
News Summary
Generated by OK AI. Editorially reviewed.- मनसुन सकिएपछि पनि नेपालमा पोस्ट मनसुन डेंगुको जोखिम यथावत् रहेको छ र काठमाडौँमा डेंगु संक्रमितको संख्या बढेको छ।
- डेंगु संक्रमणको प्रारम्भिक लक्षणमा ज्वरो, आँखाको गेडी दुख्ने, मांसपेसी दुख्ने र शरीरमा स-साना बिबिरा देखिने समावेश छन्।
- डेंगुको वार्निङ संकेत देखिएमा तुरुन्त अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुपर्ने चिकित्सकहरूले बताएका छन्।
धेरैलाई लाग्न सक्छ, मनसुन सकिएसँगै डेंगुको जोखिम पनि सकियो । तर मनसुन सकिएलगत्तै ‘पोस्ट मनसुन’ डेंगुको जोखिम यथावत् नै छ।
काठमाडौँमा एक सातायता डेंगु संक्रमितको ग्राफ उकालो लागेको देखिन्छ। केही साता अघिसम्म डेंगुभन्दा स्क्रब टाइफस बढी देखिएकोमा हाल त्यसको ठिकविपरीत डेंगु संक्रमण बढेको छ।
सन् २०१९ र २०२२ मा देखिएका डेंगुका ठूला प्रकोपहरूबाहेक वर्षेनी डेंगु दशैँ-तिहार वा सोलगत्तै कुनै विशेष वा निश्चित क्षेत्र/ठाउँमा प्रकोपको रूपमा देखिने गरेको पाइन्छ।
सन् २०२२ मा डेंगु महामारी सेप्टेम्बर/अक्टोबर महिनामा उत्कर्षतिर गएको देखिन्छ। तसर्थ विगतको अनुभवलाई आधार मान्ने हो भने डेंगुको जोखिम मनसुनसँगै अन्त्य नभई झन् बढेको छ।
केही दिनअघि नेपालले भारी वर्षा र बाढीको सामना गर्नुपरेको थियो। वर्षालगत्तै नेपालबाट मनसुन बाहिरिएको छ। तर मनसुनपछि विभिन्न ठाउँ (खाल्डाखुल्डी) जस्तै: फालिएका ड्रम, सवारी साधनका पुराना टाएर, गमला आदिमा पानी जमेको देखिन्छ । यस्तो अवस्था अनि ठाउँ नै डेंगु फैलाउने लामखुट्टेको लागि जीवनचक्र पूरा गर्नको लागि उपयुक्त बन्ने गर्छ।
एडिस जातको लामखुट्टेले डेंगु भाइरस फैलाउने गर्छ भने यसलाई अन्ड बाट बयस्क हुनको लागि लगभग ७ देखि १० दिन जतिको समय लाग्छ।
सन् २०१९ को डेंगु प्रकोपको समयमा काठमाडौँको खुसिबु, नयाँबजार क्षेत्रमा डेंगु भाइरस डढेंलोझैं फैलिएको थियो। सुरुसुरुमा अधिकांश संक्रमितहरू सवारी साधन मर्मत गर्ने ग्यारेज नजिकै बसोबास गर्नेहरू हुने गरेको मलाई सम्झना छ।
यसको मुख्य कारण उनीहरू बसोबास गर्ने ठाउँतिर वा नजिकै प्रशस्त फालिएका सवारी साधनका पुराना टायर हुनु थियो। किनभने, त्यस्ता टायरका भित्री भागमा जमेको आकाशे पानीमा हत्तपत्त सूर्यको किरण नपर्नाले पानी लामो समयसम्म रहने र त्यसको कारण लामखुट्टेलाई आफ्नो वृद्धि विकास गर्न वा जीवनचक्र पूरा गर्न सहज हुन्छ ।
तसर्थ, पानी जम्न सक्ने जुनसुकै वस्तुको अवलोकन गर्दै लामखुट्टेको लार्भा नष्ट गर्न सके मात्र सम्भावित डेंगु प्रकोपलाई रोक्न सकिने छ।
वर्षेनी लामखुट्टेको लार्भा ‘खोज र नष्ट’ गर्ने भन्ने बहस हुने गरेको भए तापनि व्यवहारमा प्रभावकारी रूपमा लागु गरेको देखिँदैन। अर्थात्, लामखुट्टे नियन्त्रणमा नीति निर्माताबाट नै इच्छा शक्ति देखाउन सकेको देखिँदैन।
हालै नेपालबाट मनसुन बाहिँरिदै गर्दा सम्भवत: अबको केही दिनमा लामखुट्टेको संख्या बढ्न सक्ने र फलस्वरूप पोस्ट मनसुन डेंगुको समस्या विगतमा जस्तै देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
एडिस जातको लामखुट्टे, विशेषत: ‘एडिस इजिपटाई’ र ‘एडिस एल्बोपिक्ट्स’ दिनमा बढी सक्रिय हुने गर्छ। सो समयमा अधिकांश मानिस काममा नै व्यस्त हुने हुँदा लामखुट्टेको टोकाइबाट बच्न त्यति व्यावहारिक देखिँदैन। धेरैले टोकिसकेर चिलाएपछि मात्र लामखुट्टेले टोकेको थाहा पाउने गरेको भन्ने गरेका छन्।
हाल डेंगु विरुद्धको खोप नेपालमा उपलब्ध नभएकोले डेंगुबाट बच्न लामखुट्टे नियन्त्रणमा पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ। लामखुट्टे नियन्त्रणमा केन्द्र सरकार एक्लैले मात्र पनि पहल गरेर सम्भव नहुने भएकोले स्थानीय सरकार तथा नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ।
ज्वरो अनि खानेकुराको नाम सुन्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ ? त्यो डेंगुको प्रारम्भिक लक्षण हुनसक्छ ।यी बाहेक आँखाको गेडी खस्ला जस्तो गरेर दुख्ने, मांसपेसी तथा जोर्नी असाध्य दुख्ने, पखाला लाग्ने, शरीरमा स-साना बिबिरा देखिने जस्ता समस्या डेंगुका अरू प्रारम्भिक लक्षण हुन्।
शरीरको दुखाइ सहन गाह्रो हुने हुँदा यस्तो रोग सत्रुलाई पनि नलागोस् भनेर अधिकांश डेंगु बिरामीले भन्ने गर्छन् । संक्रमण भएको झन्डै ४ देखि १० दिनसम्ममा डेंगुका लक्षणहरू देखिन्छन् ।
पछिल्लो समय समाजमा डेंगुलाई हेर्ने दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ। सन् २०१९ मा डेंगु काठमाडौँमा पहिलो पटक ठूलो प्रकोपको रूपमा देखिँदा सर्वसाधारणले यो संक्रमणलाई गम्भीर रूपमा लिएको मेरो अनुभव छ। तर सन् २०२४ सम्म अर्थात् गत वर्षसम्म आइपुग्दा डेंगुलाई एकदम सामान्य रूपमा लिन थालिसकेको देखिन्छ।
धेरै मानिसले संक्रमित भइसकेपछि पनि आफ्नो दैनिकीलाई निरन्तरता दिने गरेको देखिन्छ भने चिकित्सकको परामर्श बिरलै मात्र लिने गरेको देखिन्छ।
हुन त, सबै संक्रमित व्यक्ति अस्पताल भर्ना हुनैपर्छ भन्ने होइन। अधिकांश संक्रमित घरमा नै आराम गरेर कुनै विशेष औषधिबिना नै केही दिनको अन्तरालमा स्वास्थलाभ गर्न सक्छन। तर डेंगु वर्षेनी देखिने क्रम बढ्दै जाँदा यसको जटिलता पनि संक्रमितमा बढ्दै गएको देखिन्छ।
पछिल्लो केही वर्षदेखि संक्रमितले रक्तश्रावको सिकायत गर्ने क्रम बढेको देखिन्छ। गत वर्ष दशैँ-तिहारपछि धेरै संक्रमितले यस्तै स्वास्थ समस्या अनुभव गरेको बताएका थिए। एक मेरा परिचित मित्र त डेंगु संक्रमित भएर घरमा आराम गरिरहेको बेला नाकबाट अचानक रगत बगेको भन्दै अस्पतालको आकस्मिक कक्षमा आइपुगेका थिए।
मेरा धेरै समकक्षी चिकित्सकले पनि डेंगु संक्रमितमा रक्तश्रापको समस्या बढेको अनुभव सुनाएका भनेका थिए। रक्तश्राप देखिनु भनेको बिरामी डेंगुको जटिल अवस्थामा जान सक्ने सम्भावनालाई इंगित गरेको हो। यो डेंगुको ‘वार्निङ संकेत’ अन्तर्गत पर्छ।
रक्तश्रावसँगै तारन्तार बान्ता हुनु, पेट असाध्य दुख्नु, अति अलश्य हुनु डेंगु वार्निङका संकेतहरू हुन् । डेंगुको वार्निङ संकेत देखिए तुरुन्त अस्पतालमा गई चिकित्सकको परामर्श लिनुपर्छ । हाल डेंगु वार्निङ संकेतको बारेमा समुदायमा व्यापक प्रचारप्रसार जरुरी देखिन्छ।
हाल डेंगु नेपालका लागि एक रैथाने संक्रमणको रूपमा स्थापित भइसकेको छ। डेंगु नेपालमा दुई प्रकारले फैलने गरेको मेरो अनुभव छ। पहिलो, मनसुन सुरु भएसँगै तीव्र फैलन सुरु हुने र त्यस्तो अवस्थामा भौगोलिक रूपमा व्यापक विस्तार र प्रभाव पारी धेरै मानिसलाई संक्रमित गर्ने भन्ने हो।
जस्तै: सन् २०१९ मा मनसुन सुरु भएसँगै धरानबाट सुरु भएको डेंगु हेटौंडा हुँदै काठमाडौँमा ठूलो प्रकोपको रूपमा प्रभावित पारी अन्त्य भएको थियो।
दोस्रो, मनसुन सकिएलगत्तै कुनै विशेष पकेट क्षेत्रमा डेंगु ह्वात्तै देखिनु/बढ्नु भन्ने हो। जस्तै: सन् २०२२ मा काठमाडौँमा फैलिएको डेंगु प्रकोप सेप्टेम्बर/अक्टोबर महिनातिर नै सबैभन्दा बढी सक्रिय भएको थियो। अहिले अक्टोबर महिना अनि एक सातायता संक्रमित हुनेको संख्या अचानक बढ्नुले पनि पोस्ट मनसुन डेंगु प्रकोप जोखिमको संकेत गर्छ। आगामी केही हप्ता डेंगुको जोखिम कायमै हुनेछ। यसर्थ पनि सतर्कता अपनाउनु जरुरी देखिन्छ।
अन्त्यमा, मनसुन सकिएसँगै डेंगुको जोखिम अन्त्य भएको होइन, बरु पोस्ट मनसुन डेंगु प्रकोपको जोखिम बढेको छ। हाल एक सातायता डेंगु संक्रमितको संख्यामा वृद्धि हुनुले पनि यही संकेत गर्छ।
सन् २०२२ मा देखिए जस्तै डेंगुले महामारीको रूप लेला/नलेला तर सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ। यद्यपि, वर्तमान राजनीतिक परिस्थितिले गर्दा डेंगुको प्रभावकारी नियन्त्रण हुनेमा केही हदसम्म सन्देह वा अन्योल थपिदिएको छ।
डेंगु काठमाडौँ, धरान, चितवन वा पोखरामा मात्र फैलने भन्ने होइन। लामखुट्टेले वृद्धि विकास गर्नसक्ने वातावरण भएका कुनै पनि ठाउँमा प्रकोपको रूप लिन सक्छ।
गत वर्ष पोस्ट मनसुनमा (असोज महिनामा नै) तनहुँको व्यास नगरपालिका डेंगु बिरामी अनपेक्षित रूपमा बढ्दा अस्पतालको भुइँमा राखेर उपचार गर्नुपरेको थियो। यो वर्षको पछिल्लो तथ्यांकअनुसार हाल बाग्लुङमा डेंगु तीव्र गतिमा फैलिँदै गइरहेको देखाएको छ।
यसर्थ, लामखुट्टेको वृद्धि विकास सहज भइरहेको/हुनसक्ने नेपालको कुनै पनि ठाउँमा डेंगु विरुद्धको अभियानलाई तिव्रता दिनु अहिलेको आवश्यकता हो।
(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4