Comments Add Comment
प्रधानमन्त्री र उद्योगीवीच छलफल :

अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा बालुवाटारमा !

प्रधानमन्त्रीले भने- उहाँ अर्थतन्त्रलाई सबल गराउने भूमिकामै रहनुहुन्छ

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पर्सिपल्ट बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई डाके । आइतबार साँझ प्रधानमन्त्रीले बोलाएको भेलामा राजीनामा दिइसकेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासमेत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले आइतबार साँझ डा. खतिवडालाई पनि साथैमा राखेर ठूला उद्योगी-व्यवसायीका तीन संगठनका प्रतिनिधिहरुका कुरा सुने । कुरामात्रै सुनेनन्, डा. खतिवडाको आगामी भूमिकाका सम्बन्धमा पनि प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई नयाँ सूचना दिए ।

केही उद्योगीले आवश्यक भएकै बेला विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाले पद छाड्नु परेको भन्दै गुनासो गरेपछि प्रधानमन्त्री ओलीले भने,’उहाँले अर्थतन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिनुभएको छ, यस्तो जटिल परिस्थितिमा पनि अर्थतन्त्रलाई नकारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रुपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’

प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति अनि बालुवाटारमा खतिवडाको उपस्थितिले अब उनी प्रधानमन्त्रीको सल्लाहकारका रुपमा रहेर भूमिका खेल्ने अनुमान आफूले गरेको एक उद्योगीले अनलाइनखबरलाई सुनाए ।

प्रधानमन्त्री ओलीले खतिवडा अर्थमन्त्रीका रुपमा नहरे पनि कुनै न कुनै रुपमा अर्थतन्त्रलाई सघाउने भूमिकामा रहने बताए । उनले खतिवडालाई प्रधानमन्त्रीकै निकट रहने गरी कुनै विशिष्ट पोर्टफोलियोमा नियुक्ति दिने स्पष्ट संकेत गरेको बैठकमा सहभागी एक उद्योगीले  अनलाइनखबरलाई बताए ।

आइतबार प्रधानमन्त्रीले डाकेको उद्योगीहरुसँगको छलफलमा भर्खरै अर्थ मन्त्रालय छाडेका डा. खतिवडासहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीसमेत उपस्थित थिए ।

५ः३० बजे बस्ने भनिएको छलफल आधाघण्टा  ढिलो शुरु भएको थियो । बैठकमा केही मन्त्रीहरुसमेत सहभागी थिए ।

छलफलमा उद्योगीहरुले आफ्ना गुनासा र मागहरु राखेपछि प्रधानमन्त्रीले व्यवसायीलाई सरकारले लगानीमैत्री नीति लिने र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक जटिलतालाई सरकार र निजी क्षेत्र मिलेरै समाधान गर्दै अघि बढ्ने वचन दिएको स्रोतले बतायो ।

सरकारलाई उद्योगीका दर्जनौं सुझाव

कोभिडले निजी क्षेत्रमा परेको असर र अब सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुसँग सुझाव लिएको बैठकमा सहभागी एक उद्योगीले बताए ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु छलफलमा सहभागी थिए ।

महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी व्यवसायी सहभागी बैठकको शुरुमा नै प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री खतिवडाको विषयमा बोलेका थिए ।

खतिवडा गए पनि अब आफैं निजी क्षेत्रका गुनासाहरु सुन्ने भन्दै प्रधानमन्त्रीले व्यवसायीहरुलाई ‘लु बोल्नुस्’ भनेका थिए ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले सधैं बन्दाबन्दी नगर्न सुझाव दिएका छन् । उनीहरुले बन्दाबन्दी नै समाधान नभएको भन्दै अब स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु खोल्नुपर्ने सुझाव दिएका हुन् ।

बोल्ले क्रममा सबै उद्योगी व्यवसायीहरुले गुनासै गुनासा सुनाए । बैठकमा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले लामो समय लकडाउन हुँदा उद्योग-व्यवसाय निकै अप्ठेरो अवस्थामा परेको भन्दै उनले निजी क्षेत्रका लागि राज्यको अहिले सहयोग चाहिएको बताए ।

चैतदेखि लगातार ४ महिना र त्यसपछि केही समय खुलेको र पुनः पहिलेको भन्दा कडा बन्दाबन्दी हुँदा व्यवसायिक प्रतिष्ठानहरुलाई श्रमिक तथा मजदूरको तलक भुक्तानी गर्न पनि समस्या परिरहेको श्रेष्ठले बताए । यस्तो अवस्थामा कर तिर्न पनि गाह्रो परेको भन्दै उनले २ महिना कर तिर्ने म्याद थप गर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसँग मागसमेत गरे ।

कोरोना नियन्त्रणका लागि बन्दाबन्दी नै उपाय नभएको भन्दै अब विभिन्न चरण गरेर खोल्नुपर्ने श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् । पसलहरु पनि निश्चित समय तोकेर कुन किसिमको पसल कुन समयमा खोल्ने भन्ने नीति बनाउनुपर्ने उनले बताए । केही समय जोरविजोर लागू गरेर भए पनि बन्दाबन्दी भने खुलाउनै पर्ने श्रेष्ठको सुझाव थियो । उनले काठमाडौं उपत्यकालाई जोगाउन नाकामा कडाइ गर्नुपर्ने बताए ।

त्यसैगरी नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले उद्योगहरुलाई सहज वातावरणमा चल्न सक्ने अवस्था सरकारले बनाउनुपर्ने बताए । कोभिडका कारण निकै अप्ठेरो अवस्था गुजारिरहेका उद्योगहरुलाई सरकारले केही सहुलियतका योजनाहरु ल्याउनुपर्ने उनको सुझाव थियो । उनले पनि उद्योगधन्दाहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रलाई नकरात्मक असर पर्ने भन्दै यसका विषयमा प्रधानमन्त्रीले सोच्नुपर्ने बताएको बैठकमा सहभागी एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।

परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्माले पनि बोलेका थिए । उनले पनि अहिले निकै अप्ठेरो अवस्था सिर्जना भएको भन्दै कसरी हुन्छ, उद्योग व्यवसाय बचाउनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघकातर्फबाट अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छाले पनि भनाइ राखेका थिए । अध्यक्ष राणाले बन्दाबन्दी नै समाधान नभएको भन्दै उद्योग व्यवसायमा देखिएका समस्याहरु चाडै समाधान हुनुपर्ने बताइन् । वरिष्ठ उपाध्यक्ष गोल्छाले खासगरी साना तथा मझौला उद्योगहरुले अहिले धेरै समस्या खेपिरहेको प्रधानमन्त्रीलाई सुनाए ।

बैठकमा अहिले जारी निषेधाज्ञाका विषयमा भने छलफल भएन । काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । त्यसपछि खुलाउनुपर्ने विषयमा भने कुनै कुरा नभएको स्रोतले बतायो । ‘स्वास्थ्य सतर्कता अपनाएर कामहरु गर्नुपर्छ भन्ने कुरा त उठ्यो, तर २४ गतेकै विषयमा भने केही कुरा भएन’ बैठकमा सहभागी एक उद्योगीले भने ।

कोभिड अन्त्यका लागि एकजुट बनौँ : प्रधानमन्त्री

छलफलमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निजी क्षेत्र र सरकार एक भएर अघि बढ्नुपर्ने बताए । उनले सबैको सहयोग बिना चाँडै कोरोना अन्त्य गर्न नसकिने भन्दै यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा फस्न नदिने बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएउँदै कोभिड र उद्योगमा देखिएका समस्याहरु सँगै समाधान गर्दै अघि बढ्नुपर्ने भनाइ राखेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै होइन, निजी क्षेत्रको विकासमा पनि सरकार गम्भीर रहेको बताएका थिए । अहिले सरकारको मुख्य ध्यान नागरिकको जीवन बचाउन केन्दि्रत भएको उनको भनाइ थियो ।

छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘निजी क्षेत्रका समस्या प्रधानमन्त्रीज्यूले सुन्नुभयो, वहाँले उद्योग व्यवसायमा समस्या पर्न नदिने बताउनुभएको छ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment