Comments Add Comment

डा. खतिवडाको कार्यकालबारे के भन्छन् सांसदहरू ?

२० भदौ, काठमाडौं । डा.युवराज खतिवडा साढे दुई वर्ष अर्थ मन्त्रालयको नेतृत्व गरेर शुक्रबार सरकारबाट बिदा भए । सुविधाजनक बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा अर्थमन्त्रीको रुपमा उनले तीनवटा पूर्ण बजेट प्रस्तुत गरे ।

डा. खतिवडाले प्रस्तुत बजेट कार्यान्वयनका लागि संघमा मात्रै होइन, स्थानीय तह र प्रदेशमा पनि नेकपाकै बहुमत थियो । उनले यस्तो मौकाको कत्तिको सदुपयोग गरे त ?  विज्ञहरुले अर्थमन्त्रीका रुपमा खतिवडा सफल हुन नसकेको बताइरहेका छन् । निजी क्षेत्रले भने उनको कार्यकालबारे मिश्रित प्रतिक्रिया दिएको छ ।

संघीय संसदमा नै प्रतिनिधित्व गरिरहेका अधिकतम् सांसदहरु पनि खतिवडाको कार्यकाल अपेक्षाकृत सफल हुन नसकेको बताउँछन्  ।  प्रयास गरेपनि वास्तविकतामा आधारित नभएका प्रधानमन्त्रीका सपना तथा योजना र धरातालमा बसेर हेर्ने अर्थमन्त्रीको स्वभावबीच तालमेल नमिल्दा समस्या भएको कतिपय सांसदको विश्लेषण छ । नेकपाका सांसदहरूको पनि मिश्रित प्रतिक्रिया छ ।

विज्ञ भनेर अपेक्षा धेरै गरिएछः पूर्व अर्थमन्त्री कार्की

युवराज खतिवडा भन्दा ठीक अगाडि कांग्रेसका तर्फबाट सरकारमा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री थिए । नेपालको अर्थतन्त्र सबल हुने दिशामा अघि बढ्दै गर्दा खतिवडालाई आफूले अर्थमन्त्रालयको जिम्मेवारी छाडेको कार्कीको दाबी छ ।

‘मैले सबल अर्थतन्त्र छोडेको थिएँ । तर, उहाँले आफ्नो कार्यकालमा कुनै एउटा उल्लेख्य काम ‘ब्रेक थ्रु’ नगरीकन जानुभयो । बरु अर्थतन्त्रलाई पछाडि धकेल्ने दिशामा केन्द्रित रह्योे’ कार्की भन्छन् ।

फाइल तस्वीर

उनका अनुसार अत्यन्त सुक्ष्म नियन्त्रण र व्यवस्थापन गर्ने खतिवडाको शैली पनि असफलताको एउटा कारण बन्यो । राष्ट्र बैंकको स्वायत्ततालाई अर्थमन्त्रालयले प्रयोग गर्न खोज्दा पनि गल्ती भएको उनको टिप्पणी छ ।

‘अहिले उत्पादित विद्युत खेर जाने अवस्थामा पुगेको छ । उहाँले विद्युतीय सवारीलाई निरुत्साहित गर्नुभयो । इन्डक्सन चुलोमा थप कर लगाउने जस्ता काम गर्नुभयो,’ उनी भन्छन् ।

खतिवडाको कार्यकालमा ठूला आयोजनाहरू एउटा पनि बन्न नसकेको, राष्ट्रिय गौरवका आयोजनाले गति लिन नसकेको, निजी क्षेत्र र विदेशी लगानीकर्ताहरु निरुत्साहित भएको कार्कीको टिप्पणी छ।

‘मन्त्रीका रुपमा आउँदा अनुकुल अवस्था थियो, यति त्यति अनुकुल वातावरण अहिलेसम्मका कुनै अर्थमन्त्रीलाई थिएन । तर, ठूला र राष्ट्रिय महत्वका आयोजनाको प्रगति रिर्पोट हेर्नुस्, सबै छर्लङ्ग छ,’ उनी भन्छन्,’अढाई वर्ष भनेको लामो समय हो । यत्रो अवधिमा कुनै किसिमको ब्रेक थ्रु गर्न सक्नुभएन ।’

उनले आउँदा आउँदै स्वेतपत्र जारी गरेर नयाँ तरंग ल्याउन खोजेको र त्यसले उल्टै विदेशी लगानीकर्ताहरु झस्किएको बताए । आफूले पनि सुरुमा विज्ञ भएकाले खतिवडाबाट धेरै अपेक्षा गरेको भन्दै उनले अहिले बढ्ता आशा गरिएछ भन्ने लागेको कार्की बताउँछन् ।

समाजवादको यात्रा सुरु भएन : श्यामकुमार श्रेष्ठ

चुनावमा गरेको बाचा पुरा गर्न र समाजवादको यात्रा तय गर्न मनित्रमण्डलमा विज्ञ चाहिन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए । अहिले खतिवडा बिदा भएकोमा सत्तारुढ नेकपाकै कतिपय सांसदहरू खुसी छन् ।

सत्तारुढ पार्टीका सांसदहरू प्रधानमन्त्रीले गलत पात्रलाई छानेका कारण चुनावी बाचा र समाजवादको यात्रा तय हुन नसकेको बताउँछन् ।

संसदको अर्थ समिति सदस्य समेत रहेका नेकपा सांसद श्यामकुमार श्रेष्ठ भन्छन्, ‘विज्ञमा रुपमा उहाँले पनि आफ्नो ठाउँबाट कोसिस गर्नुभयो । परिणाम अपेक्षाअनुसार आएन ।’ तीन वटा बजेट ल्याउँदा पनि अर्थमन्त्रीका रुपमा खतिवडाले जनताले सम्झिने गरी छाप छोड्न नसकेको श्रेष्ठको टिप्पणी छ ।

‘कतिपय काम दीर्घकालीन प्रभाव पार्ने किसिममा थिए, तर, समग्रमा उहाँलाई सफल अर्थमन्त्रीका रुपमा लिन सकिन्न । तरपनि उहाँले आफ्नो पहल त गर्नुभएकै हो’ श्रेष्ठले भने । उनले प्रधानमन्त्रीले अर्थमन्त्रीका रुपमा सही पात्र छनोट गर्न नसकेको रुपमा ब्याख्या गरे ।

काम देखाउने बेला आउँदै थियोः मोतीलाल दुगड

उद्योग राज्यमन्त्री समेत रहेका नेकपा सांसद मोतीलाल दुगड भने खतिवडाको बचाउ गर्छन् । नेपालको अर्थतन्त्रलाई बलियो बनाउने गरी अर्थतन्त्रको आधार बनाउनतिर लाग्दा खतिवडा लोकपि्रय हुन नसकेको उनको विश्लेषण छ ।

‘उहाँ बढी व्यवहारिक मान्छे हो, व्यवहारिकता तिर जानुभयो’ दुगडको टिप्पणी छ, ‘अर्थमन्त्रीकै जिम्मेवारीमा अर्को दुई वर्ष रहनुभएको भए परिणाम देखिन्थ्यो ।’

दुगडको दृष्टिमा खतिवडा अर्थमन्त्री बन्दा नेपालको अर्थतन्त्रको अवस्था राम्रो थिएन । त्यसैले खतिवडाले अर्थतन्त्रको आधारभूत पक्षमै सुधार गर्न लाग्दा अल्मलिएको जस्तो देखिएको उनले बताए । लोकप्रिय हुने भन्दा पनि विज्ञकै रुपमा काम गर्न खोज्दा उनको काम छायामा परेको दुगड बताउँछन् ।

‘संकटको समयमा मन्त्री बन्नुभएको थियो । बढ्दो ठूलो ब्यापार, घट्दो राजश्व र रेमिट्यान्सबीच सीमित स्रोत साधानले देशलाई समृद्ध गराउनुपर्ने थियो’ दुगड भन्छन्, ‘उहाँमा ज्ञानको कमी हैन, विद्वान हुनुहुन्छ । मन्त्रिपरिषदमा सबैभन्दा ज्ञाता मन्त्री हुनुहुन्थ्यो, त्यसको उहाँले राम्रो उपयोग गरेर जानुभयो ।’

खतिवडाको दातृ संस्थाहरू, मुलुकहरूसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै दुगडले उनको सम्बन्धका कारणले ऋण र अनुदान प्राप्त गर्न सहज हुने स्थिति बनेको भन्दै प्रसंसा गरे ।

प्रधानमन्त्रीका कारण असफल : मिनेन्द्र रिजाल

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका थिए । तर, राष्ट्रयसभाको सदस्य मनोनयनमा पार्टी उपाध्यक्ष बामदेव गौतमको इच्छाले ओलीलाई समस्यामा पारेको थियो । त्यसैले खतिवडाले प्रधानमन्त्रीको तेहेर्याउने इच्छा हुँदा हुँदै पनि खतिवडाले पद छाड्नुपर्‍यो ।

खतिवडाको कार्यकालबारे कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालको ब्याख्या भने फरक छ । रिजालको दृष्टिमा प्रधानमन्त्रीकै कारण  डा.खतिवडा असफल हुन पुगेका हुन् ।

निकट रहेर काम गरेपनि प्रधानमन्त्रीको साशकीय शैलीका कारण अर्थतन्त्रलाई अप्ठ्यारो स्थितिमा छोडेर खतिवडा विदा हुनु परेको उनको टिप्पणी छ ।

वास्तविक धरातलमा उभिएको अर्थमन्त्री र कल्पनाको संसारमा उभिएका प्रधानमन्त्रीका बीचमा तालमेल हुन नसकेको रिजालको विश्लेषण छ । यसैका कारण खतिवडासँग गरिएका अपेक्षा अनुसारको काम हुन नसकेको रिजाल बताउँछन् ।

‘एकअर्काप्रति जतिसुकै घनिष्टता र विश्वास भए पनि वास्तविकतामा उभिएको अर्थमन्त्री र कल्पनाको संसारमा रमाएका प्रधानमन्त्रीले मिलेर काम गर्न नसकेको जस्तो देखियो,’ नेता रिजाल भन्छन् ।

यो पनि पढ्नुहोस अर्थमन्त्री खतिवडाको कार्यकाल : आउँदा ताली, जाँदा गाली !    यो पनि पढ्नुहोस खतिवडाले दिए राजीनामा, अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई यो पनि पढ्नुहोस तीन अर्थविदको नजरमा अर्थमन्त्री खतिवडा यो पनि पढ्नुहोस ‘अर्थमन्त्री खतिवडाको वास्तविक मूल्यांकन दुई वर्षपछि’ यो पनि पढ्नुहोस खतिवडाप्रति ठूला लगानीकर्ता नरम, साना र मझौला गरम यो पनि पढ्नुहोस ‘अपेक्षा अनुरुप काम भएन, प्रधानमन्त्रीको छायामा पर्नुभयो’ यो पनि पढ्नुहोस डा. खतिवडाको कार्यकालबारे के भन्छन् सांसदहरू ? यो पनि पढ्नुहोस राष्ट्र बैंकको स्वायत्तता खोसेको आरोप बोकेर बाहिरिए खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment