ९ को प्याउली र राईटोल अनि वडा नं. ७ को गैरिटोलमा एकीकृत नमुना बस्ती निर्माण गरी ब्यवस्थित बसोबासका लागि केही घर बन्ने लगायत धेरै नै काम अगाडि बढिसकेपछि चितवन राष्ट्रिय निकुञ्जबाट रोक्ने काम भयो ।

भूमिहीन चेपाङ समुदायको व्यवस्थापनमा जुन अवरोध भयो, त्यसको बारेमा नेपाल सरकार तथा वन मन्त्रालयलाई जानकारी गराउने तथा घर बनाउने वातावरण तत्कालै बनाइदिन निरन्तर पहल गरिरहेका छौं । निरन्तर पहलका वीच रोकिएका घर बनाउन र बस्ती व्यवस्थापनका बारेमा आधिकारिक निर्देशन आउन केही विलम्ब भएकोचाहिँ पक्कै हो । विलम्ब भएतापनि भूमिहीन चेपाङ समुदायको कष्टकर दैनिकीका कारण माडी नगरपालिकाले नै पहल गरी गत साउन १९ गते उनीहरुको घर बनाउन खोज्दासमेत चितवन राष्ट्रिय निकुञ्जकै कारण निर्माण कार्य रोकिएको छ । जुन आजका मितिसम्म पनि सुरु हुन सकेको छैन ।

यहीबीचमा, सम्माननीय प्रधानमन्त्रीज्यूबाट अयोध्याका सन्दर्भमा आएको अभिब्यक्ति अनि त्यसपश्चात राम जन्मभूमिका बारेमा अगाडि बढेका केही काम र भूमिहीन चेपाङ समुदायका रोकिएको घर बनाउने कार्यलाई एउटै तराजुमा राखेर विष्लेषण गर्न थालियो ।

यी दुवै फरक विषय हुन् र माडीवासीका लागि यी दुवै साझा र महत्वका विषय हुन् । विषयको गाम्भीर्यलाई नबुझी माडीको एकतालाई खलल पुर्‍याउने जुन धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी भएको छ, यो समग्र माडीका लागि घातक छ ।

अयोध्याका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूसँगको भेटमा हामीले भनेका छौं– भूमिहीन चेपाङ समुदायका रोकिएका घर बनाउने कुरा छोडेर राम मन्दिर बनाउने कुरा मात्रै सान्दर्भिक नहुन सक्छ । दुवै काम सँगै अगाडि बढाइयोस् अझ यो या त्यो समूहका रुपबाट विषयलाई ब्याख्या गर्दै हिलो छ्यापा–छ्यापको जुन श्रृंखला चलिरहेको छ, यसले गन्तव्यमा पुगिँदैन भन्ने सामान्य हेक्का सबैमा हुनु जरुरी छ । हामी सबैले माडीलाई केन्द्रविन्दुमा राखेर चिन्तन नगर्ने हो भने हामीले भनेजस्तो समृद्ध नयाँ माडी बनाउन सक्दैनौं।

भूमिहीन चेपाङ समुदायको घर बनाउँदै गर्दा आफ्ना निहित स्वार्थ पूर्ति गर्न निकुञ्ज प्रशासनप्रति बफादारी देखाउन बेनामे उजुरी हालेर घर बनाउने प्रक्रियामा अवरोध गर्नेहरु माडी विकासका बाधक हुन् भन्ने सबैमा जानकारी हुनु जरुरी छ ।

यद्यपि, बेनामे उजुरी हाल्नेहरु को हुन् भन्नेमा म अनि माडीबासी जानकार छौं । बेनामे उजुरी पर्‍यो भन्दैमा हामी भूमिहीन चेपाङ समुदायको घर निर्माण कार्यबाट पछि हटेका छैनौं । यस कार्यलाई यथासक्य चाँडै नै पुनः सुरुवात गर्नका लागि हामी प्रयत्नशील छौं ।

राष्ट्रिय निकुञ्ज र माडीबासी जनताबीच कुनै पनि द्वन्द्व नबढाई सहजताको प्रयास गर्दा घरहरु सहजै बन्ने परिस्थिति बनोस् भन्ने पर्खाइले केही ढिला भएको सत्य हो । भूमिहीन चेपाङ समुदायका घर बनाउन ढिला हुँदा उनीहरु चुहिने खरका छानामा रात बिताउन बाध्य हुनुपरेको पीडा मैले महसुस गरेको छु ।

यो बीचमा राम जन्मभूमि अयोध्याका सन्दर्भमा काम अगाडि बढ्दै गर्दा माडी नगरपालिका भूमिहीन सुकुम्बासी चेपाङ समुदायका समस्या समाधान गर्न छाडेर अयोध्यानगरी खोज्न हिँड्यो भनेर केही बुद्धिजीवी, सामाजिक सञ्जाल प्रयोगकर्ता अनि केही मिडियाहरुले हल्कारुपका टिप्पणी गरेकोप्रति पनि हामी जानकार छौं ।

मैले आधिकारिक रुपमा भन्दै आएको छु, माडीका लागि यी दुवै विषय दुरगामी महत्वका छन् । यी दुवै विषय अगाडि बढ्नुपर्दछ र बढाइन्छ पनि । तत्कालका लागि भूमिहीन चेपाङ समुदायका घर बनाउने कार्यको थालनी नगरी अयोध्याको विषयलाई मात्रै प्राथमिकता दिइयो भन्ने कुरा सत्य होइन ।

मेरो राजनीतिक सिद्धान्त, वर्गपक्षधरता र प्राथमिकताप्रति म सचेत छु । पार्टीले गरेको विश्वास अनि जनताले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै सबै जनताको भावना बुझेर कार्यसम्पादन गर्नु मेरो गहन दायित्व हो । जुन वर्गको हकअधिकारका लागि मेरो राजनीतिक जीवन व्यतित गरेको छु, तिनीहरुकै मुद्दाबाट पछाडि हट्यो भन्नु कामको परिणामले हतोत्साहित भएकाहरुको विचलित मानसिकताको हुटहुटी मात्रै हो ।

मेरो नगरप्रमुखको जिम्मेवारी अब झन्डै २० महिना बाँकी छ । कुसुमखोलाका सम्पूर्ण सुकुम्बासी चेपाङ्गहरुको केहीदिनमै घर बनाउने, बाँदरझुला लगायत माडीभरका सुकुम्बासीहरुको समस्या समाधानका लागि ठोस कार्य अनि निकुञ्ज ऐन–२०२९ ले माडीमा पारेका समस्या समाधान हुने गरी निकुञ्ज ऐन संशोधन गर्ने संकल्पका साथ आवाज बुलन्द पार्दै आएको थिएँ । अब बाँकी समय उधारो आश्वासनमा रुमल्लिने हैन, ठोस नतिजा आउने गरी अगाडि बढ्ने कुरामा विश्वास दिलाउन चाहन्छु ।

विभिन्न धर्मग्रन्धहरुमा उल्लेख भएका कुरा तथा प्राचीनकालदेखि नै माडी धार्मिक क्षेत्र भएको धार्मिक दस्तावेज र इतिहासहरु साक्षी छन् । सोहीअनुसार नै माडीको धार्मिक पर्यटन विकासका लागि हामीले सुरुदेखि नै खोज तथा अनुसन्धान गर्दै आइरहेकै थियौं । सोही क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले राम जन्मभूमि अयोध्या माडीमै हो भन्ने धारणा राखेपश्चात यो चर्चाको विषय बनेको हो ।

अहिले समिति नै बनाएर यसको अनुसन्धान र पूर्वाधार विकासका लागि कार्य प्रारम्भ भएको छ । यो माडीको पर्यटन विकासको महत्वपूर्ण कडी हो, जसले समृद्ध माडी बनाउने हाम्रो चाहनाको केही हिस्सा पूर्ति गर्छ । फेरि पनि यसको ब्यापकता, यसको भौतिक संरचना बनाउने लगायतका विषयमा वृहत्तर गुरुयोजनासहित अयोध्या धाम निर्माणका लागि हामी सबै माडीबासीले एक भई आवाज उठाउनुपर्दछ ।

ब्यक्तिको वाक स्वतन्त्रता छ । सबैखाले विचारको म सम्मान गर्दछु । केहीले विषयलाई अनावश्यक बढाइ–चढाइ गरी अयोध्याको विरोध गर्दै सामाजिक सञ्जालका भित्ताहरु रङ्ग्याउने र विषयलाई अतिरञ्जित गरी अनावश्यकरुपमा आफूलाई चर्चामा ल्याउने उद्देश्यले माडीका राम्रा कामहरुका पनि विरोध गर्ने, ब्यक्तिगत टीकाटिप्पणी गर्ने कार्यले माडीको भविश्य अन्धकारतिर धकेलिने सम्भावना बढेको छ ।

साँच्चै माडीलाई माया गर्ने हामीबीच आन्तरिक लडाइँ हैन, माडीको एकत्वको प्रदर्शन गरी समग्र माडीको विकासका बारेमा चिन्तित हुनु पहिलो सर्त हो । गलत नियतका हाम्रा प्रस्तुतिहरुमा सुधार नगर्ने हो भने आफ्नो खुट्टामा बन्चरो हान्ने कामबाहेक अरु केही हुँदैन । खास समयमा जनचाहना बुझेर अभिव्यक्ति दिनु र सोहीअनुसारको  कार्य सम्पादन गर्नु नेतृत्वमा हुनुपर्ने गुण हो ।

अयोध्याका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूसँगको भेटमा हामीले भनेका छौं– ‘भूमिहीन चेपाङ समुदायका रोकिएका घर बनाउने कुरा छोडेर राम मन्दिर बनाउने कुरा मात्रै सान्दर्भिक नहुन सक्छ । दुवै काम सँगै अगाडि बढाइयोस् ।’

राजनीतिक आस्था, विचार समूह आ–आफ्ना हुन सक्छन् । तर, समग्र माडीको विकासक्रम अनि माडीका तमाम समस्या समाधानका लागि सबै पक्षको साझा मुद्दा बनाएर अगाडि बढ्नुको विकल्प छैन ।

हरेक क्षेत्रमा आ–आफूले पाएको जिम्मेवारीलाई अवसरका रुपमा नबुझी आफूले भनेको अनुसार भए ठीक, नत्र हुँदैन भन्ने साँघुरो चिन्तनबाट सबैजना मुक्त हुनु आवश्यक छ । एकले अर्काेलाई दोष दिएर, गलत सावित गर्न समय अनि ऊर्जाको बर्वादी गरेर कसैको पनि हित हुँदैन ।

भूमिहीन चेपाङ समुदायका घर बनाउने तथा राम जन्भभूमि अयोध्यानगरीका विषयमा खोज अनुसन्धानका लागि पहल गर्ने कुरामा हाम्रा नेतृत्वहरुको साथ सहयोग हामीले निरन्तर पाइरहेकै छौं ।

हामीले हाम्रै निर्वाचन क्षेत्रबाट निर्वाचित गरी पठाएका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र यो मुलुकका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट उद्घोष गर्नुभएको माडीलाई मणि बनाउने प्रतिवद्धतामा हामीले विश्वास गर्दै अगाडि बढ्ने प्रतिवद्धता गर्नुपर्ने बेला हाम्रो संकीर्णताले नेताहरुलाई थप विवादित बनाउँछ । तसर्थ, हामीले एकता प्रदर्शन गर्न सके मात्र हाम्रो माडीलाई समृद्ध नयाँ माडी बनाउन सक्छौं ।

सबैको ध्यान खिचेको भूमिहीन चेपाङ समुदायको बस्ती ब्यवस्थापन र राम जन्मभुमि अयोध्या दुवै विषयलाई अवसरका रुपमा लिएर माडीबासीको भविश्यसँग गाँसिएका निकुञ्ज ऐन–२०२९ को जनपक्षीय संशोधन, माडीबाट मध्यवर्ती क्षेत्र कटौति, बहुआयामिक रिउ करिडोर, ठाँडा खहरे खोलाहरुमा तटबन्धनका लागि बजेटको ब्यवस्थापन, माडीको सुकुम्बासी समस्या समाधान, माडी चक्रपथ, माडीलाई ईको नगरपालिका घोषणालगायतका परियोजनाहरुलाई साझा मुद्दा बनाई कार्यान्वयनका लागि ठोस पहलकदमीमा जुटौं ।

सबै कोणबाट अहिलेको जस्तो अनुकूल समय पछि नहुन सक्छ, अहिले नबनेको माडी कहिल्यै नबन्न सक्छ । त्यसैले जस लिने होडबाजी अनि जस कसको पोल्टामा जान्छ भन्ने आत्मरतिबाट मुक्त भई यी विषयहरुलाई अवसरकारुपमा लिँदै तमामरुपमा रहेका माडीका समस्या समाधानका लागि सगँसगै पहल तथा दबाब सिर्जना गर्नु बुद्धिमतापूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment