Comments Add Comment

युवा उद्यमीको ‘आइडिया’ : कोरोना कहरमा घुम्ती रक्तदान

२१ भदौ, चितवन । चितवनमा कोरोना भाइरस संक्रमण बढ्दै छ । निषेधाज्ञाका कारण मानिसहरु घरभित्र नै कैद छन् । जिल्लामा निषेधाज्ञा घोषणा गरिएसँगै रगतको चरम अभाव भयो । रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्नेहरु पनि निषेधाज्ञाका कारणले आउन सक्ने अवस्था भएन ।

अर्को तर्फ मेडिकल सिटीको रुपमा विकास भइरहेको भनिएको चितवनका धेरै अस्पतालमा भर्ना भएका बिरामीहरुलाई रगत अत्यावश्यक थियो । तर रक्तदान कार्यक्रम नहुँदा रगत उपलब्ध गराउन समस्या भयो । यही अप्ठेरोका बीच एउटा गजबको आइडिया निस्कियो– रगत संकलन गर्न घुम्ती रक्तदान कार्यक्रम सन्चालन गर्ने ।

यसरी फुर्‍यो आइडिया

युवा उद्यमी मञ्च चितवनका निवर्तमान अध्यक्ष दाताराम घिमिरे एक साथीका लागि रगत लिन क्षेत्रिय रक्तसञ्चार केन्द्रमा पुगे । उनले बल्लतल्ल रगत पाए । त्यससँगै रगतको चरम अभाव भएको जानकारी पनि पाए ।

त्यहीँ बाराका एक बिरामीका आफन्त पनि नेगेटिभ रगतका लागि अनुरोध गरिरहेका थिए । रगत नपाएपछि उनले घिमिरेको खुट्टै समातेर रगत मिलाइदिन अनुनय गरेको घटनाले उनको मन छोयो । त्यसपछि घिमिरेले मञ्चका अध्यक्षसहित साथीभाइसँग रक्तदान कार्यक्रम राख्नेबारे सल्लाह गरे । युवा उद्यमीहरूमा एउटा आइडिया फुर्‍यो । जिल्लाका विभिन्न ठाउँमा गएर घुम्ती रक्तदान शिविर चलाउने ।

यहाँका अस्पतालहरुमा चितवनसहित बिभिन्न ३० जिल्लाका बिरामीहरु उपचारका लागि आउँछन् । त्यसैले रगतको आवश्यकता पनि अधिक हुन्छ । युवा उद्यमी मञ्च चितवनका अध्यक्ष कृष्ण सापकोटा भन्छन्, ‘चितवनमा तत्काल देखिएको रगतको ठूलो अभाव टार्न साथीहरूसँग छलफल भयो, तत्कालै एक स्टेप चाल्नुपर्ने थियो, सुत्केरीसमेत रगतको अभावमा छट्पटाएको परिस्थिति थियो, छलफलबाट आइडिया आयो संक्रमणबाट पनि जोगिँदै घुम्ती रक्तदान गर्ने ।’

एकै ठाउँमा रक्तदान आह्वान गर्दा धेरै जना जम्मा हुने र संक्रमण फैलिन सक्ने भएकाले कम्तीमा १५ जनाभन्दा बढीले एक ठाउँमा रक्तदान नगर्ने र सरकारले तोकेको २५ जनाभन्दा बढी जम्मा नहुने गरी भदौ ८ गतेबाट रक्तदान अभियान शुरु भयो । क्षेत्रिय रक्तसञ्चार केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी जिल्लाका विभिन्न १८ ठाउँमा मञ्चले घुम्ती रक्तदान कार्यक्रम राखेको अध्यक्ष सापकोटाले बताए । क्षेत्रिय रक्तसञ्चार केन्द्रका प्राविधिकहरूले अभियानमा निरन्तर साथ दिए ।

नारायणगढ, भरतपुर, शुक्रनगर, सौराहा, गीतानगर, केशरवाग, धर्मचोक, गैंडाकोट, जिल्ला प्रहरी कार्यालय चितवन लगायतका ठाउँमा गरेर मञ्चले ३०१ पोका रगत जम्मा गर्न सफल भयो । अभियानको पहिलो चरण उद्योग बाणिज्य संघ नारायणगढमा शुक्रवार रक्तदान कार्यक्रम गरेसँगै समापन गरिएको अध्यक्ष सापकोटाले बताए ।

११ दिनसम्म गरिएको रक्तदानमा २१ जना महिला र एक विदेशीसहित ३०१ जनाले रक्तदान गरे । एकै ठाउँमा सबैभन्दा बढी ४१ जना प्रहरीहरूले जिल्ला प्रहरी कार्यालयभित्र रक्तदान गरे । ‘प्रहरी कार्यालय नै एक प्रकारको क्वारेन्टिन भएकाले हामीले यहाँ अलि बढी रगत संकलन गर्‍यौं,’ मञ्चका अध्यक्ष सापकोटाले भने, ‘अन्यत्र भने एक ठाउँबाट १५ जनाभन्दा बढीको संकलन गरेनौं, रगत दिने खोज्ने साथीहरूलाई अर्को शिविरमा आउन भन्यौं ।’

रक्तसञ्चार केन्द्रलाई राहत

मञ्चले कोरोनासँग मिल्दोजुल्दो लक्षण नभएका र ट्राभल हिस्ट्री नभएका व्यक्तिहरूलाई मात्रै रक्तदान गर्न भनेको थियो ।

मञ्चले झण्डै ११ दिन रगत संकलन गरेपछि क्षेत्रिय रक्तसञ्चार केन्द्रलाई रगतको आपूर्तिमा केही सहज भएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले भने, ‘झण्डै एक साता ब्लड बैंक नै रित्तिएर खाली हुने अवस्था आयो, रातभर निन्द्रा लागेन, रगत लिने आउनेलाई रित्तो हात फर्काउनुपर्ने अवस्थामा पुग्यौं, रगत नपाएर बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आयो । ३०१ पोका रगत पाउँदा त धेरै राहत मिल्यो ।’ उनले आफ्नो जागिरे जीवनको २५ वर्षमा पहिलोपटक यस्तो अवस्था भोगेको बताए ।

युवा उद्यमी मञ्चले गरेको घुम्ती शिविरबाट संकलन भएको रगत आवश्यकताका आधारमा समन्यायिक ढंगबाट वितरण गरिने केन्द्र प्रमुख पौडेलले बताए । चितवनमा अहिले दैनिक ३५ देखि ५० यूनिटसम्म रगतको माग छ । अस्पतालमा अन्य अप्रेशन गर्नुपर्ने बिरामी कम हुँदा माग केही घटेको रक्तसञ्चार प्रमुख पौडेलले बताए । जिल्लामा साधारण अवस्थामा एक सयदेखि १ सय ५० यूनिटसम्म रगतको माग हुन्छ ।

मञ्चका निवर्तमान अध्यक्ष दाताराम घिमिरेले आफूहरुले गरेको रक्तदानपछि जिल्लामा हाहाकारको अवस्था भने नरहेको बताए । ‘हामीहरूले गरेको मोडललाई पछ्याउँदै अन्य संघसंस्था र साथीहरुले पनि रक्तदान गर्ने सोच बनाउनुभएको छ, हामीहरुसँग पनि समन्वय गरेर जान खोज्नु भएको छ,’ निवर्तमान अध्यक्ष घिमिरेले भने, ‘आवश्यक पर्दा हामी हरदम तयार छौं ।’

युवा उद्यमी मञ्च चितवनले चैत ११ गतेबाट शुरु भएको लकडाउन दोस्रो चरणमा थपेपछि हिँडेर घर जान भन्दै नारायणगढ आएका पैदल यात्रुलाई नारायणगढको पुल्चोकमा स्टल राखेर एक महिनासम्म खाना खुवाएको थियो ।

यो पनि पढ्नुहोस बसभित्रै रक्तदान ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment