Comments Add Comment

कथा : अयोध्या एक्सप्रेस

१.पूर्वकथा

रामनाथ कवाडी– नमस्कार !
झोलेराम– राम ! राम !!
रामनाथ कवाडी– के छ हजुर हालखबर ?
झोलेराम– रामजीको कृपाले सब ठीकठाक छ ! रामजीको कृपाले तपाईंको के पो छ होला ?
रामनाथ कवाडी– आफ्नो त लंका जलिराछ, बिल्लिबाठ छ हजुर…। गर्लफ्रेन्डले पनि छोड्यो । बे हुने छाँटकाट छैन ।
झोलेराम– देख्नुभो ! रामभक्त नहुँदा तपाईं कसरी सत्यानाश हुनुभयो । खुरूक्क राम मन्दिर बनाउन लागिपर्नुस् भनेको मान्ने हैन !

२.कथावाचन

क. कथावाचकको स्वीकारोक्ति

संसार भक्ति र भगवानको उपज भएको हुँदा जति पनि भगवानका निन्दक छन् तिनलाई जीवित छँदै भगवानले पाइलापाइलामा नरकको ढोका खोलिदिनु हुन्छ । आधुनिक मानव यमराजको भयबाट नियन्त्रित हुन घाँडो हुँदै गएको यथार्थ तपाईसामु छँदैछ । त्यसैले भगवानले आफ्नो सिस्टममा पनि यो लेटेस्ट–अपडेट गर्नुभएको छ ।

‘ज्ञात होस् पशुयोनीको एकदम घटिया किसिमको दुष्मानव ! मनभरि दुष्ट विचार, पाप बोकेर हिँड्ने तँहरू अब जेजे कर्म गर्नुहुन्छ त्यसको फल यही लोकमा भोग्न तयार भएस्’ भनेर भगवानले मेरो सपनामा आएर भन्नुभयो । यसअघिको संवादमा तपाईले देखिहाल्नुभयो ।

रामनाथ कवाडीजस्तो अभक्त मानव कसरी सत्यानाश भयो । यसलाई तपाईं रामजीको कृपाले भयो भन्न सक्नुहुन्छ । यति भनिसकेपछि हजुरहरू समस्त सज्जन महानुभावलाई प्रकाश पारिदिऊँ कि ‘सत्यानाश र सखाप पार्ने’ श्रेष्ठ भगवान श्रीरामको इच्छा कदापी थिएन । बाटो भड्किएर नरक खोज्दै हिँडेको त्यस निम्नकोटीको मानवलाई भगवानको ज्योर्तिमय बाटोमा ल्याउन मात्र त्यसो गर्नुभएको । धरोधर्म ठ्याक्कै त्यही भएर हो भगवान श्रेष्ठ श्रीरामले त्यसो गर्नुभएको । भगवान श्रेष्ठ श्रीराम हिजो मेरो स्वप्नमा आउनु भएर यति भन्नुभएकोले पूर्ण विश्वस्त हुनुस् ।’

ख.अब कथा विस्तारमा

पृथ्वीलोकको एकदम श्वेत र शुद्ध किसिमको दुधले स्नान गरेको भक्त झोलेरामले, रामनाथ कवाडीको खत्तमावस्था देखेर भक्तिमार्गमा लाग्न प्रेरित गरेको तथ्य त जगजाहेर नै छ ।

प्रिय पाठक,

त्यस्तो लाग्दैन भने पूर्वकथा खण्ड पढ्नुस् । कथावाचनको बीचमा छिरेर ध्यानभङ्ग गरेकोमा माफी चाहान्छु । कथाक्रमको लागि ब्राकेटभित्रको शब्दजालमा नफस्नु होला । (लेखक)

तर त्यो रामनाथ कवाडी पशुयोनीको एकदम घटिया किसिमको दुष्मानव भएकोले आफ्नै ढिपी समातेर बसिरह्यो ।

बस्न पनि चैन, आरामले के सक्थ्यो र ! उसको विनाशकारी दिमागमा उपियाँ प्रकारको दुष्ट चेतना सलबलाइरहेको थियो । त्यसैले चुपचाप, शान्त, मौन या यस्तै केही किसिमले बस्न सकेन । भक्तिमार्गमा लाग ! नेपालकै गौरवको अयोध्यापुरी बन्दैछ । त्यहि निर्माणमा जुट भनेको तर त्यो त जोडजुलुम गरेर रामायण नपढी नछाड्ने सनकमा पो उत्र्यो । जसको साक्षी म स्वयम हुनुपर्यो ।

मेरो दुर्भाग्य ! त्यो ‘कवाडी’जस्तो पतित मान्छेले रामायणजस्तो पवित्र ग्रन्थ पढेको साक्षी हुनुपर्यो । हेर्नुस् त आफ्नै भाग्यलाई दुत्कार्नु परेको । असल किसिमको मानव भएको भएँ । रामायण पाठ गरेर वाल्मिकि बन्थ्यो । तर त्यो हदै किसिमको तुच्छ मानव भएकोले झनझन् रत्नाकर हुँदै गयो । यो मेरै भाग्यको दोष हो । त्यस्ता पतितको पठन साक्षी बस्न पुगेँ । ‘मामुली किसिमको राम भन्ने मान्छेलाई पुच्छरविहीन हनुमानले स्वाहा पारेछन्’ पढिसकेपछि त्यो स्वाँठ त यसो पो भन्छ ।

ल भन्नुस् नैतिकता र धर्म र अधर्मको हेक्का हुने कुनै मानिसले यसरी निन्दा गर्छ त ? गर्दैन नि । के भन्नु हजुर त्यो जन्मजात दुष्ट प्रकृतिको असुर भएर जन्मियो । (पज)

ग. जन्मकथा

प्रिय पाठक,

पृथ्वीमा हामी जति छौँ जन्मबाट आएका हौँ । भविष्यमा जति आउनेछन् ती पनि अनेक प्रकारका जन्मबाटै आउनेछन् । जन्मकारी हरेकका मौलिक कथा किवंदन्ती र मिथक हुन्छन् । यो कथाको पात्रहरू कसरी अछुत रहन सक्छन् र ? पात्रको जन्मकथा नभनेर म किन पात्रमाथि शोषण गरूँ ? पात्रको जन्मकथा नलेख्नु पाठक अधिकारमाथि झरपकड गर्नु पनि हो । त्यसैले जन्मकथा राख्ने निधो गरें ।

जन्मसँग सम्बन्धित यो कथा मैले कथावाचकसँग प्रत्यक्ष भेटेर रेकर्ड गरेको थिएँ । यहाँ उनकै शब्दमा हुबहु राखेको छु । कथावाचकको कथावाचन जारी छ । बीचमा यो जन्मकथा उपशिर्षक घुसाएँ । कथावाचकको कथासँग एकाकार हुन दुई–कोष्ठकको कथापछि पठन गर्नुहोला (लेखक) ।

((हामी दुई एकैदिन, एकैसमय, एकै घडी, एकै नक्षत्रमा दुई माताहरूको असीम छटपटाहटपछि जन्मिएका थियौं । तर त्यो रामनाथ कवाडी यो क्षेत्रकै डरमर्दो, भेलबाढी बग्दै आउने, अधिकतर मानवले नरूचाउने नदिमा जन्मियो । त्यसैले होला त्यो मान्छे पनि त्यो स्थानझैं खेदजनक, कहालीलाग्दो छ ।

मचाहिँ यो नगर क्षेत्रकै अति सुन्दर पोखरीमा जन्मिएको थिएँ । भनिन्छ त्यहाँ म जन्मिनुअघि धनुषाकार शिला थियो । पछि यसक्षेत्रकै मान्यगणको निष्कर्षअनुसार त्यो रामकै धनुषस्वरूप भएको विश्वास गरियो । जहाँ अहिले ठूलै किसिमको पवित्र राममन्दिर बनिसकेको छ ।

म त हाम्रो धर्मग्रन्थका शब्दका किराले टोकेर उफ्रिराछु । तिनले कहिलेदेखि खुलेआम अपराधलाई प्रश्रय दिन थाले ? किन दिन थाले ? अपराधीले नै लेखेका हुन् कि क्या हो केही श्लोकहरू त ?

हेर्नुस् जन्म समय एउटै भए पनि हामी सिक्काका दुई पाटाझैं, दिन र रातझैं, आकाश र जमिनझैँ या यस्तै केहीझैँ फरक छौँ । मलाई लाग्छ मान्छे कस्तो हुनेछ निर्क्योल गर्न जन्मस्थानको असीम महत्त्व हुन्छ । अहिलेका तथाकथित विद्धानहरू यो सत्य स्विकार्न खोज्दैनन् । अनेक उदाहरण प्रस्तुत गर्छन् । तर हेर्नुस प्रिय पाठकहरू, विश्वका पुजनीय जति सबै एशियाभूमिकै छन् । के यो संयोग मात्र हो ?

के जिजस क्राइस्ट जेरुसेलमका हैनन् ? पैगम्बर मोहम्मद मक्काका हैनन् ? भगवान कृष्ण भारतका हैनन् ? गुरूनानक भारतका हैनन् ? ओशो भारतका हैनन् ? गौतम बुद्ध नेपालका हैनन् ? लाओत्से चीनका हैनन् ?

अतः मान्छेको जन्मसँग भूगोलले अति अर्थ राख्छ । तर हेर्नुस् हाम्रो दुख्ख, त्यो रामनाथ कवाडीजस्तो नालायक अपवाद पनि यही भूगोलमा जन्मियो ।))

(रिजियुम) अब तपाईको धार्मिक चेतले जन्मिँदा त सब असुर हुन्छन्, शूद्र हुन्छन् भन्नुहोला ! ‘जन्मना जायते शूद्र कर्मणाद्विज उच्यते’ भन्ने संस्कृत श्लोक पनि सम्झाउनुहोला । त्यसरी धार्मिक ग्रन्थको अपव्याख्या नगर्नुस् हजुर । के मैले ती ग्रन्थ नपढि यो कथावाचन गर्ने जिम्मा पाएँ होला र ? हाम्रो धर्मग्रन्थमा पूर्वजन्ममा अच्छाभक्ति गर्नेको जन्म धनधान्य परिवारमा हुन्छ भनिएको छैन ? धनीकुलको स्त्रीसँग विवाहबन्धन हुन्छ भनिएको छैन ? छ नि । त्यसैले केही उत्कृष्ठ प्रकारका मानवहरू जन्मिँदै उच्च किसिमका हुन्छन् । यसमा रौं बराबर संशय नगर्नुस् ।

के हाम्रा पण्डापुरोहितहरू पूर्व–पश्चिम–उत्तर या दक्षिण जताबाट हेर्दा पनि साक्षात् भगवानभन्दा कम देखिन्छन र ? देखिँदैन नि । अब त विश्वास गर्नुभयो नि केही मानव जन्मिँदै असल प्रकारका हुन्छन् ।

त के भने रामनाथ कवाडीचाहिँ जन्मजात दुष्ट प्रकृतिको असुर मानव थियो । त्यो पशुयोनीको एकदम घटिया किसिमको दुष्मानवले आफ्नो जन्मजात स्वभावको आडमा ‘हाम्रा धर्मग्रन्थहरूलाई ढोंगबाट मुक्त गरिदेऊ’ भन्न थाल्यो । होला केही ढोंग त छन् होला भन्ने म पनि मान्छु । के शशीमा दाग छैन र ? तर त्यो नरकगामीले त ‘ती ग्रन्थमा उच्च दर्शन छ , धर्मबाट मुक्त गरिदेऊ’ पो भन्छ । त्यो पढेर पनि सड्नबाट बचेन । त्योसँग त कुरा गर्नु पनि अधर्मै हुन्छ । त्यो मान्छे नै पापको अर्को नाम हो । तर त्यस्को नीचकर्मबारे तपाईं सज्जनलाई भनेर सुनाउनु मेरो मूल जिम्मेवारी भएकोले सुनाउँछु नै ।

जोन लेननको प्रसिद्ध गीत छ– ‘इम्याजिन दियर इज नो कन्ट्री ।’ त्यसले त्यसकै सिको गरेर भन्न भ्यायो– ‘इम्याजि दियर इज नो कास्ट, नो रिलिजन ।’

जातव्यवस्था हाम्रो पहिचान हो । किनभने हाम्रो धर्मले यही भन्छ । हाम्रो धर्म र जात एकै सिक्काका दुईपाटा हुन् जो छुट्याउनै मिल्दैन । तर त्यो दुष्ट ‘नो जात नो धर्म’ भन्दै हाम्रो आस्थामा अपशब्द बोल्छ । तपाईं नै भन्नुस् हाम्रो परापुर्खादेखि चल्दैआएको धर्मले त्यस्को के बिगार्यो र धर्म चाहिँदैन भन्नुपर्यो ? केही बिगारेको छ त ? छैन नि ।

तर त्यो त जात र धर्म छैन पो भन्छ । ल विदेशी धर्म चाहिँदैन भनेको भए त ठिकै पनि हो । त्यो जति नीच भएपनि अलिअलि आफ्नै माटोको धर्मप्रति भक्तवान रै’छ भन्नुहुन्थ्यो । तर त्यसले त्यो भनेकै हैन । हाम्रो अविछिन्न परम्परामा त्यसले प्रहार गरेको साँचो हो । ल भन्नुस् त त्यसरी प्रहार गर्नु हुन्छ त ? हुँदैन नि । मैले त जसोतसो झेलेँ त्यसलाई । मति सुध्रिहाल्ला भनेर दुईचार महावाणी नि सुनाएँ । दुई चारदिन संगत नि दिऊँ लागेर संगत दिएँ पनि । तर त्यसको चेतना यो कार्य बुझ्ने गरी विकास नै भएको रहेनछ । मेरो महावाणीलाई त ‘अरूले थोपरेको ज्ञान’ भन्छ ।

हिजो त अचाक्ली भयो । सपनामा त्यहि दुष्टलाई देखें ।

घ.सपनाको कुरा

म– हेल्लो कवाडी भाइ के छ ?

कवाडी– के भन्नु काका ! म त हाम्रो धर्मग्रन्थका शब्दका किराले टोकेर उफ्रिराछु । तिनले कहिलेदेखि खुलेआम अपराधलाई प्रश्रय दिन थाले ? किन दिन थाले ? अपराधीले नै लेखेका हुन् कि क्या हो केही श्लोकहरू त ?

(अपराध ! अपराधी ! त्यो स्वाँठले धर्मग्रन्थमा के अपराध भेट्यो र ? मेरो रिस पनि बुरूक्क उठ्यो । मैले बस् भनिनँ । आफ्नो रिसलाई थप उठाएँ ।)

म– तँ, तँ दुष्ट होस् । नरकगामी नरपिशाच ! नेपालमा मात्र हो धर्म ? विश्वभरी छन् त । हिन्दूको यति निन्दा, भगवान श्रेष्ठ श्रीरामको यति निन्दा !

(मैले रिसले आँखा देखिनँ । मैले सायद के अपराध छ ? सोध्नुपर्थ्यो । तर आफैंलाई थोरै अपराधको पूर्वजानकारी भएर हो वा त्यो दुष्टको निम्नकोटीको शब्दको ध्वनीले हो मैले आँखा देखिनँ । आँखा नदेखेरै थप चिच्याएँ–

धर्मले मान्छेलाई जोडेको छ । विश्वभरको उदाहरण हेर् त ! विश्वभर धार्मिक साम्राज्य विस्तार गर्ने, धार्मिक उपनिवेश कायम गर्नेबारे त चुइँक्क नि बोल्दैनस् ! घुमाइफिराइ भगवान रामको मात्रै विरोध गर्ने तँ दुष्ट होस् । ई…तेरो चेतनालाई !

सपनामा कता हो कता कुनै अनोखाभूमिमा त्यो कवाडी जोडदारसँग हाँसिरहेको थियो । अब त भुइँमै पसारिएर हास्यो । अर्को हातले देखाइरहेको मलाई, ‘हेर हेर रामको टाउकोमा अपराधको कतिवटा टाउको झुन्डिएको छ !’

मैले हेरें, हेरिनसक्नु थियो । रामको टाउकोमा थप पाँच–सात थान टाउको थिए । साक्षात रावणझैं सहायक टाउको बोकेर खडा हुनुहुन्थ्यो राम । डरले पाताल भास्सिएलाझैं हुँदै थियो । डरैडरमा नियालेर सहायक टाउको हेरेँ । ती टाउका त बाली, सीता, शम्बुक, सुपर्णखाको थियो । म क्रोधले चिच्याएछु, ‘तँ तँ तँ राम हैन रावण होस् !’

(सपनामा रिसपूर्वक चिच्याउनुको प्रमुख बेफाइदा भनेको खाटबाट कतिबेला भुईंमा खस्नुहुन्छ अत्तोपत्तो हँुदैन । यसपाली पनि यही भयो मलाई ।)

सम्हालिँदै भुईंबाट उठेँ । विपनाको मेरो आँगनमा रामनाथ कवाडी उभिएको थियो । मेरो झोक त्यसलाई देखिपछि थप चल्दै थियो ।

बीचैमा कवाडीले भन्यो– ‘देख्नुभयो रामले छिनालेको कतिवटा टाउको रहेछ ?’

के त्यो मुर्खले मैले देखेको सपना देखेको थियो ? के त्यसलाई मेरो सम्पूर्ण मनोविज्ञान पहिल्यै थाहा थियो ?

आखिर यी सबै सपनामा पनि विपनामा पनि झेलिरहेको थिएँ मैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment