Comments Add Comment
सरकारलाई चिकित्सकको सुझाव :

भेन्टिलेटर थप्दै गरौंला, पहिले ‘प्राणवायु’को जोहो गरौं

२० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका ३० वर्षे युवकको फोक्सोको सिटी स्क्यान रिपोर्ट हेरेपछि चिकित्सकहरु नै छक्क परे ।

नेपाली चिकित्सकहरुले कोरोना भाइरसको महामारी भर्खर सुरु हुँदा चीनको वुहानका कारोना संक्रमितहरुको सिटी स्क्यान रिपोर्टहरु सम्भिmए । दीर्घरोग नभएका ३० वर्षे नेपाली युवकको सिटी स्क्यान रिपोर्ट पनि त्यस्तै थियो । कोरोना संक्रमणका कारण निमोनिया भएर उनको दुबै फोक्सोमा पानी जम्मा भइसकेको थियो ।

त्यो सिटी स्क्यान रिपोर्ट हेरेपछि उनलाई बचाउन सक्छौं त भन्ने चिकित्सकहरुलाई लागेको थियो । तर, प्रयास गरे । रेमडेसिभिर चलाए, अक्सिजन दिए । अन्ततः उनी ठीक भए ।

उपचारमा संलग्न एक चिकित्सकले आफ्नो निष्कर्ष सुनाए, ‘अक्सिजन पायो भने युवाहरु चाहिँ ठीक हुने रहेछन् ।’

हृयाम्स अस्पताल, धुम्बाराहीमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि यसलाई स्वीकार गर्छन् । ‘कोभिड भएर श्वासप्रश्वासमा समस्या भएकाहरुलाई तरुन्त अक्सिजन दिनुपर्ने हुन्छ’ उनले भने, ‘रेमडेसिभिर, डेक्सामेथासोन, रगत पातलो बनाउने औषधिहरु पनि चलाउनुपर्ने हुन्छ ।’

कोरोना संक्रमित भित्रिएसँगै आफूले हरेक प्रदेशमा अक्सिजन प्लान्ट राखौं भनेको डा. सुवेदीले स्मरण गरे । ‘औपचारिक वा अनौपचारिक बैठकहरुले मैले भन्दै आएको छु कि प्रत्येक प्रदेशमा अक्सिजन प्लान्ट राखौं । दीर्घकालका लागि लगानी हो, यो खेर जाँदैन’ उनले भने, ‘अझै पनि ढीला भएको छैन ।’

किनकि कोरोना भाइरस यो जाडोसम्म रहने देखिन्छ । र, त्यसबेला अस्पताल भर्ना गर्नुपर्ने कोरोना संक्रमितहरुको संख्या बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

अस्पताल भर्ना भएका विरामीलाई सुरुमा दिइने सपोर्ट भनेको अक्सिजन नै हो । त्यसले नभए भेल्टिलेटरको सर्पोट दिइने छ । ‘लक्षण नभएका वा सामान्य लक्षण भएकाहरुलाई अस्पताल नै भर्ना गर्नु पर्दैन, अस्पताल भर्ना गर्नुपर्ने १५ प्रतिशतमध्ये धेरैलाई अक्सिजनबाट बचाउन सकिन्छ’ कोरोना संक्रमितहरुको उपचार गराइरहेका एक चिकित्सक भन्छन्, ‘सबैलाई ट्युब नै हाल्नुपर्छ जस्तो गरी भेन्टिलेटर भेन्टिलेटर नभनौं । धेरैलाई अक्सिजन थेरापीबाट पनि बचाउन सकिन्छ ।’

चिकित्सकहरका अनुसार ७५ प्रतिशतसम्म कोभिडको निमोनिया अक्सिजनबाटै ठीक हुन्छ ।

यसको अर्थ, भेन्टिलेटर नै थप्न आवश्यक छैन भन्ने पटक्कै नभएको उनीहरु बताउँछन् । तर, भेल्टिलेटर रातरात थप्न सकिँदैन, थपिएपछि पनि त्यहाँ चाहिने दक्ष जनशक्ति रातरात तयार हुन सक्दैन । भएका आईसीयू तथा भेन्टिलेटर बेडहरु कोरोना संक्रमित र अरु बिरामीले भरिन थालिसकेका छन् ।

यस्तो अवस्थामा अक्सिजन वेडहरु तयार पार्न सके धेरैलाई बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।

‘अहिले निषेधाज्ञाको सदुपयोग गर्दै सरकारले स्वास्थ्य संस्था व्यवस्थापनमा काम गर्नुपर्छ । यो भनेको सिकिस्त बिरामी राख्ने ठाउँ खोज्नुपर्‍यो, अक्सिजन बेडहरु तयार गर्नुपर्‍यो’ एक चिकित्सक भन्छन्, ‘अक्सिजनकै भरमा निको हुने बिरामीहरुलाई बेड व्यवस्थापन गर्न सक्यौं भने गम्भीर बिरामीले पनि बेड पाउँछन् ।’

अक्सिजन बेडहरुका लागि मेडिकल कलेजहरुलाई प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । सबै मेडिकल कलेजका बेड-बेडमा अक्सिजनको पाइप छ भन्ने होइन, तर केही मेडिकल कलेजले त्यस्तो संरचना बनाएका छन् ।

सरकारले त्यस्ता मेडिकल कलेजसँग समझदारी गरेर यहाँ भएका बिरामीलाई अन्यत्र व्यवस्थापन गर्ने र कोभिडका बिरामीहरुलाई त्यहाँ उपचार गर्न सकिने उनीहरु बताउँछन् । ‘काठमाडौंमा दुईवटा मेडिकल कलेजलाई मात्र सरकारले लिने हो भने १०००/१२०० लाई संक्रमितलाई व्यवस्थापन गर्न सकिन्छ’ एक चिकित्सकले अनलाइनखबरसँग भने, ‘सरकारले त्यति आइडिया पनि लगाउँदैनन् त के गर्ने ?’

चिकित्सकहरुका अनुसार प्रदेश १ र २ मा मृत्यु भएका थुप्रै कोरोना संक्रमितलाई अक्सिजन दिन सकेको भए बचाउन सक्ने सम्भावना हुन्थ्यो होला । तर, कोभिड हब अस्पतालमा भएका सीमित आईसीयू बेडहरु भरियो, अन्यत्र रिफर गर्दा कतिपयको बाटै मृत्यु भएको बताउँछन् ।

कति छन् गम्भीर विरामी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन १३५९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । उनीहरुमध्ये १८ हजार ४०४ सक्रिय संक्रमित हुन् ।

उनीहरुमध्ये २६ जना भेन्टिलेटर र १५१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १९ जना भेन्लिटेटर र ९० जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा २८ जना आईसीयूमा छन् भने प्रदेश ५ मा ४ जना भेल्टिलेटर र २० जना आईसीयूमा उपचाररत छन् । प्रदेश २ मा ३ जना भेल्टिलेटर र ५ जना आईसीयूमा छन् भने गण्डकी प्रदेशमा ५ र कणर्ाली प्रदेशमा ३ जना आईसीयूमा छन् ।

पछिल्लो समय सरकारले भेन्टिलेटर खरीदका लागि विवादास्पद टेण्डर आह्वान गरेको छ । ती भेन्टिलेटर कहिले आइपुग्छन् र बिरामीका प्रयोगमा आउँछन् भन्ने अहिलेसम्म निश्चित छैन । देशैभरि संक्रमितको संख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा विज्ञ चिकित्सकहरुको सुझावअनुरुप सरकारले अक्सिजन सहितका वेडहरूको जोहो गर्नतिर पो ध्यान दिने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment