Comments Add Comment

सरकारबाट संस्कृति विरोधी काम भयो : आदिवासी जनजाती महासंघ

१९ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । महासंघले तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयलाई प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थितिलाई काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाइएको छ ।

आदिवासी जनजाति महासंघले पुल्चोकको घटनालाई राज्यबाट भएको ‘संस्कृतिविरोधी काम’ भनेर विरोध जनाएको छ । महासंघ अध्यक्ष जगतबहादुर बरामले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ भदौ १८ गते ललितपुरको पुल्चोक क्षेत्रमा राज्यबाट भएको अपरिपक्व, गैरजिम्मेवार, संस्कृतिविरोधी तथा सुरक्षाकर्मीबाट भएको अनावश्यक बल प्रयोगको घटनाप्रति नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यो पनि पढ्नुहोस समन्वयको अभाव र ‘भ्रम’ले निम्त्याएको झडप

महासंघले पुल्चोकमा स्वःस्फूर्त भेला भएकाहरुलाई दमन गरिएको भन्दै भ्रत्सना पनि गरेको छ । कोभिड–१९ ले निम्त्याएको महामारीको अवस्थामा जात्रा सञ्चालन गर्न गराउन निकासका लागि अनुरोध गर्दा पनि सरकारले लामो समयदेखि गैरजिम्मेवारीपूर्वक अनिर्णित अवस्थामा राखेको र समयमा उचित निकास नदिएको महासंघको आरोप छ ।

‘तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफल सहितको सहमतिमा निकास निकाल्न महासंघ विशेष अनुरोध गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

वर्षौंदेखि चलिआएको रातो मत्स्येन्द्रनाथको रथजात्रालाई निरन्तरता दिनका लागि ठोस निकास निकाल्नुको सट्टा स्वःस्फूर्त रूपमा रथजात्रा सञ्चालन गर्न आएकाहरुमाथि बल प्रयोग गर्ने कार्यले परिस्थिति झन् गम्भीर हुनसक्ने भन्दै महासंघले सचेत गराएको छ ।

साथै, झडपमा घाइते भएकाहरूको उपचारको व्यवस्था र गिरफ्तार भएकाहरूलाई विना शर्त रिहा गर्न पनि नेपाल आदिवासी जनजाती महासंघले माग गरेको छ ।

यो पनि पढ्नुहोस रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता देऊ : कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment